काठमाडौं, फागुन २२ – ओमानस्थित नेपाली दूतावासले समस्यामा परेका ११ जना नेपालीलाई उद्दार गरी नेपाल फर्काएको छ ।
ओमानको सोहारस्थित मुआर्ड वाडीहिवी मोर्डन ट्रेड (एएसटिडी) कम्पनीमा सम्झौता अनुसारको सुविधा नपाएका ११ जना पीडितलाई मंगलबार नेपाल फर्काएको हो । उनीहरुलाई कम्पनी भन्दा १६५ किलोमिटर टाढा अलपत्र अवस्थामा राखिएको ठाउँबाट दूतावासको टोलीले उद्दार गरेको हो ।
पीडितको उजुरीको आधारमा दूतावासले स्थलगत अध्यन गरी समस्याको समाधान गर्न कम्पनीसँग छलफल गर्दा समेत समाधान नभएपछि ओमानको स्थानीय निकायसँग समन्वय गरेर उनीहरुलाई नेपाल फर्काएको दूतावासले जनाएको छ ।
यो कम्पनीमा समस्यामा परेका २० जनालाई दूतावासले उद्दार गरेको थियो । २० जनामध्ये ११ जनालाई नेपाल फर्काएपनि बाँकी ९ जना पीडितको समस्या समाधान र स्वदेश फिर्तीका लागि प्रयास गरिरहेको दूतावासले जनाएको छ ।
उनीहरु अनेस्टी ओभरसिस् प्रलिबाट स्काफोल्डिङको काममा ओमान गएका हुन् ।