समायोजन खबर, एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताउनु भएको छ। शुक्रबार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पुतलीको चिनियाँ कथा सुनाउँदै प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताउनुभयो । त्यसअघि उहाँले चिनियाँ कथा सुनाउनु भयो।
चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाईछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?
कथा सुनाएपछि ओलीले भन्नुभयो, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सहि हो, कुन गलत हो ?’
उहाँले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको भन्दै एमालेको नीति भने सुनाउनु भएन । ‘एक सय ६५ भोट सरकारसँग छ । एमसीसी पास गर्ने भनेको छ,’ उहाँले भन्नुभयो ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न सक्छ ।’
पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गर्नुभयो । ‘नाम हेर्यो नेकपा माके, काम हेर्यो कांग्रेसको पुच्छर । नाम हेर्यो पार्टी फुटाएर एकीकृत, काम हेर्यो कांग्रेसका पछि लागेर समाजवादी । यो स्थितिमा हामी छौं,’ ब्यंग्यात्मक शैलीमा उहाँले भन्नुभयो ।
अर्को एक प्रसंगमा ओलीले गठबन्धन कुनै अवस्थामा पनि नटुट्ने बताउनु भयो । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावमा उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिनु भयो ।
‘यो गठबन्धन टुट्दैन, टुट्न हुँदैन । यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छ,’ उनले भने, हामी लड्न बोलाउँदा वान वाई वान होइन पाँचै दल आऊ भनेर बोलाउँछौं । ३० वैशाखमा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं ।’ सरकारमा बस्नेहरुले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको उनको आरोप छ ।
‘एमसीसी माग्ने झलनाथ खनाल हिँड्दा केही गर्दैनन् । एमसीसी पास गर्ने भन्ने कांग्रेसका नेताहरू हिँड्दा केही गर्दैनन् । माओवादीलाई केही गर्दैनन्,’ उनको दुखेसो छ, ‘म हिँड्दा ढुंगा बर्साउँछन् । कुरा बुझिँदैन र ?
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology