समायोजन खबर खोटाङ,
भेडेटार नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । भेडेटार नगरपालिका–४ भेडेटार बजार क्षेत्र, पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ । यो ठाउँ धरान उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १ हजार ४ सय ३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । अझ भेडेटारको भ्यू टावर अर्थात चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ ।

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ किलोमीटर दूरीमा रहेको छ । भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणधिन सडक पूर्वतर्फ गएको छ भने आहाले हुँदै वराहक्षेत्र जाने निर्माणधिन सडक पश्चिम तर्फ गएको छ । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ । यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तर्राई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् । भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्स प्वाइन्ट नामकरण गरिएको हो । चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ ।

भेडेटारबाट नजीकै उत्तरपट्टी राजमार्गको “नमस्ते मोड“ छेउमा रमणीय नमस्ते र्झना बगेको छ । भेडेटारबाट केही पश्चिममा ऐतिहासिक साँगुरीगढी (साँगुरी भञ्ज्याङ) रहेको छ । यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्वको स्थानको रूपमा अझ विकसित हुदै जाने सम्भावना रहेको छ । २०६८ को जनगणना अनुसार भेडेटारको जनसंख्या २ हजार ९ सय ७७ रहेको छ ।
२०७५ फागुन ६ गते बिहान ९ : ४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology