• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाजवादी फोरम र राजपाबीच चुनावी तालमेल

समाजवादी फोरम र राजपाबीच चुनावी तालमेल


समायोजन खबर
  • शनिबार, असोज २१ २०७४

  • काठमाडौं- प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच तालमेल हुने भएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच गठबन्धन भएको तेस्रो दिन ती दुई मधेस केन्द्रित दलबीच चुनावी सहकार्यका लागि सहमति भएको हो ।

    शुक्रबार तीनुकनेस्थित समाजवादी फोरमको कार्यालयमा भएको बैठकमा ती दुवै दलका नेताबीच प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा साझा उम्मेदवार बनाएर अघि बढ्ने सहमति भएको छ ।
    समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आपसी समझदारीका आधारमा दुवै पार्टीले साझा उम्मेदवारको रूपमा भाग लिने जनाएका छन् ।
    दुई पार्टीको सो चुनावी गठबन्धनले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग चुनावी तालमेल हुने बाटो पनि खुला गरेको छ । विज्ञप्तिमा कुनै पार्टीको नाम उल्लेख नभए पनि अरू पार्टी वा मोर्चासँग गठबन्धन या तालमेल गर्नुपरेमा संयुक्त रूपमा सहभागी हुने जनाइएको छ ।
    राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनसँग चुनावी तालेमल हुने सम्भावना रहेको बताए । वामपन्थी गठबन्धनसँग भने तालमेल हुन नसक्ने उनले प्रस्ट पारे ।  ‘लोकतान्त्रिक गठबन्धनसँग चुनावी तालमेल हुने सम्भावना छ  । तर, वामपन्थी गठबन्धनसँग भने तालेमल हुँदैन,’ महतोले भने ।
    तराई मधेसमा आधाआधा
    गठबन्धनका नेताहरूको शुक्रबार बसेको बैठकमा तराई मधेसका २० जिल्लामा दुवै पार्टीले आधाआधा उम्मेदवारी दिने सहमति भएको छ । फोरमले उम्मेदवारी दिएको ठाउँमा राजपाले सहयोग गर्ने र राजपाले उम्मेदवारी दिएको ठाउँमा समाजवादी फोरमले सहयोग गर्ने सहमति भएको हो ।
    यसैगरी दुवै पार्टीका शीर्ष नेतालाई विजयी गराउन प्रयास गर्ने सहमति पनि भएको छ । महतोले  पचास–पचास प्रतिशतका आधारमा उम्मेदवारमा भागबन्डा गर्ने सहमति भएको बताए ।
    स्रोतका अनुसार संघीय फोरम  र राजपाबीचको चुनावी गठबन्धन दुई नम्बर प्रदेश र पाँच नम्बर प्रदेशमा केन्द्रित हुनेछ । अन्य प्रदेशमा भने लोकतान्त्रिक गठबन्धनसँग तालेमल गर्ने तयारी दुई दलको छ । ‘आवश्यकता हेरेर अन्य दलसँग पनि  तालमेल हुन्छ । कुनै स्थानमा हामीसँग तालमेल गर्न अरूलाई आवश्यक पर्ला, कुनै ठाउँमा हामीलाई आवश्यक पर्छ,’ महतोले भने ।
    फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने दुई पार्टीले साझा उम्मेदवार उठाउने निर्णयमात्र भएको दाबी गरे । उनले भने, ‘यो गठबन्धन होइन, तालमेलमात्रै हो । अन्य पार्टीसँग पनि हामीले तालमेल गर्छौं ।’
    स्रोतका अनुसार दुवै दलका नेताहरू तराई मधेसका २० जिल्लामा अन्य पार्टीसँग तालमेल गर्न तयार छैनन् । दुई नम्बर प्रदेशका सबै जिल्ला र पाँच नम्बर प्रदेशका केही जिल्लामा संघीय फोरम र राजपाबीच मात्रै तालेमल गर्ने, अन्य ठाउँमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल गर्ने उनीहरूको तयारी रहेको स्रोतको भनाइ छ ।
    तराई मधेसमा समाजवादी फोरम र राजपाबीच मात्रै तालेमल भए पनि अधिकांश स्थानमा विजयी हुने ती दलका नेताहरूको बुझाइ छ । बैठकमा दुई पार्टीले एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने बारेमा पनि छलफल भएको थियो । तर, एउटै चुनाव चिह्न लिएर छलफल गर्नेमा सहमति जुट्न सकेन । उनीहरूले अलगअलग चुनाव चिह्न लिएर चुनाव लड्ने तर उम्मेदवार साझा हुने सहमति गरेका छन् । समानुपातिकमा भने दुवै पार्टीले आफ्नै किसिमबाट नाम पठाउने भएका छन् । राजपाका नेता केशव झाले दुई पार्टीको चुनावी तालमेल प्रत्यक्ष निर्वाचनका लागि मात्र भएको बताए । उनले भने, ‘यो तालमेल देशभर हुन्छ । आवश्यकता हेरेर हामीले अन्य दलसँग पनि तालमेल गर्छौ ।’
    चुनावपछि एकीकरण प्रयास
    बैठकमा दुई पार्टीबीच एकीकरण गर्ने विषयमा समेत कुराकानी भएको छ । ‘चुनावसम्म साझा उम्मेदवार बनाउँछौं । चुनावपछि दुई पार्टी एकीकरण गर्न छलफल सुरु गर्छौं,’ उनले भने ।
    पहिलो चरणको स्थानीय चुनावमा सहभागी भएपछि समाजवादी फोरमको राजपा नेपासँग सम्बन्ध बिग्रिएको थियो । राजपाका नेताहरूले समाजवादी फोरमका नेतालाई मधेसको मुद्दा बिर्सिएको आरोप लगाउँदै आएका थिए । तर, तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपा सहभागी भएपछि दुवै पार्टीबीचको सम्बन्धमा केही सुधार भएको थियो ।
    ००
    दुवै गठबन्धनसँग कुरा गर्दै संघीय फोरम
    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै गठबन्धनसँग कुराकानी अघि बढाएका छन् ।
    लोकतान्त्रिकसँग चुनावी तालमेल गर्न गठन गरिएको कार्यदलमा पार्टीबाट रामसहाय यादव खटिएका छन् । कार्यदलको शुक्रबार बसेको बैठकमा यादव सहभागी भएका थिए । यादवले वाम गठबन्धनसँग पनि कुराकानी गरेका छन् । उनले शुक्रबार नै वामपन्थी गठबन्धनसँग कुराकानी गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई खटाएका छन् ।  श्रेष्ठले शुक्रबार वामपन्थी गठबन्धनसँग चुनावी तालमेलका बारेमा कुराकानी भएको बताए । उनले भने, ‘सबैसँग कुराकानी गर्ने पार्टीको नीति नै हो । छलफल र संवाद गर्न  हामी खुला छौं ।’
    वामपन्थी गठबन्धनसँग चुनावी तालेमल गर्नेबारेमा प्रारम्भिक कुराकानी भएको उनले  बताए । श्रेष्ठले भने, ‘हामी लोकतान्त्रिक गठबन्धनसँग पनि तालेमल गर्र्न सक्छौं, वामपन्थी गठबन्धनसँग पनि तालमेल गर्न सक्छौं ।’ कुन तहका नेतासँग कुराकानी भयो भन्नेबारे उनले केही बताएनन् ।

    @nagarik

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology