• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आयोजना प्रभावित र सर्वसाधारणका लागि माथिल्लो तामाकोशीको शेयर

आयोजना प्रभावित र सर्वसाधारणका लागि माथिल्लो तामाकोशीको शेयर


समायोजन खबर
  • सोमबार, माघ २२ २०७४

  • २२ माघ।

    मुलुकको लगानीमा निर्मित अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले दुई अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।

    सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको यो आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि यो शेयर जारी गर्न लागेको हो । आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।

    माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

    श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ ।

    स्थानीय बासिन्दाले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण शेयर पाउने व्यवस्था गरिएको छ ।

    यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ ।

    स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ ।

    कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो । एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

    शेयरमा आवेदन दिन अनिवार्य रूपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना शेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

    आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।

    कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् ।

    दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ । अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ३१० र ३७० मिटर लामो दुई वटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ को काम शुरु भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको उक्त ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक प्रगति ९६ प्रतिशतको हाराहारीमा पुग्नेछ ।

    यस्तै, गाेंगरदेखि रामेछापको खिम्तीसम्म निर्माण भइरहेको प्रसारण लाइनको काम पनि युद्धस्तरमा अगाडि बढेको छ । कूल २१७ टावरमध्ये अहिलेसम्म १३० टावर निर्माण भइसकेको र अरूको पनि ‘फाउण्डेशन’ को काम सकिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

    आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ । तर बिक्री गरिएको उक्त साधारण शेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन ।

    कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology