अधिवक्ता दुर्गा सुब्बा
किरात भनेको के हो? र, किरात भन्नाले केलाई बुझाउँछ? किरातको पृष्ठभूमि के हो? यी सब कुराहरुमाथि प्रकाश पार्नका लागि सर्वप्रथम निम्न कुराहरुमा स्पष्ट हुन जरुरी छ। .
इतिहासकार इमानसिं चेम्जोङले किरात शब्दको उत्पत्ति भूमध्य सागरीय क्षेत्रको कोावाइट भाषाको किरियत भन्ने शब्दबाट भएको भन्ने उल्लेख गरेका छन्। यसको अर्थ किल्ला, शहर भन्ने हुन्छ भनेका छन्। जब उनीहरुको संख्या बढ्दै गयो। उनीहरुले धेरै किल्लाहरु र शहरहरु बनाए। र, त्यसलाई किरियात हिम भनियो। त्यही वंशलाई कालान्तरमा किराती भन्न थालियो। र, किराती वंश भयो।
चेम्जोङले ‘किरात साहित्यको इतिहास’ नामक पुस्तकमा सर जोन ह्यामल्टनले ‘एन्सियन्ट हिस्ट्री’ शीर्षक लेखमा प्राचीन बेबिलोन र मेसोपोटोमियाको सभ्यतासँग किरातहरुको सम्बन्ध थियो भन्ने कुरा पुष्टि गरेका छन्। यसबाट के अनुमान गर्न सकिन्छ भने मान्छेहरुले जंगलबाट निस्केर भूमध्यसागर क्षेत्रमा प्रथम बस्ती बसाले। त्यहाँ उनीहरुले प्राप्त गरेका अनुभवलाई सँगालेर प्रथम मानव सभ्यताको विकास गरेका थिए। त्यहीबाट नयाँ जमिनको खोजीमा निस्केका एक समूह यात्राको अनेकौं अनुभवहरु सँगालेर हिमालयको काखमा आइ बस्ती बसाले। जहाँ उनीहरुले आफ्नो अनुभवको आधारमा ‘किरात दर्शन’ विकाश गरे।
ब्रराइन हड्सन लगायत सुप्रसिद्ध बौद्धिक व्यक्तित्व एस.के. चटर्जीले समेत उनको ‘किरात जनकृति’ नामक कृतिमा उल्लेख गरेका छन्, ‘कि बुद्ध, जो एउटा मानव जाति कै महान् नेता एवं सुप्रसिद्ध गुरु थिए, उनी पनि शुद्ध वा मिश्रित किरात उत्पत्ति कै हुन्।’ धेरै बौद्ध लेखकहरुले भनेका छन् कि किरात शब्दावलीमा बाह्रांै पुस्तापछि एउटा किरात समुदायको शाखा इन्डोगंगा मैदान क्षेत्रबाट हिमाल पर्वत क्षेत्रतर्फ र अर्को शाखा लंका चा सिलोनको दक्षिणतर्फ लागेको उल्लेख गर्छन्। यसैले केही मनावशास्त्रीहरुले नेपालको पूर्वी क्षेत्रमा याक्खा जाति सिलोनमा ‘याखा’ नाम गरेको एउटा आदिवासी पाइएको उल्लेख गरेका छन्।
नेपालमा भएको किरात समुदायलाई तीन किसिमबाट विभाजित गर्न सकिन्छ। किरात मुन्धुमअनुसार यी तीन शाखाले जातिहरुमा खाम्बिवान्सा या खम्बुस, अर्काे तै सान्थास अथवा मंगोलहरु र अर्को मुनाफेन या चैनिं खम्बुसहरु हिमालयका अग्रज इमिग्रेसन हुन् भने थानवास या मंगोलहरु र मुनाफें या चाइनिज जातिहरु पछिबाट आएका हुन्। र, खाबुससँग मिसिएका हुन्। र, एउटा ठूलो मानव समुदाय बनेको हो। यही हिमालय प्रदेशबाट भारत, बर्मा, श्याम, भियतनाम, मलाया तथा फिलिपिन्स टापुहरुमा छरिएर आ–आफ्नो ठाउँमा इतिहास कायम गरेका हुन्। भारत उत्तरतर्फ हिमाचल प्रदेशदेखि आसामसम्म र दक्षिण–पूर्वतर्फ मणिपुरदेखि चिन्तोंगसम्म आफ्नो प्रदेश कायम गरेका थिए। सर जोन हेमल्टनले इर्ली फेसेस अफ मेन काइन्ड पुस्तकमा सम्भवत ईशापूर्व ४०० मा भूमध्य सागर क्षेत्रको तल्लो भागमा मंगोलियन वा सुमेरियन सभ्य मानव जाति कहलिन्थे भन्नेबाट सो प्राचीन युगमा पनि किरातीहरु सभ्य कहलिन्थे रहेछ भन्ने पुष्टि हुन आउँछ। सो समयमा उनीहरु किरातीहरुको आफ्नो किल्ला वा शहर हुन्थ्यो। उनीहरु आफ्नो सीमाना बचाउन स्तम्भ गाड्थे। उनीहरु हारेको किल्ला वा शहरमा बस्न मन्जुर गर्दैनथे। हारेमा सो ठाउँ छाडी अन्यत्र जान्थ्यो। करिव ईशापूर्व ३००० मा किराती समुदायको ठूलो जत्थाले आफ्नो ठाउँ छाडेर पूर्वतर्फ आई चीनमा साम्राज्य स्थापना गरेको उल्लेख पाइन्छ।
काबुल वा गोल्कुको किरात फोल्क लभमा काबुलको हाजार ट्राइब र नेपालको किरात ट्राइबका शुरुमा पर्सियाबाट आउँदा ययुतई समूह थिए भनिन्छ। त्यो समूहलाई भारतको भूमिले लोभ्यायो। हाजार ट्राइबका दाजु लेलिहंग भारतको सो समतल भूमिमा गए। घुमे तर फर्के। फर्कंदा काबुल जानुको सट्टटा नेपालतर्फ बढे। नेपालमा गोर्खा भनेर चिनिए। हजाराहरु भन्छन् कि पहिले उनीहरु एक परिवार थिए। उनीहरु न त मोहम्छां न त हिन्दू थिए। तर, जब दाजुभाइ छुट्टिए तब उनीहरु कमजोर भए। पठानले उनीहरुको देशमाथि आक्रमण गरी हरायो र उनीहरुलाई मोहम्मद्निज्मा परिणत गरायो। किरात गोर्खा नेपालमा हिन्दू भए। अझै पनि हाहाराले गोर्खासँग भेट भयो भने उसले चाचा भन्छ। जसको अर्थ काका हुन्छ। जब आर्यनहरु इन्डिया आई हिमालय प्रदेशतर्फ अगाडि बढ्न थाले। सो समय इन्दुस रिभरमा अधिपत्य कायम गरी बसेको साम्बा आसुरसँग लडाई भयो। उक्त लडाईमा साम्बा आसुरको हार भयो। र, उनीहरु उक्त ठाउँ छाडी पूर्वतर्फ आई एउटा बलियो किन्नर ल्याण्ड स्थापना गरे। जसलाई भारतमा हिमान्चल प्रदेश भनिन्छ। यही ठाउँमा मंगोलियन जातिका हुल आई किरात जातिको समुदायसँग मिसियो। यसरी एउटा ठूलो किरात समुदाय बन्यो। यसपछि उनीहरु क्रमश: पूर्वतर्फ छरिएर नेपालमा बसोबास गर्न पुगे।
हिन्दू धर्मको प्राचीन ग्रन्थमा पनि किरात शब्दको प्रसस्त प्रयोग भएको पाइन्छ। यसबाट के स्पष्ट हुन आउँछ भने भारतीय उपमहादीपमा आर्यहरुको प्रवेश हुन पूर्व यहाँ किरातीहरुले आवाद गरेका थिए। नेपालको इतिहासमा पनि काठमाडांै उपत्यकालाई केन्द्र बनाएर किरातीहरुले ३२ पुस्तासम्म शासन गरेको इतिहास पाइन्छ। अहिले नेपालमा बसोबास गर्ने आर्य मुलकाबाहेक सम्पूर्ण जातिहरु किरात हुन् भनी विद्वानहरुले औंल्याएका छन्। डा. हर्क गुरुङले नेपालको सन्दर्भमा ‘जनजाति’ र ‘जाति’ शब्दको परिभाषा गरेको आधारमा पनि ‘जनजातिहरु’ किराती हुन् भन्ने बोध हुन आउँछ। जनजाति भनेको आफ्नो विशेष थाली भाषा, धार्मिक संस्कार तथा संस्कृति भएका हुन्। र, जाति भनेको ठूलो सानो वर्णाश्रममा विभाजित भारोपेली भाषा हिन्दू धर्म तथा संस्कृति भएका समूह हुन्।
माथि उल्लेख गरिएबमोजिम नेपालको सन्दर्भमा आर्यमुलका बाहेक सम्पूर्ण जनजातिहरु किराती हुन् भन्ने स्पष्ट हुन आउँछ। तर, नेपालको पूर्वी भूभाग माझ किरात र पल्लो किरात तथा अधिकरुपमा त्यस क्षेत्रमा बसोबास गर्ने लिम्बु, राई, याक्खा र सुनुवार समुदायले किरातको रुपमा स्वीकार गर्दछन्। तराईका धिमाल समुदायले पनि आफूलाई किरात समुदायको रुपमा स्थापित गर्न खोजिरहेको छ। छिटपुटरुपमा याम्फु, लोहोरुङ, मेवाहाङ, आठपहरिया समुदायले पनि क्रमश: आ–आफ्नो महत्त्व र पुर्खाहरुको सम्झना गर्दै आफू किराती भएको उल्लेख गर्न थालेको पाइन्छ। डा. डिल्लीराम दाहालले किरातीहरु आफू किराती भएर पनि आफूलाई कमैले मात्र किराती भन्न पुग्छन् भन लेखेका छन्। उनका अनुसार थामी र हायु समुदायमा समेत किराती हुन्। तर, थामीमा (१४.६ प्रतिशत ) र हायुमा (२९.१० प्रतिशत )ले मात्र आफूलाई किराती उल्लेख गरेको पाइन्छ। जे होस् किरातीहरुको पूर्वज र १२ पुस्तासँग नेपालमा पनि किरातीहरुले शासन सत्ता सञ्चालन गरेको इतिहासबाट पनि नेपालमा किराती समूह ठूलो र व्यपाक छ र धेरैलाई समेट्छ भन्ने कुरो स्पष्ट छ।
किरात धर्म आफंैमा एउटा सिंगो मानव सभ्यताको इतिहासको एउटा जीवित र्दशन हो। यो धर्म कुनै जात, जाति, समुदाय विशेषमा मात्र आधारित छैन। यो व्यापक छ। यो आफैंमा एउटा जीवन पद्धति हो। किरात धर्म अवलम्बन गर्न किराती समुदायको हुनुपर्छ भन्ने जरुरी छैन। धर्म भनेको धारणा हो। बेबिलोन मेसोपोटामिया सभ्यताकालीन अवस्थामा किरातीहरुले अवलम्बन गरी आएको धर्मको कुनै नाम थिएन। उनीहरु शुरुमा आत्मान्तर अस्तित्ववाद वा आत्मवादमा विश्वास राख्थे। र कालान्तरमा उनीहरुको सभ्यता, भोगाइ, सोचाइ वा जीवन पद्धतिहरु विकास गर्दै र अनुशरण गर्दै आउने क्रममा किरात धर्मको विकास हुन गएको हो। त्यस अर्थमा किरातीहरु किरात धर्मावलम्बी हुन पुगेका छन्। यो दर्शन, सभ्यता वा सोचाइलाई अनुशरण गर्दै आउने समुदाय वा जातिहरु प्राचीन जाति हुन् भन्ने कुरो इतिहासकारहरुले स्वीकार गरेका छन्। यसबाट किरात धर्म प्राचीन धर्म हो र किरातीहरु पनि प्राचीन जाति हुन् भन्ने कुरा स्पष्ट हुन आउँछ।
किरात धर्म इसाई, इस्लाम वा बौद्ध धर्मजस्तो कुनै एक व्यक्तिबाट घोषित धर्म नभएर पुर्खाहरुको हजारौं वर्षको भोगाइले जीवन र जगतप्रतिको बुझाइ वा हेरेको निचोड हो। किरात धर्मको पवित्र ग्रन्थ मुन्धुम हो। मुन्धुम त्यही हजारौं वर्षको पुर्खाहरुको भोगाइ वा जीवन र जगतप्रतिको बुझाइले सिर्जना गरेको नियमहरुको संग्रह हो। यसरी हेर्दा किरात मुन्धुम एउटा सिंगो किरात सभ्यताको इतिहास हो।
किरात मुन्धुममा सिंगो सृष्टिको वर्णन छ। मुन्धुममा पृथ्वीको उत्पत्ति र त्यसपछि क्रमश: वनस्पति, जीवजन्तु तथा मानिसको सृष्टिको कथा वर्णित छन्। मुन्धुमका यी कथाहरु पुर्खाको जीवन भोगाइमा आधारित छन्। त्यस्ता कथा, किंवदनतीहरु काल्पनिक संसारमा आधारित नभई यही धर्तीका खोलानाला, डाँडापाखा, गुफा, पोखरी तथा किरातीहरुले मान्दै आएको ऐतिहासिक स्थलहरुमा आधारित छन्। किरात भाषाकै ‘मुन’ र ‘दुम’को संयोजनबाट बनेको मुन्धुमको अर्थ गतिशील प्रकिया भन्ने हुन्छ। यसको अर्थ मुन्धुम कुनै एतिहासिक कहानी मात्र नभएर जीवन दर्शन हो। एक गतिशील प्रक्रिया हो। यसले मानिसलाई समय र परिस्थितिअनुसार चल्न प्रेरित गर्दछ न कि परम्परागतरुपमै रहिरहन बाध्य तुल्याउँछ। प्राचीन समयदेखि नै किरात समाजमा मुन्धुम दुई विधामा मौलाएर आएको पाइन्छ। चिन्तन, मनन र कुनै पनि कर्मको अनुभवद्वारा प्राप्त गरेको परोपकारी ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु, बुझाउनुलाई थुक्साप मुन्धुम भनिन्छ। प्रकृतिको सिर्जनात्मक संसारलाई परोपकार पेसाप मुन्धुम भनिन्छ। मुन्धुम आफैमा एउटा साहित्य कोष पनि हो। किरात मुन्धुम सिंगो किरात सभ्यताको इतिहास हो। किरात मुन्धुमको सृष्टि वर्णन विज्ञान सम्मत छ।
साभार : विश्व किरात आवाज, मंसिर २०६९
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology