डा नविन पौडेल
हालै प्रकाशित तथ्यांक अनुसार विश्वमा परावर्तनीय दोष हुने मान्छेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। तीमध्ये अधिकांशमा अदूरदृष्टि (म्योपिया) छ। अस्ट्रेलियाका वैज्ञानिकहरुले गरेको आँकलन अनुसार सन् २०५० सम्ममा विश्वका ५० प्रतिशत मानिसमा अदूरदृष्टि हुने सम्भावना छ।
बढी मात्रामा चीन, सिंगापुर, ताइवान जस्ता एसियाली देशमा अदूरदृष्टिबाट प्रभावित हुनेहरु भेटिएका छन्। यी देशमा ८० देखि ९० प्रतिशत स्कुले विद्यार्थीमा अदूरदृष्टिको समस्या पाइएकोछ। नेपालमा १० देखि २० प्रतिशत स्कुले विद्यार्थीमा अदूरदृष्टिको समस्या छ।
के हो त अदूरदृष्टि?
सामान्यतया एउटा स्वस्थ आँखामा जब प्रकाशका किरण प्रवेश गर्छन् ती किरण आँखाको विभिन्न भागबाट परावर्तित हुँदै आँखाको पर्दामा एकत्रित हुन्छन्। प्रस्ट देख्नका लागि ती किरण पर्दामै एकत्रित हुनुपर्छ, तर अदूरदृष्टि भएका आँखामा ती परिवर्तित किरण पर्दामा पुग्नु अगाडिनै एकत्रित हुन्छन्। जसरी क्यामेरामा फोकस नमिल्दा फोटो धमिलो हुन्छ त्यसैगरी आँखामा पनि ती प्रकाशका किरण पर्दामा पुग्नु अगावै एकत्रित भएका कारणले अदूरदृष्टिमा आँखा धमिलो हुन्छ।
कसरी हुन्छ अदूरदृष्टि?
अदूरदृष्टि हुनुका कारण धेरै हुन्छन्। प्रायःजसो यो समस्या आमाबाबुबाट छोराछोरीमा जान्छ जसलाई वंशाणुगत भनिन्छ। तर, हालसालैको अनुसन्धानले अदूरदृष्टि हुनुमा वातावारणीय प्रभावहरुको भूमिका रहेको पाइएको छ। आँखाको धेरै नजिक हुनेगरी कुनै काममा लामो समय बिताउनु र घरभित्रै बस्ने बच्चाहरुमा यो समस्या धेरै देखिने गरेको छ।
को छ त अदूरदृष्टि हुने जोखिममा?
यो समस्या धेरैजसो बाल्य अवस्थामै देखिन्छ। यदि, आमा-बुबामध्ये कसै एकजनालाई अथवा दुवै जनालाई अदूरदृष्टि छ भने बच्चामा यो समस्या देखिने सम्भावना प्रवल हुन्छ। त्यसैगरी, धेरै नजिकबाट मोबाइल, आइप्याड, टिभी हेर्ने , दिनभरि घरभित्रै बस्ने, बाहिरी घामको प्रकाशबाट वञ्चित हुने बालबालिका यो समस्याको जोखिममा पर्छन्।
अदूरदृष्टि कसरी थाहा पाउने?
आँखा चिम्सो पारेर हेर्ने, टिभी नजिकै बसेर हेर्ने, मोबाइल नजिक राखेर हेर्ने, आँखा धमिलो देखेँ भन्ने, पछिको बेन्चबाट ब्ल्याकबोर्डको अक्षर नदेख्रने जस्ता संकेत अदूरदृष्टिका लक्षण हुन्। यदि बच्चामा यीमध्ये कुनै लक्षण देखिएमा दृष्टि विशेषज्ञ (अप्टोमेट्रिस्ट), नेत्र विशेषज्ञ (अप्थाल्मोलोजिस्ट) सँग अथवा नजिकैको आँखा केन्द्रमा सम्पर्क गर्नुपर्छ।
कसरी गर्ने उपचार?
अदूरदृष्टिको उपचार भनेको चस्मा, कन्ट्याक्ट लेन्स र लेजर अप्रेसन हो। यी उपचारहरू उमेर, आँखाको पावर र आँखाको स्वास्थ्य अवस्था हेरेर अपनाउने गरिन्छ। सामान्यतया पहिलो उपचार भनेको ‘माइनस पावर’को चस्मा लगाउनु नै हो। त्यसपछि आँखाको स्वास्थ्य, बाहिरी वातावरण आदिका आधारमा कन्ट्याक्ट लेन्स प्रयोग वा लेजर अप्रेसन गर्न सकिन्छ।
यो समस्या बढ्दै गए आँखालाई कस्तो हानि गर्छ?
यदि, अदूरदृष्टिको समस्या सानो उमेरमा देखिएको हो भने, उमेर अनुसार यो बढ्दै जाने सम्भावना हुन्छ अर्थात् लगाउनुपर्ने माइनस पावर बढ्दै जान्छ। उमेर अनुसार छिटोछिटो पावर बढेमा यसले आँखाको पर्दामा असर ल्याउन सक्छ। जस्तैः आँखा तन्किँदै जाँदा पर्दा च्यातिनु, पर्दामा प्वाल पर्नु र पर्दाका विभिन्न भागमा दाग बस्नु आदि। पर्दामा असर परेमा आँखा धेरै धमिलो हुन्छ र अन्धोपन समेत हुन सक्छ। चस्मा लगाएर वा अरू कुनै उपायले पहिलाको जस्तो दृष्टि फर्काउन निकै कठिन पर्छ।
पावर बढ्न नदिने कुनै उपाय छ कि?
विशेष किसिमले निर्माण गरिएका चस्मा, कन्ट्याक्ट लेन्स र आँखामा राख्ने थोपाले पावर बढ्ने क्रमलाई केही हदसम्म रोक्न सक्छ। तर, यी उपाय अनुसन्धानमै छन् र अहिलेसम्म कुनै उपायले पनि पावर बढ्ने क्रमलाई पूर्ण रूपले रोक्न भने सकेका छैनन्। यी उपाय उपलब्ध नभएको खण्डमा सकेसम्म नजिकको काम कम गर्ने, घर भित्रका मोबाइल, आइप्याडभन्दा बाहिरी खेलमा ध्यान दिने गर्नुपर्छ। सबैभन्दा राम्रो भनेको यस्तो समस्या आउनै नदिनु हो।
अदूरदृष्टि आउन नदिन के छन् उपाय?
वैज्ञानिकहरुका अनुसार आँखामा घामको प्रकाशको सम्पर्कको कमी नै यो समस्याको प्रमुख कारण हो। त्यसकारण बाहिरी घामको प्रकाशसँग आफूलाई सम्पर्कमा राख्नु जरुरी छ। हालसालै गरेका अनुसन्धानका अनुसार दिनमा कम्तिमा पनि २ घन्टा (प्रत्येक हप्ता १४ घन्टा) बाहिरी प्रकाशको सम्पर्कमा आएमा अदूरदृष्टि हुने सम्भावना कम हुन्छ। यो अनुसन्धानलाई मध्यनजर गर्दै ताइवानमा सरकारले नै हरेक स्कुलमा दिनको २ घन्टा अनिवार्य बिश्राम दिने गरेको छ, जसमा विद्यार्थीलाई कोठाभन्दा बाहिर खेल्न/बस्न लगाइन्छ।
(डा पौडेल दृष्टि आँखा केन्द्रमा दृष्टि विशेषज्ञ तथा दृष्टि वैज्ञानिकका रूपमा कार्यरत छन्)
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology