खोटाङ, जेठ ११गते । धावनमार्गमाथिबाट बगेको भलले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा सदरमुकाम दिक्तेलनजिक रहेको विमानस्थल पहिरोको जोखिममा परेको हो ।
धावनमार्गमुनिबाट बनाइएको ढल थुनिएपछि धावनमार्ग हुँदै बगेको बाढीले विमानस्थलको दक्षिणी भाग भत्काएको स्थानीयवासी राजेन्द्र राईले बताउनुभयो । “ढल थुनिएपछि धावनमार्गमाथि बाटै बगेको भलले माटो कटान गरेपछि विमानस्थलको दक्षिणपट्टि पहिरो गएको छ”, उहाँले भन्नुभयो, “समयमै सम्बन्धित निकायले ध्यान नदिने हो भने, उडान नै अवरुद्ध हुने गरी ठूलो पहिरो जाने खतरा छ ।”
भलका कारण छेउबाट सुरु भएको पहिरो कालोपत्र गरिएको धावनमागको करिब दुई÷तीन मिटरनजिक पुगिसकेको स्थानीयवासीले बताएका छन् । तत्काल माटो हटाएर भललाई ढलमार्फत निकासा गर्ने व्यवस्था नगरिए विमानस्थल नै पहिरोको जोखिममा पर्ने देखिएको छ । ढल थुनिएपछि अहिले विमानस्थलमुनिबाट निकासा हुनुपर्ने भल सिधै धावनमार्ग हुँदै बाहिर जाने गरेको नेपाल एयर लायन्सका स्टेसन मेनेजर यादवसेन राईले बताउनुभयोे ।
“बाढीले पु¥याएको क्षतिका बारेमा सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “तत्काल रोकथाम नगरिए लामो समयसम्म उडान अवरुद्ध हुने सम्भावना छ ।” भल थुनिएर सुरु भएको पहिरो करिब ५० मिटर फराकिलो छ । विमानस्थल निर्माणका क्रममा माथिल्लो भाग कटान गरेर फालिएको माटोमाथि जाली भरिएका कारण पहिरो गएको स्थानीयवासीले बताएका छन् ।
विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ताले निर्माण गरेको विमानस्थल गुणस्तरहीन रहेको यसअघि नै गुनासो आएको थियो । दुई वर्षअघि मात्र कालोपत्र गरिएको विमानस्थल पहिरोको जोखिममा परेपछि जिल्लावासी चिन्तित छन् । रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology