समायोजन खबर काठमाण्डौ,
१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ले भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र वैदेशिक रोजगार व्यवसायीस संघका पदाधिकारीबीच भएको छलफलमा मन्त्री विष्टले रोकिएको मलेसियाको रोजगारी दुई तीन दिन भित्रमा खुल्ले जानकारी दिनुभएको हो । त्यसका लागि प्रक्रिया अघि बढिसकेको जानकारी मन्त्री विष्टले गराएकाले ढिलोमा आइतबारसम्म वा त्योभन्दा छिट्टै खुल्ने टुङ्गो लागेको भेटमा सहभागी एक व्यवसायीले बताए ।
पहिलो चरणमा कलिङ भिसा आएर रोकिएकालाई एक साताभित्र मलेसिया पठाउने मन्त्रालयको तयारी छ । कलिङ भिसा आएर पनि जान नपाएकाहरुलाई श्रम स्वीकृति दिलाउन मन्त्रालयले नै पहल गर्नेभएको छ । नयाँ जान चाहनेका लागि भने मलेसियाले केही दिनअघि पठाएको स्वस्थ्य परीक्षणको नयाँ मापदण्ड अनुसार प्रक्रिया गरिने भएकाले केही समय लाग्ने भएको छ ।

मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको लागि बुधबार सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । मलेसियाले पठाएको मापदण्ड पनि एक दुई दिनमै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्य्विधि २०७२ को दफा ३ बमोजिम सूचीकरण हुन १० दिनको समय दिइएको छ ।

प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिन लागेको हो । नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी बन्द भएको थियो । कातिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।
२०७५ चैत्र १३ गते राती ८ :१० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology