• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालका प्रमुख १० पर्यटकीय स्थलहरू

नेपालका प्रमुख १० पर्यटकीय स्थलहरू


आङपेम्बा शेर्पा महासचिव, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)
  • शुक्रबार, बैशाख १४ २०७५

  • अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालमा पर्यटनको प्रचुर सम्भावना छ । सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । १६ वर्षदेखि पर्यटन क्षेत्रमा काम गरिरहेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले नेपालका मुख्य १० गन्तव्यबारे बताएका छन् :

     

    सगरमाथा आधार शिवि

    संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्मा हो । स्थानीयवासी सगरमाथालाई चोमोलुङ भन्छन् ।

    सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ (विसं. २०१२)मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् । उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई कतैकतै देवढुंगा पनि भन्ने गरेको पाइन्छ ।

    सगरमाथा शिखरमा सर्वप्रथम सन् १९५३ मे २९ मा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पाइला राखेका थिए । सगरमाथालाई नजिकबाट हेर्न आउनेहरू सगरमाथा बेस क्याम्पसम्म पुग्ने गर्दछन् । काठमाडैाबाट जिरी हुदै २२–२३ दिनको यात्रामा सगरमाथाको आधार शिविर पुगेर आउन सकिन्छ ।

    सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै १४–१५ दिनमा सगरमाथाको आधार शिविर पुगेर आउन सकिन्छ । त्यसैगरी, लुक्लासम्मको हवाई यात्रा पछि १०–११ दिनमा पनि सगरमाथाको आधार शिविर पुग्न सकिन्छ । लुक्ला, नाम्चेबजार, त्याङबोचे, गोरकसेप, लोबुचे यहाँका प्रमुख आकर्षण हुन् ।

    घोरेपानी

    अन्नपूर्ण पदयात्राको प्रमुख एउटा गन्तव्य म्याग्दीको घोरेपानी हो । त्यहाँको प्रमुख आकर्षण २००० मिटरको उचाइमा रहेको पुनहिल हो । अन्नपूर्ण पदमार्ग क्षेत्रअन्तर्गत पर्ने घोरेपानी–पुनहिल पदमार्ग छोटो दूरीमा पदयात्रा गन चाहनेहरूका लागि प्रसिद्ध छ । गुराँस फुल्ने याम र असोज–मंसिरमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । घोरेपानी पनि त्यहाँका रैथाने पुन मगरहरूको लेकाली बसोवास क्षेत्र हो ।

    पुनहरूको नाममा घोरेपानीमा रहेको अग्लो लेकलाई पछि पुनहिल नामकरण गरिएको बताइन्छ । जुन अहिले विश्वभरका पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ । ‘घोरेपानी पहिले–पहिले गाईबस्तु लिएर गोठ गर्न आउने स्थल थियो, पछि अन्नपूर्ण पदमार्गको अवधारणा आएपछि यसको विकास भएको हो । घोरेपानी पदयात्राका लागि काठमाडाैं–पोखरा हुँदै नयाँ पुलसम्मको बस यात्रापछि उल्लेरी हुँदै त्यहाँ पुग्न सकिन्छ ।

     

    लाङटा

    रसुवा जिल्ला भौगोलिक विकटताका कारण पछाडि रहे पनि यहाँका अनगिन्ती पर्यटकीय सम्पदाका कारण उत्तिकै महत्वपूर्ण छ । यहाँ विश्व मानचित्रमा समेत समावेश भएका कतिपय सम्पदाहरू छन् । जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

    लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड, लाङटाङ हिमाल, लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका सम्पदा, विभिन्न धार्मिक एवं पर्यटकीय स्थल यहाँका प्रमुख आकर्षण र महत्वका क्षेत्र हुन् ।

    हिमाली क्षेत्रको जैविक विविधता, विभिन्न किसिमका जडीबुटी, वन्यजन्तु र चराचुरुंगीलगायतले जिल्लाको गौरव बढाएका छन् । तीमध्ये पर्यटकीय एवं आर्कषणको केन्द्रबिन्दु लाङटाङ एक प्रमुख सम्पदा हो । लाङटाङ नेपालकै पर्यटकीय क्षेत्रको तेस्रो गन्तव्य मानिन्छ ।

    लाङटाङ ज्यादै आर्कषक एवं मनमोहक सम्पदा हो । यसलाई हेरेर कहिल्यै थाकिन्न । सदावहार हिमशृंखला लाङटाङ लिरुङ हिमाल समुद्री सतहबाट ७ हजार २ सय ४६ मिटरको उचाइमा अवस्थित छ ।

    लाङटाङको चीनसँग सिमाना जोडिएको छ । लाङटाङको क्यान्जिङ उपत्यका अति रमणीय स्थल मानिन्छ । लाङटाङमा आउने स्वदेशी तथा विदेशी पर्यटक मुख्यतया क्यान्जिन उपत्यकामा नै बस्ने र हिमशृंखलाको मज्जा लुट्ने गर्छन् । लाङटाङ पुग्नका लागि राजधानीबाट स्याफ्रुसम्मको सवारी यात्रापछि पैदलयात्रा अनिवार्य रहेको छ । त्यसको लागि ७ देखि १० दिन सम्म लाग्ने गर्दछ ।

     

    मुस्ता

    प्रदेश नं ४ को उत्तरपट्टि अवस्थित हिमालपारिको जिल्ला हो मुस्ताङ । धवलागिरि र निलगिरि दुई अग्ला हिमशिखरको बीचमा रहेको यो जिल्ला हिन्दू र बौद्ध तीर्थयात्रीको पावन भूमि हो ।

    पवित्र कृष्ण गण्डकी प्रवाहित हुने यो जिल्ला प्रकृतिको अनुपम दृष्ययुक्त भएकाले पर्यटकका लागि मनमोहक र सुन्दर छ । मुख्य गरी गुरुङ र थकाली समुदायको बसोवास रहेको यो जिल्लाका अधिकांश मानिसहरू बौद्ध धर्मप्रति आस्थावान् छन् ।

    परापूर्व कालमा नेपाल र तिब्बतबीचको मुख्य व्यापारिक नाका रहेको यो क्षेत्रको सभ्यता तीन हजार वर्षभन्दा अगाडिको रहेको पुरातात्विक उत्खननबाट पुष्टि हुन आएको छ । तिब्बती संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेग, पर्यटक र अनुसन्धानकर्ताका लागि अति नै महत्वपूर्ण आकर्षणको केन्द्रका रूपमा रहेको छ ।

    जिल्लामा पाइने मुख्य वनस्पतिमा सल्लो, धुपी, बैँस, भोजपत्र, लालीगुराँस, काँडेदार बुट्यान, घाँस, भोटेपीपल रहेका छन् । उच्च पहाडी र दुर्गम हिमाली जिल्ला भएकाले यहाँको जनजीवन भिन्नै प्रकारको छ ।

    सदरमुकामदेखि उत्तरतिर भोटे गुरुङ, विष्ट र ठकुरी जातिको बाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातिको बसोवास पाइन्छ । उपल्लो मुस्ताङ नेपालको पर्यटनक्षेत्रका लागि अति महत्वपूर्ण छ ।

    यहाँ पुग्नका लागि पोखराबाट जिप चढेर पनि जान सकिन्छ भने पोखराबाट जोमसोमसम्मको हवाई यात्रापछि पनि जान सकिन्छ । मुस्ताङसम्म पुग्न ५–६ दिन लाग्ने गर्छ भने मथिल्लो मुस्ताङ पुगेर आउन भने कम्तीमा १०–१२ दिन लाग्ने गर्छ ।

     

    पोखरा

    नेपालको पर्यटकीय क्षेत्रमा चर्चित पोखरा उपत्यकालाई सेती उपत्यका पनि भन्ने गरिन्छ । देशकै दोस्रो ठूलो नगरको रूपमा रहेको पोखरा लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिकासमेत रहेको पोखरा उपत्यकाबाट विजयपुर, कोत्रेलगायत खोला सेती नदीको जलधारामा मिसिएर उपत्यकाबाहिर निस्किन्छन् ।

    पोखरा उपत्यका तालहरूका दृष्टिकोणले पनि धनी उपत्यका हो । फेवा ताल, बेगनास ताल, रूपा ताल, खास्टे ताललगायत ठूला तथा मैदी दिपाङ, कमलपोखरीलगायत साना तालहरू यो उपत्यकाभित्रै छन् ।

    पोखरा लेखनाथको मुख्य व्यवसाय पर्यटन हो । यहाँका रमणीय ताल, सेती नदी, हिमाली छाया तथा झरना प्रमुख पर्यटकीय स्थल हुन् । फेवातालमा पर्ने माछापुछेको छाया तथा बेगनासमा गरिने डुंगा सवारी बिर्सिनसक्नुका छन् । अन्नपूर्ण पदमार्ग पनि यहीँबाट सुरु हुन्छ ।

     

    सौराहा

    सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाउँ हो । सौराहा देशकै आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक हो । चितवन राष्ट्रिय निकुञ्जको मध्य भागमा पर्ने यो क्षेत्रमा धेरै होटेल, लज, रिसोर्ट र रेस्टुरेन्ट छन् ।

    निकुञ्ज र सामुदायिक वनमा हात्ती र जिप सफारीका लागि पनि यो ठाउँ प्रसिद्ध छ । सौराहा जानका लागि काठमाडांैबाट पर्यटकीय बस, अन्य बस, जिप आदि प्रयोग गर्न सकिन्छ भने भरतपुरसम्मको हवाई सेवा पनि प्रयोग गर्न सकिन्छ ।

     

    लुम्बिनी

    शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वमै प्रसिद्ध छ । भैरहवाको सिद्धार्थ नगरदेखि २२ किलोमिटर पश्चिममा लुम्बिनीमा अवस्थित छ । इसापूर्व ६२३ मा शाक्यमुनि माता मायादेवी माइतीघर देवदहबाट पतिको घर तौलिहवा जाँदाजाँदै लुम्बिनीको सुन्दर एवं पवित्र बगैँचामा सिद्धार्थ गौतमको जन्म भएको थियो । विश्वभरिका करोडाैं बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो, लुम्बिनी ।

    शान्त वातावरण तथा विभिन्न मुलुकले बनाएका बिहार तथा चैत्यले आर्कषक बनेको लुम्बिनीमा नेपाल भ्रमणमा आउने प्रायः पर्यटक पुग्ने गर्दछन् । मायादेवी मन्दिर, विश्व शान्ति स्तुप, अशोक स्तम्भ, विश्व शान्तिदीप, लुम्बिनी म्युजियम, तिलौराकोट, देवदह, कुदान आदि लुम्बिनीका प्रमुख आकर्षण हुन् ।

    सन् १९९७ मा विश्व सम्पदा सूचीमा सुचीकृत लुम्बिनी काठमाडाैंदेखि ३ सय ५० किलोमिटर र पोखराबाट १६५ किलोमिटर टाढा छ । हवाई यात्रामार्फत भने भैरहवा पुगेर लुम्बिनी जान सकिन्छ ।

     

    अन्नपूर्ण बेसक्याम्प

    विश्वमै चर्चा कमाएको हिमालैहिमालले घेरिएको सानो उपत्यका हो, अन्नपूर्ण बेसक्याम्प । अहिले पनि बर्सेनि हजारौँ पर्यटक पदयात्रामार्फत अन्नपूर्ण बेसक्याम्प पुग्छन् । स्वर्ग भन्ने कतै छ भने त्यो अन्नपूर्ण आधार शिविरजस्तै हुन सक्ने हिमाल पुगेर रमाइरहेकाहरू बताउँछन् ।

    ‘हिमालैहिमालले घेरिएको, त्यसैमाथि हिउँले छपक्कै छोपिँदाको दृश्यले त्यहाँ पुग्नेहरू संसारका सबै दुःख भुलेर रमाउँछन् । एबिसीको नामले परिचित यो स्थानमा ट्रेकिङ जान सातदेखि ११ दिनसम्म लाग्ने गर्दछ । ढकमक्क फुलेका लालीगुराँसको बासना लिँदै अन्नपूर्ण बेस क्याम्प पुग्ने जो–कोही पनि मख्ख पर्ने गर्छन् ।

     

    पिके डाँडा

    पिके डाँडा नेपालको प्रदेश नं १ अन्र्तगत सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका १ (साबिकको गोली गाविस वार्ड नं ९ )मा छ । सगरमाथा क्षेत्रको तल्लो भेगअन्तर्गत पर्ने पिके डाँडा च्यवा पिके र ग्वाले पिके गरी आमनेसामनेमा रहेका छन् ।

    च्यवा पिके भने सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका– ८मा छ । पिके डाँडाको उचाइ ४ हजार ७० मिटर छ । यहाँबाट कञ्चनजंघादेखि सगरमाथा हुँदै अन्नपूर्णसम्मका हिमाल लस्करै देख्न सकिन्छ । पिके पदयात्राका लागि ८ देखि १० दिन लाग्ने गर्दछ ।

    काठमाडाैंदेखि रामेछाप जिल्लाको बाम्ती भण्डारसम्मको बस यात्रापछि सोलुखुम्बु जिल्लाको चौलाखर्क, गोल्ला हुँदै पिके डाँडा पुग्न सकिन्छ भने काठमाडाैंबाट चाहिँ सोलुखुम्बुको केरुङ पुगेर टाप्टिङ जाम्प्रे हुँदै पिके डाँडा पुग्न सकिन्छ । त्यसैगरी सोलुखुम्बु जिल्लाको फाप्लुसम्मको हवाई यात्रापछि तामाखानी लोदिङ पिके डाँडा पुगिन्छ ।

     

    हेलम्बु

    सिन्धुपाल्चोक जिल्लामा रहेको एउटा रमणीय गाविस हो हेलम्बु । सुन्दरीजलबाट थारेपाटी पुगेपछि गोसाइँकुण्ड र हेलम्बु जाने बाटो छुट्टिन्छ । देब्रे लागेमा गोसाइँकुण्ड र दाहिने लागेमा हेलम्बु । सुन्दरीजलदेखि तीन दिनको हिँडाइले थकाइ लाग्ने हुनाले सो रात थारेपाटीमै वास बस्नुपर्दछ ।

    भोलिपल्ट दाहिनेतिरको ओरालो बाटो लागेपछि हेलम्बु भेगको यात्रा सुरु हुन्छ । यहाँबाट पूर्व सिन्धुसम्मको दृश्य देख्न सकिन्छ । यो भेग घुम्नाले पूरा हेलम्बु क्षेत्रको रमणीय दृश्यावलोकन गर्न र धार्मिक–सांस्कृतिक विषयको जानकारी पाउन सकिन्छ ।

    ह्योल्मो जातिको आतिथ्य सत्कार, सरसफाइ, चिज, गुम्बा र गुजुमुज्ज घरमा फहराइरहेका झन्डा अध्ययनका विषय हुन् । हेलम्बुको स्याउ पनि निकै चर्चित छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology