काठमाडौँ, २२ चैत । वसन्त ऋतुको आगमनसँगै सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही यतिखेर धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।
हिमालचुली आरोहणका लागि आजसम्म ३० वटा आरोहण समूह विभिन्न मितिमा त्यसतर्फ गएको पर्यटन विभागले जनाएको छ ।
विभागबाट आरोहण अनुमति लिएर एकसाताअघिदेखि विभिन्न समूह आरोहणमा गएको र अझै आरोही आउने क्रम जारी रहेको विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकालले राससलाई जानकारी दिनुभयो ।
उहाँकाअनुसार अहिलेसम्म सगरमाथा आरोहणका लागिमात्र १७ वटा समूहका १४७ आरोही गएका छन् । त्यसैगरी अन्नपूर्ण दुई, धवलागिरि एक, मकालु एक, ल्होत्से एक, गौरीशङ्कर एक, आमा दब्लङ्कम एकलगायत समूह आरोहणका लागि गएका छन् ।
आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।
आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण सुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह अझै केही दिनसम्म आउनेछन् ।
अघिल्लो वर्षको वसन्त ऋतुको आरोहण वैशाख २९ गतेबाट सुरु भएको थियो । सगरमाथाको मात्र अघिल्लो वर्ष ४०० बढीले सफल आरोहण गरेका थिए ।
अघिल्लो मौसममा सगरमाथासहितको हिमाल आरोहणका लागि ९७ समूहका एक हजार ४६२ आरोही गएका थिए तीमध्ये सगरमाथामा मात्र ३४ वटा आरोहण समूह भएको विभागले जनाएको छ । रासस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology