• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आनीले देखेकेा संसार: घरदेखि गुम्बा सम्म

आनीले देखेकेा संसार: घरदेखि गुम्बा सम्म


समायोजन खबर
  • मंगलबार, असोज २४ २०७४

  • साना नानीले कापीको पानामा बनाएको चित्रजस्तै जंगलको बीचमा एउटा घर । वरिपरि सजाइएको फूल । माथिपट्टि देखिने सल्लाका रूखहरू । मनमोहक वातावरणबीच कोठामा गुञ्जिएको तिब्बती आवाज बाहिरसम्म सुनिन्छ । कलेजी रङको पहिरनमा देखिएका केही कलिला अनुहारहरू आगनमा रम्दै उफ्रिरहेका छन् । उनीहरू आफ्नो स्येन (गाउन) सम्हाल्न सक्दैनन्, वेलावेलामा खस्न खोज्छ । यो दृश्य काठमाडौंबाट लगभग २० किलोमिटर पर दक्षिणकालीस्थित एउटा गुम्बाको हो ।

    ८ कक्षासम्म पढाइ हुने यो घर/स्कुलमा ६६ आनीहरू बस्छन् । त्यहाँ पुग्ने बित्तिकै केही साना आनीहरू आफ्नो शरीरमा बेरिएको स्येन मिलाउँदै घरको भित्ता/भर्‍याङमा लुकेर चियाउन थाल्छन् । वेलावेलामा खित्तित हाँस्छन् । त्यसरी लुकेर हेर्नेमध्येकी एक हुन्, डोल्मा शेर्पा । ५ वर्षीया उनी गुम्बाकै सबैभन्दा कान्छी आनी हुन् । कलिलो मुहार, मुन्डन गरिएको कपाल, मसिनो बोली भएकी उनलाई आफू यहाँ किन आइपुगेँ भन्ने थाहा छैन । यत्ति थाहा छ, ‘म आनी हुँ ।’

    एक साता पहिलेमात्रै उनी यहाँ आइपुगेकी थिइन् । डोल्मासँगै देखिएकी जङचुप डोल्मा (८) एलकेजीमा पढ्छिन् । भन्छिन्, ‘यहाँ आमाले ल्याइदिनुभएको हो । अब दुई महिनापछि आमा मलाई भेट्न आउने रे ।’ आनी बन्न यहाँसम्म आइपुग्नेहरूका अनेक कथा छन्, कसैसँग बाध्यता छ, कसैसँग रहर । करिब १२ वर्षअघि आनी बन्न आइपुगेकी मनाङ, तारगाउँकी कर्मा छोइङ डोल्मा (२३) अहिले फर्पिङस्थित अरुन्दय कलेजमा अंग्रेजी साहित्य लिएर प्लस टु गर्दैछिन् । अंग्रेजी सिक्न मात्र यो विषय पढेको र केही समयपछि डाक्टर पढ्न भारत जाने योजना रहेको उनले बताइन् ।

    आनीहरूका लागि पढाइ खर्च गुम्बाले नै बेहोर्छ । कर्मालाई चाहिने आवश्यक खर्च घरबाटै आउँछ । बाहिरफेर व्यक्तिगत कुराका लागि गुम्बाले खर्च दिँदैन । उनी बिहानै कलेज जान्छिन्, दिउँसो यहीँका आनीहरूलाई पढाउँछिन् । मुन्डन गरिएको कपाल, मेकअप नगरिएको अनुहारले उनलाई अन्य युवतीहरूभन्दा फरक देखाउँछ । भन्छिन्, ‘हामी शरीरलाई आकर्षक बनाएर पुरुषहरूको ध्यान तान्न चाहदैनौँ ।’ जहाँ जाँदा पनि कलेजी रङको स्येन छुट्दैन ।

    बजारमा देखिने रंगीचंगी लुगाले आकर्षित गर्दैन ? आफूले लगाएको कपडालाई एकछिनसम्म हेरेपछि उनले भनिन्, ‘सानैदेखि यही लुगा लगाएँ । यस्तै नै मनपर्छ ।’ अचम्म लाग्न सक्छ, सामाजिक सञ्जालमा दुनियाँ व्यस्त भइरहँदा उनले फेसबुकसमेत खोलेकी छैनन् । मोबाइल बोक्दिनन्, गुम्बाकै फोन प्रयोग गर्छिन् । कर्मा मात्रै हैन, यहाँ बस्ने कसैले पनि व्यक्तिगत फोन प्रयोग गर्दैनन् । बोक्न मन लाग्दैन ? कर्मा भन्छिन्, ‘रहर लागे पनि गुम्बामा बोक्न मिल्दैन ।’ साथीहरू कलेजमा फेसबुक/ट्विटरका कुरा गर्छन्, यी सबकुरा उनी जान्दिनन् । कहिल्यै नचलाएकाले त्यतातिर चासो नभएको बताउँछिन् ।

    घरदेखि गुम्बासम्म

    स्वयम्भुकी छुल्ट्रिम वाङमो (२०) जुबिल्यान्ट कलेज, कालीमाटीबाट १२ कक्षा सकाएर बसेकी छिन् । होटल म्यानेजमेन्ट पढ्दै गरेकी उनी अब ‘ट्राभल एन्ड टुरिजम्’ पढ्ने विचारमा छिन् । आठ वर्ष पुग्नैलाग्दा उनी आनी बन्न यहाँ आएकी थिइन् । उनकी हजुरआमा पनि आनी नै थिइन् । सानो छँदा हजुरआमाको साथ लागेर गुम्बासम्म पुग्थिन् । त्यहाँको पूजाआजा हेर्दा उनलाई रमाइलो लाग्थ्यो, शान्त वातावरणले आकर्षित गर्थ्याे। घरमा बुवाले ‘ड्रिङ्क्स’ गर्ने भएकाले हल्लाखल्ला भइरहन्थ्यो, उनलाई त्यो पटक्कै मन नपर्ने । त्यसैले हजुरअमासँग गुम्बा जान्थिन् । घरको अवस्थाले गर्दा नै हो, छुल्ट्रिमलाई आनी बन्न मन लागेको ।

    मुन्डन गरिएको कपाल, मेकअप नगरिएको अनुहारले आनीहरूलाई अन्यभन्दा फरक देखाउँछ। भन्छन्, शरीरलाई आकर्षक बनाएर हामी पुरुषहरूको ध्यान तान्न चाहदैनौँ।

    एकदिन बुवा रक्सी खान गएको वेला योजनाबमोजिम उनी फुपूको साथमा आनी बन्न हिँडिन् । यहाँ साथीहरूसँग बस्दा रमाइलो भएको अनुभव सुनाउँछिन् । बिदाको समयमा विभिन्न ठाउँमा घुम्न जान्छिन् । मन्त्र पढ्नेदेखि अंग्रेजी भाषा सिक्ने, नाच्ने, कपडा बुन्नेसम्मका अभ्यास गर्छिन् । यहीँ बसेर थान्का पेन्टिङ पनि सिकिरहेकी छन् । यी सबैकुरा गर्न पाउँदा खुशी देखिन्छिन् । भविष्यमा टुर गाइड बन्ने लक्ष्य बोकेकी छुल्ट्रिमलाई लाग्छ, आनी जिन्दगीबाट बाहिर आउँदिन होला ।

    उनी वेलावेलामा स्वयम्भुस्थित आफ्नो घर पुग्छिन् । गुम्बामै बस्ने बानी परिसकेकाले अब घर जाँदा समय काट्नै गाह्रो हुने बताउँछिन् । उनका भाइबहिनीहरू कहिलेकाहीँ दिदी भेट्न गुम्बासम्म आइपुग्छन् । दिउँसो दिदीसँग रमाइलो गर्छन्, बेलुका घर फर्किन्छन् । तर, छुल्ट्रिमलाई उनीहरूसँगै घर फर्किन कहिल्यै मन लागेन  । भन्छिन्, ‘बाहिर उनीहरूको एउटा जिन्दगी छ । मेरो अर्काे । आ–आफ्नो संसार प्यारो ।’

    आफू गाउँमा रहँदा बलात्कृत हुन्छु भन्ने डरले यहाँ आइपुगेको बताउँछिन्, कर्मा । गाउँमा घट्ने यस्ता अपराधबारे उनले सानैदेखि सुन्दै आएकी हुन् । भन्छिन्, ‘गाउँमा धेरै महिला बलात्कृत भइरहेकाले डर लागेर म यहाँ बस्न आएकी ।’ काठमाडौं बसे पनि आनी बन्न सल्लाह दिएकी थिइनन् आमाले उनलाई । तर, आनी नबनेपछि गाउँ जानुपर्ला भन्ने डरले उनले आनी बन्ने अड्डी कसिन् । छोरीको रहर र गाउँको अपराध सम्झेर आमाले घर लैजाने जिद्धी पनि गरिनन् ।

    शेराब डोल्कार गुरुङ (२२) पनि आफूलाई घरभन्दा गुम्बामै बस्न आनन्द रहेको बताउँछिन् । मनाङ, फु गाउँकी शेराब अहिले अरुन्दय कलेज फर्पिङमा कक्षा ११ मा पढ्छिन् । नौ वर्षको छँदा उनलाई बुवाले गुम्बामा राखिदिएका थिए । आफूलाई किन आनी बनाइयो भन्ने उनलाई त्यतिवेला थाहा थिएन । बुवाले धर्म सिक्नुपर्छ भनेको कुरासम्म सम्झिन्छिन् । गाउँमा लामाहरूलाई देखाएर बाआमाले भन्थे, ‘मेरी छोरी पनि यस्तै बन्छे ।’ त्यतिवेला उनी यस्ता कुरा बुझ्दिनथिन् । अहिले उनलाई लाग्छ, ‘परिवार गरिब भएकाले पढाउनकै लागि मलाई यहाँ ल्याइएको हो ।’विदेशमा भएका बुवाले कहिलेकाहीँ फोनबाट उनको पढाइबारे चासो राख्छन् । आमा गाउँमै छन् । वर्षमा एकपटक यार्सागुम्बा टिप्न जान्छिन् । घरमा केही चौरी छन् । त्यहाँबाट आएको पैसाले कहिलेकाहीँ छोरीलाई खाजा खाने पैसा पठाइदिन्छिन् । उनी घर नगएको पनि लामो समय बितिसक्यो । फोनमा आमाको एउटै सल्लाह हुन्छ, ‘पढेर ठूलो मान्छे बन्नू ।’

    दिनचर्या

    हरेकको जिउने तरिका फरक–फरक हुन्छ । आनी यो जीवनप्रति खुशी रहेको बताउँछिन्, पेमा ल्हामु (१३) । पढाउनै भनेर बाबुआमाले आठ वर्षको उमेरमा उनलाई यहाँ ल्याएका थिए । भविष्यमा डाक्टर बनेर आमालाई काठमाडौंमै पाल्न चाहन्छिन्, उनी । भन्छिन्, ‘गाउँमा धेरै दुःख गर्नुपर्छ । पैसा कमाउने भएपछि यहीँ ल्याउने मन छ ।’गुम्बाको रुटिनअनुसार बिहान पौने ५ बजे नै उठ्नुपर्छ । फ्रेस भएर ५ बजे पूजाकोठा पुगिसक्नुपर्छ । पूजा ६ बजेसम्म चल्छ । त्यसपछि खाजा, खाना, खाएर पढाइ शुरु हुन्छ । गुम्बाको खाना शाकाहारी नै हुन्छ ।

    दिउँसो यहाँ अरू काम हुँदैन, पढ्ने मात्र हो । अल्छी लाग्दा विभिन्न खेल सामग्री छन् । आफूहरू प्रायः चुंगी, गट्टा, बास्केटबल खेल्ने गरेको बताउँछिन्, पेमा । यसरी खेल्दा साथीहरूसँग कुरा नमिलेर झगडा परेको अनुभव छैन, उनलाई । हरेक शनिबार परिवार, साथीहरूसँग कुरा गर्न फोन दिइन्छ, पेमा पनि आमासँग धित मरुन्जेल कुरा गर्छिन् । डायरी लेख्छिन् कहिलेकाहीँ । त्यसमा के हुन्छ ? पेमा भन्छिन्, ‘परिवारको सम्झना आउँदा लेख्छु । आफ्नै दैनिकी पनि लेख्छु ।’

    ani0 आनी भएकै कारण कहिलेकाहीँ मान्छेहरूले नराम्रो व्यवहार गर्छन्। हामीलाई नेपाली नै होइन जसरी व्यवहार गरिन्छ। त्यतिखेर साह्रै नरमाइलो लाग्छ।आनी पेमा रिन्छेन प्रधानाध्यापक, आर्यतारा स्कुल

    उनीहरू दिनभरि गुम्बामा बस्ने मात्र होइन, वेलावेलामा घुम्न पनि निस्कन्छन् । नजिकको बजार फर्पिङ उनीहरू गइरहने ठाउँ हो । काठमाडौं पनि प्रायः जान्छन् । घुम्न जाँदा भने उनीहरू शाकाहारी खानाको बन्धनमा रहँदैनन् । पेमा भन्छिन्, ‘मलाई बफ मःम मनपर्छ । बाहिर घुम्न जाँदा त्यही खान्छु ।’गुम्बामा बस्दा आफूहरूलाई कुनै गाह्रो नभएको र घुम्ने, डुल्ने पनि गरिरहने बताउँछिन्, छुल्ट्रिम । खाली समयमा विभिन्न भाषा सिक्नुका साथै पेन्टिङ पनि सिकिरहेकी हुन्छिन्, उनी । कहिलेकाहीँ लामो छुट्टी हुँदा गुम्बाले नै विभिन्न ‘प्याकेज’मार्फत आनीहरूलाई सिर्जनशील हुन सघाउँछ ।

    अनुभव

    आनी बन्नु नै जिन्दगीमा नयाँ अनुभव लिनु हो । गोर्खा, छेकमपारकी लेख्से छोमो (२२) नौ वर्षको छँदा आनी बन्न काठमाडौं आएकी थिइन् । आठ जनाको परिवार थियो, उनको  । बहिनीलाई आमाले आनी बनाएकी थिइन् । गुम्बाबाट बहिनी घरमा आइरहन्थिन् । त्यही मौकामा स्येन लगाएर लेख्से आनी बनेको नक्कल गर्थिन् । त्यतिवेला बहिनीले गुम्बामा हुने विभिन्न क्रियाकलाप सुनाउँदा उनलाई पनि आनी बन्ने रहर जाग्थ्यो । आनी बन्न उनी काठमाडौंको विभिन्न गुम्बामासमेत गइन् । तर, त्यहाँको मापदण्डअनुसार लौरो बराबरको अग्लाइ नहुँदा उनले भर्ना पाइनन् । अन्ततः ठूलीआमाको साथीले उनलाई यहाँसम्म ल्याइदिइन् । बहिनीले एक महिनैमा आनी छाडे पनि आफूले नछाड्ने बताउँछिन्, लेख्से । लेख्सेको क्लासमा उनीसहित दुई जना आनी छन् । कलेजका साथीहरूले अरूलाई जस्तै उनीहरूलाई पनि राम्रै व्यवहार गर्छन् ।

    साथीहरूसँगै खाजा खान्छिन्, खेल्छिन्, रमाइलो गर्छिन् । हिँड्दा मान्छेहरूले हरिरहे भने आफूहरूलाई नराम्रो महसुस हुने गरेको बताउँछिन् । भन्छिन्, ‘त्यसरी नहेरिदिए हुन्थ्यो, अप्ठ्यारो लाग्छ ।’ छुल्ट्रिमलाई भने कलेज गएको लामो समयसम्म साथीहरूले ड्रेस किन नलगाएको भनेर सोधिरहन्थे । उनले भनिदिन्थिन्, ‘आनी भएपछि अरू लुगा लगाउनु हुँदैन ।’ तर, शेराबले भने कलेज जाँदा शुरुका दिनमा अलि गाह्रो भएको महसुस गरिन् । उनलाई साथीहरूले ‘तालु केटी’ भनेर जिस्काउँथे । तर, पछिपछि साथीहरूले जिस्काउन छाडे र सहज भयो ।

    आनी भएकै कारण कहिलेकाहीँ मान्छेहरूले नराम्रो व्यवहार गर्ने गरेको बताउँछिन् प्रधानाध्यापक आनी पेमा रिन्छेन । भन्छिन्, ‘कहिलेकाहीँ हामीलाई नेपाली नै होइन जसरी व्यवहार गरिन्छ । त्यतिखेर साह्रै नरमाइलो लाग्छ ।’

     केही अघिसम्म खुलेर कुरा गरिरहेकी डोल्माको अनुहार यतिवेला अँध्यारो देखिन्छ । उनकी प्रिन्सिपल हँसाउन खोज्छिन् तर अहँ ऊ मान्दिन । ठुस्किएको अनुहार लिएर एकोहोरो हेरिरही । हामी चढेको ट्याक्सी पर पुगिसक्दा उसले ‘बाई’ गर्छे । बाई गर्दा भुइँमा उसकाे स्येन लत्रिन पुग्‍छ ।

    @annapurnanews

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology