समायोजन खवर कात्तिक ४ , काठमाडौं
नेपालीहरुको दोस्रो महान चाड तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्ययक्ष प्रा. डा. रामचन्द्र गौतमले भने, ‘उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ । भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याहृनको समय निकालिएको हो, तर पनि दिनभर टीका लगाउन सकिन्छ ।’
भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका लगाउन नहुने गौतमले बताए । उनका अनुसार शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा हुनेछैन । टीका लगाइदिएपछि दाजुभाइ दिदीबहिनीहरुले एकअर्कालाई आशिर्वादसहित उपहार दिने प्रचलन छ ।
टीका लगाउँदा कता फर्किने ? लगाउनु अघि के गर्ने ?
भाइटीकाको समय दाजुभाइ पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिन राम्रो हुन्छ ।
आज पश्चिममा चन्द्रमा भएकाले लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कंदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको प्रा.डा. गौतमले बताए ।
शास्त्रीय मान्यताअनुसार भाइटीका लगाउनु अघि केही विधि पनि पूरा गर्नुपर्ने हुन्छ । लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।
थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
टीका लगाइदिइसकेपछि घरको मूल ढोकामा ओखर फोड्ने चलन छ । यसो गर्दा सबै बाधा अड्चन हट्ने धार्मिक विश्वास छ । साभार अनलाईन खवर
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology