• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तामाङ संस्कार-संस्कृतिको संरक्षण राज्यले गर्नुपर्छ : अध्यक्ष राई

तामाङ संस्कार-संस्कृतिको संरक्षण राज्यले गर्नुपर्छ : अध्यक्ष राई


समायोजन खबर
  • मंगलबार, माघ ७ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–३ खिदिमा ढाँडेमा अवस्थित नियाङ्ला गुम्बामा तामाङ समुदायको महान पर्व सोनाम ल्होछार तथा मञ्जुश्री सम्बत २८६२ को पावन अवसरमा शुभकामना आदान–प्रदानसहित विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रम मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।

    साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङका निवर्तमान महासचिव काजीमान थिङ विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा साकेला गाउँपालिकाबासी नागरिक, समाजसेवी, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले सोनाम ल्होछार केवल पर्व मात्र नभई तामाङ समुदायको पहिचान, इतिहास र जीवनदर्शनसँग गाँसिएको मौलिक संस्कार भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “तामाङ समुदायको भाषा, संस्कृति, भेषभूषा र पर्वहरू नेपालको साझा सम्पदा हुन्। यस्ता संस्कारहरूको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको संवैधानिक दायित्व हो।”अध्यक्ष राईले साकेला गाउँपालिकाले विभिन्न जातजाति, भाषा र संस्कृतिको सम्मान गर्दै समावेशी सांस्कृतिक नीति अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभयो। उहाँले हालको शैक्षिक प्रणाली समयसापेक्ष सुधार आवश्यक रहेको बताउँनुहुँदै गुणस्तरीय, व्यवहारिक र समान पहुँचमा आधारित शिक्षाले मात्र समावेशी समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

    उहाँले शिक्षा कुनै वर्ग, जातजाति, धर्म, संस्कृति वा भूगोलको आधारमा विभेदको साधन बन्नु नहुने स्पष्ट पार्दै साकेला गाउँपालिकाले सबै नागरिकलाई समान दृष्टिकोणबाट हेरी राज्यका सेवा–सुविधाको प्रत्याभूति दिलाउँदै आएको उल्लेख गर्नुभयो। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासका कार्यक्रमहरूमा समावेशिता, समानता र न्यायलाई केन्द्रमा राखी लोकतान्त्रिक विधि अवलम्बन गरेको धारणा राख्नुभयो।
    कार्यक्रमका विशेष अतिथि काजीमान थिङले तामाङ समुदायको इतिहास, सोनाम ल्होछारको महत्व र मञ्जुश्री सम्बतको सांस्कृतिक अर्थमाथि प्रकाश पार्दै “ल्होछार हाम्रो जीवन चक्र, प्रकृति र समयसँगको सम्बन्धको प्रतीक भएको बताउनुभयो। उहाँले भन्नुभयो पछिल्लो समय आधुनिकताका नाममा हाम्रो मौलिक संस्कृति ओझेलमा पर्दै गएको छ, जसप्रति राज्य गम्भीर हुन आवश्यक छ।”
    उहाँले संघीय लोकतान्त्रिक व्यवस्थापछि पनि आदिवासी जनजातिको संस्कृति, भाषा र परम्पराको संरक्षण अपेक्षाअनुसार हुन नसकेको गुनासो गर्दै नीति, बजेट र कार्यक्रममै सांस्कृतिक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रमलाई थप आकर्षक बनाउँदै सेलो तथा लोकदोहोरी गायिका गीता तामाङले प्रस्तुत गरेका सांगीतिक प्रस्तुतीहरूले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। तामाङ सेलो, लोकगीत र सांस्कृतिक नृत्यले गुम्बा परिसरलाई उत्सवमय बनाएको थियो। स्थानीय कलाकारहरूको प्रस्तुतीले समेत कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

    यसैबीच, सोही कार्यक्रममा प्रतियोगितात्मक सेलो नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो। १३ समूह सहभागि भएको नृत्य प्रतियोगितामा पावर मूभ डान्स सेन्टर दिक्तेलले प्रथम स्थान ओगट्न सफल भई २० हजार पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै मैच्याङ च्याङ्वा होमस्टे छितापोखरी दोश्रो भएर १५ हजार रुपैंया पुरस्कार प्राप्त गरेको आयोजक समितिका दूधराज तामाङ निर्मलले जानकारी दिनुभयो। त्यस्तै सान्तवना बनेको पाँचधारे कला केन्द्र, आयोजक ढाँडे र उदयपुर गाईघाटलाई प्रति समूह चार हजार रुपैँयाको साथमा प्रमाणपत्र प्रदान गरिएको छ।

    सोनाम ल्होछार तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने प्रमुख पर्व हो । यो पर्व प्रकृति, कृषि चक्र, सहकार्य र आपसी सद्भावको प्रतीकका रूपमा लिइन्छ । मञ्जुश्री सम्बत बौद्ध दर्शन र हिमाली सभ्यतासँग जोडिएको ऐतिहासिक समय गणनाको प्रणाली हो, जसले तामाङ समुदायको बौद्ध संस्कार र दर्शनलाई प्रतिबिम्बित गर्छ।

    कार्यक्रममा वक्ताहरूले तामाङ संस्कृतिलाई केवल पर्वमा सीमित नराखी शिक्षा, पर्यटन र स्थानीय विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए। गुम्बा, संस्कृतिक स्थल र पर्वहरूलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सके स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्ने धारणा व्यक्त गरिएको थियो।

    कार्यक्रमको अन्त्यमा सहभागीहरूले सांस्कृतिक पहिचानको संरक्षण, पुस्तान्तरण र राज्यको सकारात्मक भूमिका अपरिहार्य रहेको निष्कर्ष निकाले। सोनाम ल्होछारजस्ता पर्वहरूले केवल समुदायभित्र मात्र नभई समग्र नेपाली समाजमा सहिष्णुता, बहुसांस्कृतिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology