• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेपालमा बढ्दैछ एनआरएन लगानी

नेपालमा बढ्दैछ एनआरएन लगानी


समायोजन खबर
  • मंगलबार, असोज २४ २०७४

  • काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले १२ अर्ब रुपैयाँ लगानी गरेको अस्पताल ‘नेपाल मेडिसिटी’ सञ्चालनको अन्तिम तयारीमा छ। अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न हस्पिटलमा सात सय ५० बेड छन्। जलविद्युत् परियोजनामा लगानी गरिरहेका महतो ठूलै लगानी गर्ने योजनामा छन्। महतोको करिब तीन अर्ब रुपैयाँ लगानीको पतञ्जली आयुर्वेदिक उद्योग सञ्चालनमा छ। यस्तै, माछापुच्छ्रे बैंकमा पनि उनको लगानी छ। ‘देशमा मेरै लगानी करिब ४० अर्ब रुपैयाँ पुगिसकेको हुनुपर्छ’, महतो भन्छन्, ‘१५वर्षमा एनआरनले एक खर्बभन्दा बढी लगानी गरेको हुनपर्छ।

    एनआरएनए अध्यक्ष शेष घलेको आठ अर्ब रुपैयाँको परियोजना पाँचतारे डिलक्स होटल शेराटन निर्माणाधीन छ। दुई सय २० वटा कोठा हुने होटल दुई वर्षभित्र सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ। एनआरएनएका पूर्वअध्यक्ष जिवा लामिछानेसहितले एक अर्ब रुपैयाँ लगानी गरेको होटल धुम्बाराहीमा निर्माणको अन्तिम चरणमा छ। सानिमा माई हाइड्रोपावर कम्पनीमा उनको पनि लगानी छ । सानिमा बैंक पनि एनआरएनको लगानीको हो।

    बेल्जियममा २० वर्षदेखि व्यवसाय गरिरहेका पुष्प अधिकारीको कास्कीमा ‘रूपाकोट रिसोर्ट’ सञ्चालनमा छ। ३० करोड लगानी रहेको रिसोर्टमा ४२ वटा वातानुकुलित कोठा छन्। हेलिप्याडसहितको होटल खर्चालु पर्यटक भित्र्याउने लक्ष्यसहित निर्माण गरिएको उनी बताउँछन्। ‘मातृभूमिको समृद्धिका लागि विश्वभर छरिएका नेपालीको बौद्धिक तथा आर्थिक लगानी भित्र्याउने उद्देश्यसहित एनआरएन अभियान सुरु गरिएको हो’, संघका संस्थापक अध्यक्ष महतो थप्छन्, ‘सुरुदेखि नै लगानीका लागि घच्घच्याइरहेका छौं।’

    ‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित १५ वर्षअघि एनआरएन अभियान सुरु भएपछि लगानीको अपेक्षा गरिँदै आएको छ । १५ वर्षमा एनआरएनए विश्वको ७६ राष्ट्रमा फैलिइसकेको छ । तैपनि एनआरएनले अपेक्षित लगानी नगरेको, काम कम गफ बढी दिएको भनेर देशभित्र आलोचना पनि हुने गर्छ। ‘एनआरएनले क्षमताभन्दा बढी लगानीका गफ दिएका हुन्’, पूर्वअध्यक्ष लामिछाने भन्छन्, ‘देशभित्र पनि एनआरएनको क्षमताभन्दा बढी लगानीको आश गरियो ।’ उनका अनुसार अहिले विदेश पसेको पहिलो पुस्तानै एनआरएन हो, जो आफै संघर्षरत छ । औंलामा गन्न सकिने व्यक्तिका सफलताका कथाबाहेक बाँकी एनआरएन जागिर वा सानोतिनो व्यवसायमै सीमित छन्, यसैेले ठूलो लगानीको आश उचित हुन्न । ‘तैपनि एनआरएन अभियानको १५ वर्षमा भएको लगानी उल्लेख्य मानिनु पर्छ’, उनी थप्छन्।

    रुसमा रियल स्टेट र इलेक्ट्रोनिक्स व्यवसायमा जमिरहेका वैद्यनाथ शर्माले जनकपुरमा सुविधायुक्त होटल सञ्चालनमा ल्याएका छन् । पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा २५ करोड लगानी भएको छ । एनआरएनए उपाध्यक्ष भवन भट्टको लगानीमा ४० करोड लगानीमा धुलिखेल माउन्टेन रिसोर्ट सञ्चालनमा छ । कारोबार दैनिक, युनाइटेड ब्रुअरी, बीबी एयरवेजमार्फत उल्लेख्य लगानी भिœयाइसकेका छन् । काठमाडौं–हेटौंडा सुरुङमार्गमा एक अर्ब रुपैयाँ लगानी गर्ने उनले घोषणा गरेका थिए।

    जलविद्युत् क्षेत्रमा पनि एनआरएनको आकर्षण देखिएको छ । धादिङको सुपर आँखुखोला जलविद्युत्मा युएईमा कार्यरत नेपालीले १० करोड सामूहिक लगानी गरेका छन् । २५.४ मेगावाट क्षमताको परियोजनाको कुल लागत ४ अर्ब ४४ करोड रहेको छ । सनिमा माई हाइड्रोपावर लिमिटेड एनआरएनद्वारा प्रवद्र्धित कम्पनी हो । कम्पनीले २२ मेगावाट क्षमताको माई हाइड्रोपावर कम्पनी निर्माण गरिसकेको छ । हाइड्रो क्षेत्रमा एनआरएनको संस्थागत लगानीको सुरुवात सानिमा माइले गरेको हो।

    स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्यान)का अनुसार एनआरएनको उर्जामा करिब १२ अर्ब लगानी भइसकेको छ, लगानी थपिँदैछ । २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजनामा एनआरएन इन्भेस्टमेन्ट कम्पनीमार्फत लगानी भइरहेको छ । एनआरएनको लगानी संस्थागत गर्न इन्भस्टमेन्ट कम्पनी खोलिएको हो । अघिल्लो विश्व सम्मेलनमा गठित एनआरएन इन्भेस्टमेन्ट कम्पनीमा एक अर्ब जम्मा भइसकेको छ।

    अमेरिकामा विभिन्न व्यवसायमा जमिरहेका लाक्पा शेर्पाले चितवनमा शेर्पा वियरको फ्याक्ट्री चलाइरहेका छन् । कोलोराडोमा पनि उनले शेर्पा वियर उत्पादन गर्दै आइरहेका छन् । एनआरएनको दाङको सिमेन्ट उद्योगमा पनि लगानी छ । दि ब्रिटिस कलेज, कान्तिपुर इन्जिनियरिङ कलेजलगायतमा पनि एनआरएनको लगानी छ । नेपालमा एनआरएनको लगानी बढ्दै गइरहेको संस्थापक अध्यक्ष महतोले बताए।

    आर्थिक पत्रकार समाज (सेजन) ले दुई वर्षअघि गरेको अध्ययनअनुसार नौ जिल्लामा सन २०१४ सम्म २९ अर्ब ८५ करोड रुपैयाँ लगानी भएको थियो । काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, बागलुङ, मकवानपुर, चितवन, गोरखा र सिरहामा सेजनले एनआरएनको लगानी अध्ययन गरेको थियो । रिपोर्टअनुसार सेवा, ऊर्जा, उद्योग, कृषि र घरजग्गा क्षेत्रमा लगानी गरेका छन् । सबैभन्दा बढी लगानी सेवा क्षेत्रमा देखिएको छ।

    सेजनको प्रतिवेदनअनुसार सन् २०१४ को अन्त्यसम्म भएको एनआरएनको कुल लगानीमध्ये काठमाडौं उपत्यकामा २३ अर्ब १५ करोड, बागलुङमा दुई अर्ब ९८ करोड, मकवानपुरमा एक अर्ब २० करोड, कास्कीमा एक अर्ब एक करोड, गोरखामा ८४ करोड, चितवनमा ३५ करोड र सिरहामा २३ करोड छ । मिडिया, सञ्चार, स्कुल, कलेज, कृषि फार्म, सिमेन्ट, होटल, बैंक तथा वित्तीय संस्था, जलविद्युत्, आयुर्वेदिक औषधि उद्योग, ट्राभल÷ट्रेकिङ, एयरलाइन्स, केबलकार, इन्स्सुरेन्सलगायत थुप्रै क्षेत्रमा एनआरएनको लगानी छ।

    जुनसुकै लगानीकर्ताले लगानीको सुरक्षामा चिन्ता लिएको हुन्छ । महतोका अनुसार राजनीतिक अस्थिरतामा लगानीकर्ताले जोखिम बढी देख्छ, आत्मविश्वास कम हुन्छ । ‘विदेशमा गरिएको लगानीमा नाफा बढी हुन्छ, अलि बढी कम्फर्ट पनि फिल गर्छु’, उनले भने, ‘नेपालमा गरिएको लगानीमा सन्तुष्टि बढी प्राप्त हुन्छ।’

    संविधानको कार्यान्वयन सुरु भएसँगै राजनीतिक स्थिरताको आश पैदा भएकाले लगानीको वातावरण बन्न थालेको उनी बताउँछन् । ‘एनआरएनमा पनि लगानी गर्ने उत्साह पैदा भएको पाएको छु’, उनी थप्छन्, ‘आउने दिनमा लगानीको रफ्तार बढ्नेछ ।’ बहुसंख्यक लगानीकर्ता सानो लगानी गर्ने हैसियतमा भएकाले सामूहिक लगानीमार्फत साना तथा मझौला लगानीकर्तालाई आकर्षित गर्ने काम सुरु भएको छ । साना तथा मझौला लगानी भिœयाउन पनि ठूला व्यवसायीले अवसर सिर्जना गरिदिनुपर्ने उनको तर्क छ।

    लामिछानेका अनुसार जागिरभन्दा आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने चेतना विकास गर्नमा एनआरएन अभियानको पनि भूमिका छ । उनी २००२ मा जापान पुग्दा टोकियोमा एउटा अन्नपूर्ण भन्ने नेपाली रेस्टुरेन्ट छ भन्ने सुनेपछि खोज्दै पुगेका थिए । अहिले जापानमा नेपाली मालिक रहेका चार हजार रेस्टुरेन्ट सञ्चालनमा छन्।

    एनआरएनको इकाइमा आवद्ध भएपछि उपेन्द्र महतो, शेष घले आदिका सफलताका कुरा सुन्दै गर्दा धेरैमा जागिरमै रमाएर बस्न हुन्न, व्यवसाय गर्नुपर्छ भन्ने जाँगर पलायो । केही समय काम गरी पैसा बचत गरेर व्यवसाय सुरु गर्ने लहर विश्वभरि नेपाली समुदायमा फैलिएको छ। रेस्टुरेन्टमा काम गर्दागर्दै आफ्नै रेस्टुरेन्ट खोल्ने, त्यसपछि एकपछि अर्को रेस्टुरेन्टको चेन फैलाउन उद्यत नेपाली टन्नै छन् । ‘यसको परिणाम आउन केही वर्ष कुर्नपर्छ’, उनी भन्छन्, ‘अबका दिनमा एनआरएनको लगानी बढ्दै जाने निश्चित छ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology