(सिरहा)- सिरहाको बरियारपट्टी गाउँपालिकाको जिझौल पश्चिम टोलमा मुसहर र पासवानको घना बस्ती छ । मुसहर जातिको कूलदेव दिनाभद्रीको मन्दिर निर्माणको योजना स्थानीयले धेरै पटक गाउँपरिषद्मा पुर्याए । तर, कहिल्यै पनि गाविस बोर्डले योजनाप्रति गम्भीर भएन । जसले गर्दा मुसहर समुदायमा आक्रोश र असन्तोष छ । गाउँपालिकाका कर्मचारीसँग उनीहरूको गुनासो छ । त्यसभन्दा बढी उनीहरू नेताप्रति क्रुद्ध छन् । अहिले यो बस्तीमा भोट माग्न आउने उम्मेदवारसँग उनीहरू मन्दिर निर्माणका लागि प्रतिबद्धता खोजेका छन् ।
आर्थिक कमजोरीकै कारण अनेक प्रकारका समस्या झेल्न बाध्य छन् यहाँका बासिन्दा । यहाँका धेरैजसो महिलासँग नागरिकता छैन । नागरिकता बनाउन जाँदा हाकिमले कुनै न कुनै निहुँमा फर्काउने गरेको बस्तीका नागरिकताविहीन महिलाको भनाइ छ । स्थानीय जसो सदाय भन्छिन्, ‘हाकिमले कागज पु¥याएर ल्याउनु कि मान्छे लिएर आउनु भन्छन् । हाकिमसँग दोहोरो सम्वाद गर्न सक्दैनौं । नेतालाई गुहार्दा फुर्सद छैन भन्दै पन्छिन् ।’
काम परेका बेला नेताले मानभाउ खोज्ने तर भोटका लागि हात जोड्दै आउने गरेको उनीहरूको अनुभव छ । ‘यसपालि कुनै पनि उम्मेदवारको झुठो आश्वासनमा परेर भोट हाल्दैनौं,’ मुसहर बस्तीकी अञ्जली सदाय भन्छिन्, ‘चुनावपछि फर्केर नआउनेलाई हामी भोट दिँदैनौं ।’
बस्तीका बहुरी सदायको तेस्रो पुस्ता अनुप सदाय यसपटकको स्थानीय तह चुनावमा मतदान गर्दैछन् । बहुरी भन्छन्, ‘भोटका बेला सबै नेताले सम्झन्छन्, जितेपछि बिर्सन्छन् । हामी गरिब त भोट खसाल्ने मेसिनमात्रै भएका छौं । हाम्रो दुःख, अप्ठ्यारामा कुनै नेताले सहयोग गर्दैनन् ।’
अहिले गाउँगाउँमा चर्पी बनाउन उर्दी जारी भएको छ । चर्पी बनाउन पैसा चाहिन्छ । दुईचार सयले त चर्पी बनाउने सामान (प्यानसिट) पनि किन्न पाइँदैन । ‘तीन महिना कमाएर वर्षभरिको जोहो गर्नुपर्ने यस समुदायका ज्याला मजदुरी गर्नेले चर्पी कसरी बनाउने ?’ उनले भने, ‘चर्पीका लागि सहयोग जुटाइदिने कोही छैनन् ।’ चर्पी बनाउन सामग्री किनिदिन सहयोग गरिदिनेलाई भोट हाल्नेमा यो बस्तीमा एकमत भएको छ ।
‘हरेक चुनावमा उम्मेदवारले अई बेर हमरा देखियौ (यसपालि मलाई हेर्दिनुस्) भन्दै भोट लिएर जान्छन् तर फर्केर अनुहार देखाउन आउँदैनन्,’ बस्तीका जेष्ठ नागरिक शिवनाथ सदाय भन्छन्, ‘यसपालि उम्मेदवारलाई हेर्ने होइन, हामीले हेराउने हो ।’ उम्मेदवारको व्यक्तित्व, उनको समाजिक छवि, आर्थिक हैसियत आदि सबै आँकेरमात्रै मत खसाल्ने उनले बताए । उनले भने, ‘पहिला हामीलाई पैसा दिएर मत हाल्न लगाउँथे, यसपटक हामी नबिकिकन मताधिकार उपयोग गर्नेर्छौं ।’
उम्मेदवारको आश्वासन पूरा हुने पर्खाइमा आफ्नो दुई पुस्ताले दुनियाँ छाडिसकेको भन्दै अनुपलाल भन्छन्, ‘हामी तेस्रो पुस्ताले नेताका खोक्रो आश्वासनका भरमा मत खसाल्दैनौं ।’ जनतासँग मिल्नेभिज्ने विकासप्रेमी र इमान्दार जनप्रतिनिधिका लागि भोट खसाल्ने सोचमा छन् यहाँका मतदाता । बहुसंख्यक अपठित रहेका यो बस्तीका प्रौढ शिक्षामा लेखपढ गर्न जानेका रामचन्द्र पासवानले भने, ‘भोट माग्न आउने सबैलाई दिने नै भन्छौं तर तीमध्ये असललाई छाप हान्छौं ।’ मर्दापर्दा साथ दिनेलाई छान्ने योजनामा रहेका उनीहरूले विकास बजेटमा रजाइँ गर्ने र सार्वजनिक जग्गा हड्प्नेलाई ब्यालेटमार्फत बहिष्कार गर्ने अठोट गरेका छन् ।
बरियारपट्टी गाउँपालिकाको कचनारी टोलका लक्ष्मण यादव (६०) ले पनि उम्मेदवारका सबै पक्षको लेखाजोखा गरेर मतदान गर्ने बताए । यादव बाहुल्य यो गाउँपालिकामा कांग्रेसका बालेश्वर यादव, संघीय समाजवादी फोरमका सन्तोषकुमार महतो र एमालेका रामसोगारथ यादवबीच गाउँपालिका प्रमुखमा त्रिकोणत्मक प्रतिस्पर्धा रहेको स्थानीय बुद्धिजीवी बताउँछन् । यो गाउँपालिकामा दलित मत निर्णायक छ । यो ठाउँमा अन्ततः फोरमका महतो र कांग्रेसका यादवबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
कांग्रेसबाट रामकिशोर यादवले गाउँपालिका प्रमुखको टिकट नपाएपछि उनी र उनका समर्थक असन्तुष्ट छन् । ‘जसको फाइदा विपक्षीले उठाउने देखिन्छ,’ कांग्रेसका एक स्थानीय नेताले भने ।
@nagariknews
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology