• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीनपटकको खाडी यात्राले चेतेका हरि भन्छन्-पाखोमै सुन फल्ने रहेछ

तीनपटकको खाडी यात्राले चेतेका हरि भन्छन्-पाखोमै सुन फल्ने रहेछ


समायोजन खबर
  • बिहिबार, चैत्र १ २०७४

  • समायेाजन खबर ,१ चैत

    हरिबहादुर तामाङ, वर्ष ४० । परिचय: तीनपटक वैदेशिक रोजगारमा पुगेर पनि रित्तो हात। हो, एक वर्ष अघिसम्म उनको परिचय यही थियो। लाहुरे बन्ने सपना बोकेर तीनपटक खाडी पुगे उनी। तर, फर्किँदा रित्तो हात। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नवलपुरका उनले युवाअवस्था जागिर खोज्दै काठमाडौंमा घुमेरै विताए।

    २८ वर्ष लागेपछि विदेशिन बाध्य भए। पहिलोपटक पुगे साउदी। तीन वर्ष साउदी बसाईमा कमाई राम्रो भएन। गाउँमै फर्के। गाउँमा केही काम नभएपछि उही निस्क्यो अन्तिम उपाय। फेरि विदेश जाने।

    दोस्रोपटक पनि पुगे साउदी नै। अहो, त्यो यात्रा झनै फापेन। घाटा सहेरै फर्के काठमाडौं। परिवारमा आर्थिक भार थपिदै थियो। छोराछोरी कक्षा उक्लिदै थिए। त्यसपछि साथीभाईको सहयोगमा काठमाडौंकै इन्द्रचोकमा चप्पल पसल खोले।

    केही समय पसल राम्रै चलिरहेको थियो। नगरपालिकाले सडक बढाउने भएपछि उनी ठाउँ छाड्न बाध्य भए। उनी सम्झन्छन्, ‘पसल चलाउन लिएको ऋण त तिर्नु नै थियो। नेपालमा चुप लागेर बस्ने चान्स नै थिएन।’ उनी पुन विदेशिन बाध्य भए। पुगे मलेसिया।

    कुनै बेला वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्य मानिने मलेसिया उनी पुग्दा असुरक्षित बनिसकेको रहेछ। धेरैपटक लुटेराहरुको सामना गर्नुपर्यो। त्यसपछि ज्यान जोगाउन भएपनि मलेसिया छाड्ने निधो गरे। ‘उभो लागिन्छ कि भनेर तीनचोटि त विदेश गएकै हो, तर त्यो सालको ताल पनि त्यस्तो भयो,’ हरि सुस्ताए। थपिएको ऋण र परिवारको भरोसा बनेकाले केही त गर्नै पर्यो। उनी काठमाडौंमा डेरा गरी बस्थे। छोराछोरी निजी स्कुलमा भरसक पढाउँदैथिए। तीनपटकको विदेश यात्रा असफलताले छोराछोरी सरकारी स्कुलमा सरे। बसाइ गाउँमा झर्यो।

    त्यसपछि उनले दिउँसै सपना देख्न थाले, राति पनि अनिदै सपना बुन्न थाले। भने, ‘कुनै समय मैले धेरे रंगीन गलैंचाहरु बुनेको थिएँ, तर आफ्नो जीवन त्यस्तो किन बन्दैन भनेर सोच्न थाले।’ अन्तत: पाखो खेतबारीमा तरकारी खेती र बाख्रापालन गर्ने योजना बनाए तामाङले। योजना सुनाएर हारगुहार गरेपछि साथीभाईबाट सहयोग पाए। अनि पाखाकै चित्रे गोठको भित्तामा गत सालकै चैतमा झुन्डियो-थाकन पशुपालन तथा कृषि उद्योगको प्रमाणपत्र। साथी नभइ एक्लै जाँदा डर लाग्ने त्यो पाखो खेतमा सुरु भयो बास। साथमा थियो-बाख्रा र कुखुराको फार्म। गोलभेडा, काँक्रो, फर्सीले पाखो ढाक्दै थियो। ‘श्रीमतीको साथ पाए, कुखुरा/खसी किन्न ग्राहक फार्मसम्मै आउन थालेपछि अहिले कमाई थपिन थालेको छ,’ हरि भन्छन्, ‘आफ्नै पाखामा निर्धक्क काम गर्न पाउँदाको आनन्दले तीनपटक विदेशिएको पीडा विर्सदैछु।

    उनलाई यसरी गाउँमै गरीखाने खोल्ने आँट भने विदेशमै हुँदै तनहुँको साथीले दिएका रहेछन्। ‘तनहुँको साथीले नै मलाई बाख्रापालन गर्ने साहस दियो, अनि भाईहरुले पनि होस्टेहैसे गरे। सुरुमा ३ ओटा बाख्रा किनेको थिएँ, अहिले १९ ओटा माउसहित ३५ बाख्रा भएका छन्,’ खुसी हुँदै तामाङले भने ‘त्यसपछि गोलभेडाको टनेल लगाइ गोलभेडा र काँक्रो फलाए।’

    पहिलो वर्ष खर्च कटाएर बस्यो – २ लाख। ‘पाखामै यस्तो कमाई हुनेरहेछ,’ उनी भन्छन्, ‘खाडी जाँदा लागेका ऋण पनि यतैबाट तिर्न थालेको छु।’ अहिले तामाङको दैनिकी खसी, बोका, बाख्रालाई सफासुग्घर राख्नै रोग लाग्न नदिने र घाँस काट्नेदेखि कुखुराको हेरचाहमा बित्छ। यसका अलावा सिजनअनुसार तरकारी खेतीमा पनि व्यस्त छन्। गोलभेडा, काँक्रो, काउली, फर्सी फल्न थालेको छ। बजार राम्रै पाएको छ।

    ‘पहिलो वर्षमै राम्रो भयो, अहिले ३५ वटा बाख्रा, ३० ओटा कुखुरा छन, बेच्दा पनि बढिरहेकै छ,’ खुसी हुँदै तामाङले सुनाए। यही व्यवसायमा निरन्तरता दिने योजनामा छन् हरि, गाउँमै सुन फलाउने अठोट छ उनको। भन्छन्, ‘सुन गाउँमै फल्ने रहेछ, म भने चारतिर भौतरिएँ। अब यही पाखोमा पसिना बगाउने हो। गाउँमै सुन फलाउने हो।’ अहिले उनको परिचय फेरिएको छ – नाम उही हरिबहादुर तामाङ, वर्ष ४१। परिचय: पाखो खेतमै बाख्रापालन र तरकारी खेती गर्ने परिश्रमी कृषक।

    स्रेात- खबरचक्र अनलाइन

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology