सोलुखुम्बु, चैत १७ गते । बितेको एक दशक सोलुखुम्बुको इम्जा र दूधकोसी नदी किनाराका मानिस त्रास नै त्रासमा बाँच्न बाध्य भए । इम्जा र दूधकोसीमा पानीको सतह अलिकति बढ्यो कि इम्जा हिमताल फुट्यो भन्ने आशङ्का गर्दै ती नदी किनाराका बासिन्दा डाँडातर्फ भागिहाल्थे ।
इम्जा हिमताल विश्वकै खतरा सूचीमा रहेको भन्दै यति धेरै प्रचार गरियो कि हरेक रात नदी किनाराका मानिस इम्जा फुटेर बगाउँछ कि भनेर डराईडराई सुत्थे । तर अहिले उनीहरुको डर घटेको छ । दूधकोसीको आकार बढ्न सुरु गर्नासाथ दर्जनौँपटक अग्लो डाँडातर्फ भागेका खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दूधकोसीको किनारामै रहेको फाक्दिङमा होटल गर्ने रिञ्जी शेर्पा अहिले ढुक्कले निदाउने बताउनुहुन्छ ।

“पानी अलि बढ्नासाथ हल्ला भइहाल्थ्यो, त्यसपछि हामी सबै भाग्थ्यौँ, सुतिरहेका विदेशीसमेत हामीसँगै भाग्थे, अहिले सम्झँदा पनि डर लाग्छ”, उच्च हिमाली क्षेत्रका छुकुङ, दिङबोचे, पाङबोचे, फुङगीठाँगा, जोरसल्ले, फाक्दिङ, घाट जस्ता उच्च जोखिमका बस्ती र त्यसभन्दा तलका जुभिङ, वाकु, जुवु, देउसा, पंचन हुँदै उदयपुरको घुर्मी किनाराका बासिन्दा समेत त्रासै त्रासमा बस्थे । महेन्द्रज्योति मावि, खुम्बु पासाङल्हामु गाउँपालिकाका शिक्षक देवनारायण थारूले भन्नुभयो, “अहिले इम्जा तालको पानी घटाएको भन्ने सुनेपछि यहाँका बासिन्दा ढुक्क भएका छन्, निन्द्रा राम्रो लागेको छ ।”
विस्फोटको उच्च जोखिममा रहेको भनिएको १६ हजार चारसय फिटमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्ने हिमतालको पानीको जलसतह करिब साढे तीनमिटर तल झारिएपछि हिमालबाट तल्लो तटीय क्षेत्रका बस्तीका स्थानीयवासी ढुक्क बनेका हुन् ।
“तालको पानी घटाइएकाले अब तालको बाँध फुट्लाजस्तो लाग्दैन,” धेरै पटक इम्जा तालको अवलोकन गरेका खुम्जुङका व्यापारी महेन्द्र राईले भन्नुभयो । अहिले स्थानीय बासिन्दा ढुक्क छन्, ताल फुटिहालेमा पनि जानकारी पाइन्छ, ठूलो क्षति हुन पाउँदैन । घाटमा होटल याक चलाउँदै आएका उत्रबहादुर राईले आफूहरु ढुक्क भएको बताउनुभयो ।
वातावरण मन्त्रालयको जल तथा मौसम विज्ञान विभागअन्तर्गत सञ्चालित समुदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्यूनीकरण आयोजनामार्फत इम्जा हिमतालको पानीको सतह ३।४ मिटर तल झार्ने काम गत मङ्सिरमा सकिएको हो ।
हिमतालको पानीको सतह घटाई जोखिम न्यूनीकरण गर्ने कार्यका लागि करिब रु ३१ करोड खर्च भएको थियो । विश्व वातावारण कोष र राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाली सेनाका प्राविधिक र स्थानीय शेर्पाको सहयोगमा पानीको सतह घटाउन करिब ५० मिटर लामो कुलो खनेर इम्जा हिमतालको पानी इम्जा खोला हुँदै दूधकोसी नदीमा मिसाइएको हो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक तथा आयोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा ऋषिराम शर्माले निकासबाट पानी बाहिर पठाइएपछि इम्जा हिमताल फुट्ने खतरा न्यून भएको बताउनुभयो । “पानी निकास गरिएपछि हिमताल सुरक्षित भएको छ,” शर्माले भन्नुभयो, “तल्लो क्षेत्रमा सम्भावित जोखिम घटेको छ ।” हिमताल र निकासको रेखदेख एक वर्ष नेपाली सेनाले गर्नेछ । त्यसपछि त्यसको जिम्मा विभागले लिने शर्माले बताउनुभयो ।
सन् १९६० तिर चौँरीगोठालाले सानो तालका रुपमा देखेको इम्जा करिब ६ दशकमा बढेर १।२८ वर्गकिमीमा फैलिएको छ भने तालमा सात करोड ५२ लाख घनमिटर पानी छ । यसको गहिराइ एकसय ५० मिटर छ ।
आयोजनाका कार्यक्रम व्यवस्थापक टोपबहादुर खत्रीका अनुसार इम्जा हिमालको पानीको सतह घटाएसँगै दूधकोसी नदीको ५० किमी तल्लो तटीय आसपासका १८ वटा संवेदनशील स्थानमा समुदायमा आधारित पूर्वसूचना प्रणालीका उपकरणसमेत हस्तान्तरण गरिएको छ । बाढीबाट जोगिन पूर्वाधारसँगै स्थानीय बासिन्दालाई तालिमसमेत दिइएको छ । व्यवस्थापक खत्रीका अनुसार हिमताल र यसको सम्भावित विस्फोटनबारे सूचना सम्प्रेषण गर्नका निम्ति स्वचालित पूर्वसूचना प्रणालीसमेत जडान गरिएको छ ।
दिङबोचे, पाङबोचे, फुङगीठाँडा, जोरसल्ले, फाक्दिङ र घाट गरी ६ वटा उच्च जोखिमयुक्त बस्तीमा विस्फोटको सूचना स्वचालित साइरनमार्फत सम्पे्रषण गर्ने प्रविधि जडान गरिएको छ । लुक्लादेखि इम्जानजिकको बस्तीसम्मै सन्देशमूलक जानकारी दिने होर्डिङ बोर्ड पनि राखिएका छन् ।
इम्जा हिमताल विस्फोटको जोखिम न्यूनीकरणसम्बन्धी यस कार्यबाट तटीय क्षेत्रका बासिन्दाका साथै बर्सेनि खुम्बु घुम्न आउने करिब ३५ हजार विदेशी पर्यटक र नेपालीसमेत गरी एक लाखको हाराहारीका यात्रीसमेत ढुक्कले घुम्न र निदाउन पाउने भएका छन् । रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology