भीमेश्वर (दोलखा), असार २९ गते । भूकम्पपछि बन्द भएका होमस्टे (घरबास) सञ्चालन नआउँदा भीमेश्वर मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकमा कमी आएको छ ।

भूकम्पले घरमा क्षति पु¥याएपछि ऐतिहासिक र धार्मिक महत्व बोकेको भीमेश्वर मन्दिरवरपर भएका ३० वटा होमस्टे सञ्चालनमा आउन सकेका छैनन् । सो मन्दिरमा शनिबार र मङ्गलबार भक्तजनको घुइँचो लाग्ने गर्दछ । बर्षेनी एक लाखभन्दा बढी व्यक्तिले दर्शन गर्ने उक्त मन्दिरवरपर बस्नका लागि पाँचवटा मात्र होटल सञ्चालनमा छन् ।
भूकम्प जानुअघि बालचतुदर्शी, भीमा एकादशी, बडादशैँ लगायतका दिनमा पाँच–सात हजार दर्शनार्थी मन्दिर दर्शनका लागि पुग्ने गरेकामा अहिले भने ती दिनमा तीन–चार हजार दर्शनार्थी दर्शका लागि आउने गरेका छन् ।
दोलखा जिल्लाकै पुरानो बस्तीका रुपमा रहेको भीमेश्वर क्षेत्र पुरानो दोलखा गाविस हो भने अहिले भीमेश्वर नगरपालिका–२ मा पर्छ । उक्त क्षेत्रमा नेवार समुदायको बाहुल्यता छ भने थामी, खड्का, तामाङ, बस्नेत र दलित समुदाय पनि बसोबास गर्छन् । “भूकम्प जानुअघि पर्यटकलाई घरमा लगेर स्थानीय स्तरमा उत्पादित खानेकुराहरु खुवाउँथ्यौँ र भोलिपल्ट मन्दिर दर्शन गरेर पठाउने गरेका थियौँ अहिले घर भत्केका कारण होमस्टे सञ्चालन गर्न सकेका छैनौँ त्यसैले पर्यटकहरु आउने क्रम घटेको छ,” स्थानीय समाजसेवी भरत प्रधान भन्नुहुन्छ ।
सदरमुकाम चरिकोटमा ठूला तथा साना २०० को हाराहारीमा होटल सञ्चालन भए पनि बालचतुदर्शी, भीमा एकादशी, बडादशैँ लगायतका चाडपर्वमा भने बस्नका लागि ठाउँ अभाव हुने गरेको छ ।
दोलखा भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका सचिव चरित्रकृष्ण जोशी असार साउनको समय थोरै दर्शनार्थी आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलेपहिले शनिबार र मङ्गलबारको पूजाका लागि शुक्रबार र सोमबारदेखि आएर होमस्टेमा बसेर भोलिपल्ट पूजाआजा गरेर जानुहुन्थ्यो अहिले एकै दिन आएर दर्शन गरेर फर्कने गरेका छन् ।”
विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले समेत यो मन्दिरलाई क्षति नपु¥याएपनि मन्दिरबाहिर रहेका भण्डार घर र जोगी बस्ने घर भने भत्किएको छ । उक्त भत्किएको घर अहिलेसम्म पुनः निर्माण हुन सकेको छैन । सचिव जोशी मन्दिरमा भत्किएको घर पुनः निर्माणका लागि तीन महिनापहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागलाई चिट्ठी पठाइसकिएको बताउनुहुन्छ ।
भीमेश्वर मन्दिर परिसरभित्र भैरब, हनुमान, उमामहेश्वर, विष्णुनारायण, विश्वरूपनारायण, बराह भगवान्, कालिञ्चोक भगवती, कृष्ण भगवान्, महाभारत कालीनचित्र, पशुपति महादेव, चुडामणिलगायत देवताहरु रहेका छन् । दोलखा ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले धनी जिल्ला हो । दोलखाभित्र गणेश, विष्णुनारायण, नारायणघाट, पशुपतिनाथ महादेव, भीमेश्वर, मातेश्वर महादेव, नाटेश्वर, भैरव, कालिञ्चोक भगवती, त्रिपुरासुन्दरी भगवती, राजकुलेश्वर तलेजु भवानी, बालकुमारी, हरिसिद्धि, मञ्जुश्री सरस्वती, बज्रयोगिनी, कालिदेवी, आर्या अवलोकितेश्वर, बुद्ध भगवान्, नितपुले देवी, चरङ्गे महादेवलगायत धेरै देवीदेवता छन् ।
भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष बिराजमान श्रेष्ठ मन्दिर नै मन्दिर रहेको जिल्ला दोलखाको भीमेश्वर मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मन्दिर परिसरभित्र रहेका मठमन्दिरको भौतिक पूर्वाधार निर्माण गरेर विश्व सम्पदा सूचीमा लैजानुपर्ने हाम्रो प्रमुख माग हो ।” स्थानीयवासीले सो मन्दिरलाई विश्व सम्पदा सूचीमा पार्नुपर्ने माग गरिरहँदा पुरातत्व विभाग भने जनताको माग राम्रो भए पनि प्रक्रिया लामो भएको कारण विश्व सम्पदा सूचीमा राख्न नसकेको बताउनुुहन्छ ।
विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराई भीमेश्वरका बारेमा विभागसँग धेरै कागजपत्र र वृत्तचित्र भए पनि प्रक्रिया लामो र जटिल भएको कारण विश्वसम्पदा सूचीमा लैजाने प्रक्रिया अगाडि बढाउन नसकेको हो भन्नुहुन्छ । कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा लैजानका लागि सम्भावित सूचीमा सूचीकृत गर्नुपर्ने विभागले जनाएको छ । रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology