• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यलम्बरहाङको प्रतिमा उदघाटन विवादमा

यलम्बरहाङको प्रतिमा उदघाटन विवादमा


समायोजन खबर
  • आइतबार, बैशाख १३ २०८३

  • बुइपास्थित पञ्चदोबाटोमा निर्माण सम्पन्न भएको यलम्बर हाङको एक सय दश फिट अग्लो पूर्णकदको प्रतिमा। तस्वीर पवन राई।

    समायोजन खबर खोटाङ, बुईपास्थित पञ्चदोबाटोमा निर्माण सम्पन्न प्रथम किराती राजा यलम्बरहाङको प्रतिमा उद्घाटन कार्यक्रम विवादमा परेको छ।

    कोशी प्रदेशको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सम्पन्न एक सय दश फिट अग्लो पूर्णकदको प्रतिमा उदघाटन कार्यक्रम विवादमा परेको हो।

    प्रतिमाको उद्घाटन बैशाख १८ गते साकेला उभौलीका दिन प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको हातबाट गराउने भन्दै वडा कार्यालय बुईपाले बैशाख ९ गते शुभम फाउण्डेसन सोल्मामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो।

    यता,बैशाख १२ गते बसेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यपालिका बैठकले भने बैशाख १७ गते बिहान ८ बजेर ३० मिनेटमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्य र किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको हातबाट उद्घाटन गर्ने निर्णय गरेको मेयर तीर्थराज भट्टराईले शनिबार साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ।

    कार्यपालिका बैठकमा बुईपाका वडाध्यक्ष दिनेश राईले भने बैशाख १८ गते साम्पाङकै हातबाट प्रतिमा उद्घाटन गराउने अडान राख्नुभएको मेयर भट्टराईले बताउनुभयो। बुईपाका वडाध्यक्ष राई र खार्मीका वडाध्यक्ष इखबहादुर राईले आफ्नो कुरा राखेर बैठकमा असहमति जनाएका थिए। पाथेकाका वडाध्यक्ष मुगाधन राई कुनै प्रतिक्रिया नदिइ दुई वडाध्यक्षसँगै कार्यपालिका बैठकबाट बाहिरिनुभएको थियो।

    उद्घाटनका विषयमा बुईपाका वडाध्यक्ष राईसँग वार्ता गरेर बैशाख १७ गते नै प्रतिमा उद्घाटन गर्नेगरी साझा सहमतिमा जाने वातावरण बनाईने मेयर भट्टराईले बताउनुभयो। सगरमाथा राजमार्गको गाईघाट-महुरे सडकखण्डमा पर्ने पञ्चदोबाटोमा निर्माण भएको सालिकसहितको पार्कको २०७८ कात्र्तिक ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर विणादेवी राईले किराँती परम्परा अनुसार धामी(नछुङ)बाट विधी गरेर शिलान्यास गर्नुभएको थियो।

    हालसम्म प्रतिमासहितको पार्क उमा तुवाचुङ अनसुवी जेभीले ११ करोड ५८ लाखमा निर्माण सम्पन्न गरेको हो। प्रतिमा र पार्क कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट गतवर्षको जेठ १८ गते उदघाटन गर्ने भनिएकोमा त्यसबेला पनि विवाद भएपछि स्थगित भएको थियो।

    बुईपा वडाले बैशाख १८ गते गर्ने भनिएको उद्घाटन कार्यक्रममा साम्पाङसहित प्रतिनिधिसभा सदस्य आरेन राई, गायक राजेशपायल राई, नायक दयाहाङ राई लगायतको उपस्थिति रहने वडाध्यक्ष राईले जानकारी दिएका छन्।
    यो पनि पढ्नुहोस,प्रथम किराती राजा यलम्बरको सय फिट अग्लो सालिक बुईपामा राखिने
    यो पनि,यलम्बर हाङको प्रतिमा उद्घाटन कार्यक्रम स्थगित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology