तीर्थराज भट्टराई खोटाङ,“ राजनीतिमा रास्वपा नेपाली कांग्रेसको प्रतिस्पर्धी पार्टी हो तर शत्रु होइन। लोकतन्त्रमा विचारसँग प्रतिस्पर्धा गरिन्छ तर व्यक्ति वा पार्टीसँग होइन ।”
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्त गरेको यो विचार केवल औपचारिक शुभकामना थिएन। यो नेपाली राजनीतिमा हराउँदै गएको संवाद, सहिष्णुता र लोकतान्त्रिक संस्कारको स्मरण थियो।……. र नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रको एउटा उदाहरण पनि थियो।
केही वर्षयता नेपालमा वैचारिक असहमतिलाई व्यक्तिगत कटु आलोचना र प्रतिशोधको भाषामा व्यक्त गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तो अवस्थामा गगन थापाको सन्देशले फरक राजनीतिक संस्कार र संस्कृतिको प्रवाह छोडेको छ।
महाधिवेशनस्थलमा उपस्थित रास्वपाका नेता-कार्यकर्तामात्र होइन, राजनीतिक विश्लेषक र आम नागरिकले पनि गगन थापाको अनपेक्षित उपस्थिति र दमदार अभिव्यक्तिको प्रशंसा गरेका छन्। स्पष्ट दृष्टिकोण र मर्मस्पर्शी प्रस्तुतिका क्रममा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साहले मुस्कुराउँदै सुनिरहेको दृश्य पनि आकर्षक थियो। अन्य ठूला दलले औपचारिकता पूरा गर्न प्रतिनिधी मात्र पठाए तर नेपाली कॅाग्रेसका सभापति गगन थापाको स्वयं उपस्थितिले कार्यक्रमको उचाई र महत्व अझ बढाएको देखियो।
संयोग पनि कस्तो! उद्घाटन सत्रमा लोकतान्त्रिक संस्कारको चर्चा भइरहँदा बन्दसत्र भने अव्यवस्थित र भद्रगोल देखियो। स्थापनाको चार वर्षपछि पहिलो महाधिवेशन सम्पन्न हुनु आफैंमा संस्थागत उपलब्धि भए पनि महाधिवेशनमा गम्भीर कमजोरी भएको तथ्य सहभागीबाट सार्वजनिक भयो। पहिलो राष्ट्रिय महाधिवेशनले रास्वपालाई निर्वाचित नेतृत्वसँगै नयाँ प्रश्नहरूको भारी पनि बोकाएको महसुस हुन्छ।
महाधिवेशनका उपलब्धि र अनुत्तरित प्रश्न
चार वर्षअघि स्थापित रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा ऐतिहासिक सफलता पाएको छ। पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु आफैंमा चुनौति र महत्वपूर्ण उपलब्धि हो। निर्विरोध रूपमा सभापतिमा रवि लामिछाने चयन हुनु र नयाँ नेतृत्वको लोकतान्त्रिक विधीबाट निर्वाचित हुनु पार्टीका सकारात्मक पक्ष हो। नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाई।
तर चितवनमा सम्पन्न महाधिवेशनले उत्साहसँगै केही गम्भीर प्रश्न पनि जन्माएको छ। तीन दिनमा सम्पन्न गर्ने भनिएको कार्यतालिका छ दिनसम्म लम्बिनु, समय व्यवस्थापन हुन नसक्नु , बन्दसत्रमा नीतिगत बहस नहुन र पदाधिकारी चयनमा करिब एक चौथाइ प्रतिनिधिले मात्र मतदान गरिनु जस्ता विषय सामान्य कमजोरीका रूपमा लिन मिल्दैन। नयाँ राजनीतिक संस्कृति र संस्कारको दाबी गर्ने दलले पहिलो महाधिवेशनमै संगठनात्मक परिपक्वता देखाउन सक्नु हामी सबैलाई दुःखदायी क्षण हो। राजनीतिक दलको शक्ति भाषणमा होइन संगठन सञ्चालनको क्षमतामा देखिन्छ। कुनै पनि संस्था वा दलको वास्तविक परीक्षा त्यहीँबाट सुरु हुन्छ।
गगनको गर्जन र मौन नेतृत्व
यस महाधिवेशनको सबैभन्दा चर्चित पक्ष उद्घाटन समारोह नै बन्यो। गगन थापाको उपस्थिति र त्यहाँ व्यक्त गरिएका धारणा महाधिवेशनभन्दा बाहिर पनि व्यापक बहसको विषय बन्यो। उनले राजनीतिक प्रतिस्पर्धालाई शत्रुतापूर्ण होइन विचारको स्वस्थ प्रतिस्पर्धाका रूपमा प्रस्तुत गरे। फरक विचारप्रति सम्मान,लोकतान्त्रिक सहिष्णुता र संवादको आवश्यकतालाई उनले शालीनता पूर्वक प्रस्तुत गरे। आजको विभाजित राजनीतिक वातावरणमा लोकतान्त्रिक मूल्य र मान्यतालाई सर्वोत्कृष्ट व्यवस्थाका रूपमा परिभाषित गर्ने उनको विचार नेपाली कॅाग्रेसको स्थापनाकालदेखिको मूल्य र मान्यताको दृष्टिकोणलाई स्पष्टसॅग प्रस्तुत गरे।
उद्घाटन समारोहमा देखिएको अर्को अर्थपूर्ण पक्ष रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन साहको बीचको एकता थियो। कम बोल्ने र कामलाई प्राथमिकता दिने शैली आजको नेपाली राजनीतिमा आवश्यक संस्कार बनाउन जरूरी छ। भाषणभन्दा परिणाममुखी कार्यशैलीप्रति नागरिकको अपेक्षा बढ्दो छ।
निर्वाचन परिणामको सन्देश
महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्रको शक्ति-सन्तुलनबारे रोचक र अनपेक्षित संकेत देखाएको छ। डा.स्वर्णिम वाग्लेले सबैभन्दा बढी मत प्राप्त गर्नु बौद्धिक नेतृत्वप्रतिको विश्वासको संकेत मान्न सकिन्छ। अर्कोतर्फ महामन्त्रीमा मनिष झाको पराजय र दिवस आचार्यको विजय तथा उपसभापतिमा डा.तोसिमा कार्कीको हार र शोभिता गौतमको जितले पार्टीभित्र नयाँ समीकरण निर्माण भएको देखाएको छ। नेतृत्वको संकेतपछि परिणाम प्रभावित भएको आरोप पनि लागेको छ। यसको आधिकारिकता र सत्यता संवद्ध पक्षनै जवाफदेही हुन्छ।
लोकतन्त्रमा हार र जित स्वाभाविक प्रक्रिया हुन्। प्रतिस्पर्धामा गएपछि कि हारिन्छ कि जितिन्छ। मतदाताको निर्णय नै अन्तिम हुन्छ र त्यसलाई सम्मान गर्नु लोकतान्त्रिक संस्कार हो। तर निर्वाचन प्रक्रियाकै क्रममा जालझेल, गुटबन्दी, संस्थापन पक्षको प्रभाव र आन्तरिक शक्ति संघर्षका गुनासा सार्वजनिक हुनु चिन्ताको विषय हो। नाराबाजी र धर्नाका दृश्यले पनि अपेक्षित राजनीतिक संस्कारमाथि प्रश्न उठाएको छ। यदि नयाँ दलभित्र पनि पुरानै राजनीतिक रोग दोहोरिन थाल्यो भने नागरिकले अपेक्षा गरेको नयाँपन कहाँ खोज्ने ? रास्वपा जस्ता उदयमान शक्तिले नदिए कस्ले दिने ?
लोकतन्त्रमा जितभन्दा ठूलो कुरा सहज ढंगले हार स्वीकार्नु राजनीतिक संस्कार हो। पराजयलाई सम्मानपूर्वक स्वीकार गर्न सक्ने नेतृत्वले नै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँछ। यो लोकतन्त्रको मूल मन्त्र हो।
नेतृत्वको परीक्षा र अनपेक्षित दृष्य
महाधिवेशनका क्रममा व्यवस्थापक विरुद्ध प्रतिनिधिहरूले नाराबाजी गर्नु, धर्ना दिनु र असन्तुष्टि खुला रूपमा व्यक्त गर्नुले अझ परिणाममुखी सुधारको आवश्यकता रहेको संकेत गरेको छ। नयाँ पार्टी हुनु मात्रै पर्याप्त हुँदैन। नयाँ सोच, शैली र राजनीतिक संस्कार व्यवहारमै देखिनुपर्छ। नागरिकले रास्वपाबाट यही अपेक्षा गरेका छन्।
रास्वपाले छोटो समयमै उल्लेखनीय जनसमर्थन प्राप्त गरेको छ। त्यसैले यसको जिम्मेवारी पनि ठूलो छ। महाधिवेशनमा देखिएका कमजोरीलाई आत्मसमीक्षाको अवसरका रूपमा लिएर संगठनलाई अझ लोकतान्त्रिक, पारदर्शी र व्यवस्थित बनाउन सके मात्रै यो महाधिवेशन भविष्यको सफल यात्राको आधार बन्न सक्छ। तर आलोचना सुन्न नसक्ने र कमजोरी ढाकछोप गर्ने प्रवृत्ति हावी भयो भने “पुरानो बोतलमा नयाँ रक्सी”भन्ने भाष्य बलियो बन्नेछ।
निष्कर्ष
गगन थापाले चितवनमा दिएको सन्देश र रास्वपाको पहिलो महाधिवेशनले देखाएको अभ्यास दुवैले लोकतान्त्रिक संस्कारको महत्वलाई उजागर गरेका छन्। गगनले लोकतन्त्रको आदर्श, त्याग र निष्ठाको स्मरण गराए भने रास्वपाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्दै त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेको देखियो।
राजनीतिको सफलता चुनाव जित्नु मात्र होइन आफ्नै पार्टीभित्र लोकतान्त्रिक संस्कार स्थापित गर्न सक्नु पनि हो। पहिलो महाधिवेशनले आशाका केही किरणहरू छरे पनि स्थापनाकालदेखि संगठन निर्माणमा महत्वपूर्ण योगदान दिएका गणेश पराजुलीलगायत केही नेताहरू भूमिकाविहीन बनेको चर्चा पनि सँगसँगै उठेको छ। यस्ता प्रश्नहरूको उत्तर सभापति लामिछानेले सबैलाई समेट्ने कार्यशैली र क्षमता प्रस्तुत गरेर जवाफ दिनु हुनेछ।
विविध कमजोरीका बाबजुद पहिलो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु रास्वपाको आफैंमा महत्वपूर्ण उपलब्धि हो। नवनिर्वाचित सभापति रवि लामिछाने, सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु। नागरिकले दिएको विश्वासलाई संगठनभित्र लोकतान्त्रिक संस्कार, पारदर्शिता र प्रभावकारी कार्यसम्पादनमार्फत अझ सुदृढ बनाउन सक्ने क्षनताव मिलोस् यहि शुभेच्छा छ मेरो। स्तम्भकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology