समायोजन खबर खोटाङ, म्याद सकेर २९ दिन कट्दा पुलको एकवटा फाउन्डेसन नबनाउँने निर्माण कम्पनीलाई कालोसूचिमा राख्न प्रक्रिया सुरु गरिएको छ।
दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पर्ने खाल्ले र विजयखर्कस्थित दिखुवाखोलामा(ट्रष्ट ब्रिज)पुल निर्माणमा संलग्न अन्सुवी नेपाल फुलबारी पिंगला जेभी खोटाङलाई कालोसूचिमा राख्नलाई प्रक्रिया सुरु गरिएको हो।
उक्त निर्माण कम्पनीले २०८३ बैशाख २४ गतेभित्र पुल निर्माण सक्नेगरी पूर्वाधार विकास कार्यालय दिक्तेलसँग पुलको पिल्लर निर्माण र ढलानको काम दुई करोड ७० लाख २६ हजारमा २०८२ पुस २३ गते सम्झौता गरेको थियो। तर, सम्झौता म्याद सकेर २८ दिन कट्दा भौतिक प्रगती शुन्य छ।
पुल बनाउनु पर्ने सम्झौता म्याद २४ बैशाखमा सकिएको छ। निर्माण कम्पनीले एउटा फाउन्डेसनसम्म बनाउन सकेन। खाल्लेतर्फ आधाकल्चो फाउन्डेसन खनेर त्यतिकै छाडेको छ।
ट्रष्ट ब्रिजलाई आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराएको थियो। करीब दुई करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको र केही स्टिल ट्रष्ट निर्माण स्थलमा झारिएको थियो। तर, ती स्टिल ट्रष्टमा अहिले खिया लाग्न थालेको छ।
समय अवधिमै पुल बनाउन भनि निर्माण कम्पनीलाई फागुन २८ गते र चैत १९ गते पत्राचार गरिएको थियो। त्यसपछि व्यवस्थापन बैठकमा उपस्थित हुन बैशाख ३० गते पत्राचार गरिएको थियो। बैठकमा उपस्थित भएर निर्माण व्यवसायी बसन्त बुढाथोकीले काम सक्ने प्रतिवद्धता गरेका थिए। काम सक्ने प्रतिबद्धतापछि बैंक ग्यारेन्टी तान्न भनि बैशाख ७ गते प्रथम पटक कृषि विकास बैंक रामसाह पथ काठमाण्डौलाई पत्रचार गरिए पनि होल्ड गर्न आग्रह गरिएको थियो। तर, पनि काम भने शुन्य रह्यो।
काम शुन्य बनाएपछि तीनदिनभित्र बैंक ग्यारेन्टी तान्नका लागी जेठ २० गते पुनः बैंकलाई पत्राचार गरिएको छ। पुल अलपत्र पार्ने निर्माण कम्पनीले नियमअनुसार २० प्रतिशत पेश्की लगिसकेकोे थियो। बैंकले पेश्की कार्यालयको खातामा पुनः फकाईदिने र बैंक ग्यारेन्टी बापतको रकम कार्यालयको खातामा जम्मा गरिदिने पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर बिनम दाहालले बताउनुभयो।
“लगेको पेश्की सुरुमा कार्यालयको खातामा फिर्ता हुन्छ। अनि निर्माण कम्पनीको बैंक ग्यारेन्टी कार्यालयको खातामा जम्मा गरिदिन्छ त्यसपछि कालोसूचीमा राख्नका लागी पत्र लेखेर प्रकृया अघि बढाउने तयारी छ।” दाहालले भन्नुभयो।
एक आर्थिक वर्षमा सक्नेगरी बजेट भएकाले पुल नबनेपछि आयोजनाको बजेट फ्रिज हुने पक्का भएको छ। पुल नबन्दा दिक्तेलबाट खानीडाँडा आहाले हुँदै दिखुवाखोला तरेर राजापानीको पूरानो गाउँमा रहेको सगरमाथा राजमार्ग निस्कने सवारीसाधन हिउँदमा खोलाबाट जोखिम मोलेर तारिन्छ। बर्षामा आवतजावत ठप्प हुन्छ।
पुल जेठ १७ गते कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो। चालू आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय दिक्तेलले १२३ वटा आयोजना ठेक्का लगाएको थियो। निर्माण कम्पनीको चरम लापारबाहीले आर्थिक वर्ष सकिनै लाग्दा पनि केही आयोजनामा काम सुरु भएको छैन।
हालसम्म साल्मे कन्ट्रक्सन खोटाङले निर्मलीडाँडास्थित दुईचुप्ला हुँदै बुतेपाछाको साकेलाथान मुडेटोल, मात्तिम ५ बरडाँडा पलंका तावादोभान टुकुरेदोभान हुँदै दिखुवादोभान सडक स्तरोन्नती र खोक्चीलिपा–साल्मे–आरडिटी जेभी खोटाङले दिक्तेल अस्पतालचोकदेखी साप्सुखोला सडक कालोपत्रेको काम सुरु गरेको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology