समायोजन खबर, उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल रौता र ताप्ली पोखरीमा अहिले आन्तरिक पर्यटकहरूको घुइँचो लागेको छ। नयाँ वर्षको दिन यहाँ मेला लाग्ने गर्दछ। पर्यटकीय तथा धार्मिक हिसाबले घुम्नैपर्नेमध्येको एक प्राकृतिक सौन्दर्यको ठाउँ हो यो। डाँडाको थाप्लोमा गोलाकार पोखरी, पोखरीमा पानी, पानीमा तैरिरहेको कमल। किनारको रूखमुनि रौतामाई । शीतल अनि हरियाली। पवित्र एवं शान्त भूमि। रौता पोखरी पुग्दा मन फुरुंग हुन्छ। उत्साहको लहर चल्छ।
उदयपुरको रौतामाई गाउँपालिका(६ मा पर्दछ रौता पोखरी। यो पोखरी सदरमुकाम गाईघाटदेखि उत्तरी क्षेत्रको समुद्री सतहदेखि पाँच हजार नौ सय फिट उचाइमा एक बिघा क्षेत्रफलमा फैलिएको छ। रौतामाई दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ। मन्दिरका पुजारीका अनुसार देवी भाकेर मनले जे माग्यो त्यो फल प्राप्त हुन्छ। धनलाभ, निरोगिता, सन्तान प्राप्ति, जागिरमा बढुवालगायत सबै खाले मनोकांक्षा पूरा हुने विश्वासमा बर्सेनि हजारौँ तीर्थजन रौतापोखरी पुग्छन्। सदरमुकाम गाईघाटबाट करिब ४० किलोमिटर उत्तरी भेगको रौतामाई गाउँपालिका-६ मा रौता पोखरी पर्दछ।
गाईघाटबाट करिब तीन घण्टामा यातायातको साधनबाट यात्रा गरेपछि पुग्न सकिने भएकाले पनि यस वर्ष विगतको तुलनामा धेरै नै मानिसहरू त्यहाँ पुग्ने अनुमान गरिएको छ। गोलो वर्गाकाररूपमा फैलिएको रौता पोखरीको किनारमा नै रौतारानीको मन्दिर रहेको छ। जसमा परेवा र पाठी बलि दिने प्रचलन रहेको पाइन्छ। वर्षौंदेखि नसुकेको रौता पोखरी जलवायु परिवर्तनका कारण केही वर्षयतादेखि भने सुक्ने गरेको पाइन्छ । लामो समयसम्म पानी नपरेर सुक्खा खडेरी परेकाले पनि पोखरीमा पानी सुकेको बताइएको छ।
धार्मिक आस्था बोक्नेहरूका लागि त रौता पोखरी ‘ड्रिमल्यान्ड’ नै बन्न सक्छ। प्रकृति, संस्कृति, जीवनशैली र जैविक विविधतामा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्नेमा शंका छैन। चुरे उपत्यका गाईघाटमा बस्नेहरू हुन् कि अलि पर राजविराज वा लहानतिर बस्नेहरू उनीहरूलाई गर्मी छल्ने गन्तव्यका रूपमा रौतामा ल्याउन सकिन्छ। पोखरीबाट एक घण्टा उकालो चढी ९२,१०० मिटर० मा पुगेपछि रमाइलो खर्क भेटिन्छ, त्यहाँबाट तराईका फाँटहरू देख्न सकिन्छ। डाँडाबाट हिमालको लामो लस्कर देखिन्छ। रौता पोखरीको बेसक्याम्प निकास गाउँका ११ घरमा होमस्टे सुविधा छ। होमस्टेबाट १० मिनेट उकालो चढे पुगिन्छ रौता पोखरी। रौता पोखरीको बेस क्याम्पमा अवस्थित निकास गाउँमा बाहुनका दुई र राईका नौ गरी जम्मा ११ घरमा होमस्टे सुविधा छ।
यता, प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्व बोकेको ताप्ली पोखरी साबिक सगरमाथा अञ्चल हाल १ नम्बर प्रदेश उदयपुर जिल्लामा अवस्थित छ। उदयपुरको एक प्रमुख पर्यटकीयस्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै चार÷पाँच घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा ताप्ली गाउँपालिका–२ ताप्ली पोखरी वा रानीपोखरीको नामले प्रख्यात रहेको छ। यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ।
समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा रहेको ताप्ली पोखरी पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। यो पोखरीमा वर्षैभरि पानी जमिरहन्छ। यो पोखरी हेर्न विभिन्न स्थानबाट पर्यटकहरू आउने गरेका छन्। पोखरीबाट उत्तरमा सगरमाथासम्मका हिमशृृंखला अवलोकन गर्न सकिन्छ। यसैगरी, हरियो चौरले भरिएका थुमहरूका कारण पर्यटकहरू रोमाञ्चित हुन्छन्। बाह्रै महिना चिसो हुने यो पोखरीमा पर्यटकहरू गर्मी छल्न पनि पुग्छन्।
७५ मिटर चौडा तथा ३२० मिटर लामो यो पोखरीको गहिराइ तीन मिटर छ। तुसारो परिरहने यो पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ। करिब ७५ मिटर चौडाइ र तीन सय मिटर लम्बाइमा फैलिएको पोखरीलाई पञ्चकन्या पोखरी नामले पनि चिनिन्छ। सत्ययुगमा यहाँ पाँचवटा कुवा रहेका र पानी भर्न आएका पाँचवटी कन्या अलप भएपछि पोखरीमा परिणत भएको किंबदन्ती छ। जैविक विविधताले भरिपूर्ण यो पोखरी धार्मिक तथा प्राकृतिक अध्ययनका लागि पनि महत्वपूर्ण छ। सत्य युगमा शिवजीले यहाँका गुफामा बास बसेको किंबदन्ती गाउँलेहरू सुनाउँछन्। विशेष गरी नयाँ वर्षका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ। ताप्ली पोखरीको दक्षिणतर्फ हेर्दा भारतसम्मका शहरहरूको अवलोकन गर्न सकिन्छ। यो पोखरी किनारमा भ्यु टावरसमेत निर्माण भइरहेको छ। यहाँका आकर्षण प्राकृतिक छटासँगै यहाँका लेक र थुमहरू हुन्। लेक हेर्न पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology