• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खेलकुद महोत्सव, साझा संगम

खेलकुद महोत्सव, साझा संगम


समायोजन खबर
  • शनिबार, जेष्ठ २ २०८३

  • तीर्थराज भट्टराई,

    “युवाको सपना, संस्कृतिको शान, खेलकुद महोत्सव हाम्रो पहिचान ।”

    नेपालका गाउँबस्तीमा युवाको ऊर्जा, संस्कृतिको सम्मान, खेलकुदको उत्साह, साहित्यिक सिर्जना र पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राख्दै २०८३ साल जेठ ३ गतेदेखि ९ गतेसम्म दिक्तेलमा “तेस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३” आयोजना हुँदैछ। यस्ता महोत्सवहरूले समाजमा एकता, सिर्जनशीलता र परिवर्तनको आधार निर्माण गर्छन्। वर्तमान समयमा युवामा देखिएको बेरोजगारी, निराशा र वैदेशिक पलायनको सोचमा रहेकालाई यस्ता कार्यक्रमहरू आशा र सकारात्मक सोचको विकास गर्ने महत्त्वपूर्ण माध्यम बन्न सक्छन्।

    पूर्वी पहाडको रमणीय खोटाङ जिल्लाको दिक्तेलबजार महोत्सवको पूर्वसन्ध्यामा उत्साह र तयारीले रंगिएको छ। धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण यो जिल्ला आज खेलकुद, साहित्य, कला र पर्यटनको साँझा केन्द्रका रूपमा विकसित हुँदै गएको छ। त्रिधार्मिक आस्थाको केन्द्र हलेसी र दिक्तेल क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूले जिल्लाको पहिचानलाई अझ सुदृढ बनाएका छन्।

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी राष्ट्रिय खेलाडी सन्जयकुमार राईको नेतृत्वमा आयोजना हुन लागेको यो महोत्सव केवल खेलकुद प्रतियोगिता मात्र नभई प्रतिभा पहिचान, सामाजिक जागरण र सांस्कृतिक पुनर्जागरणको अभियान पनि हो। सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा युवालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने उद्देश्यसहित उनी र उनका सहयात्रीहरू मिलन कसजु, सुमन राई, मोतिचन्द्र राई लगायतको सक्रियता उल्लेखनीय रहेको छ।

    अनुशासन र स्वास्थ्यको आधार
    खेलकुद जीवनको अनुशासन, धैर्यता र आत्मविश्वास सिकाउने महत्वपूर्ण माध्यम हो। यसले व्यक्तिमा सहकार्य, संघर्षशीलता र जिम्मेवारीको भावना विकास गर्छ। मैदानमा सिकेको अनुशासनले जीवनका चुनौतीपूर्ण परिस्थितिहरू सामना गर्ने क्षमताको विकास गर्छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार नियमित खेल्दा खेलकुदले मुटुरोग, मधुमेह, मानसिक तनाव र मोटोपनाको जोखिम घटाउँछ। प्रविधिमा अत्याधिक निर्भर हुँदै गएको आजको युवा पुस्ताका लागि खेलकुद शारीरिक तथा मानसिक सन्तुलन कायम गर्ने प्रभावकारी उपाय हो। नेपालमा बढ्दो लागुऔषध दुव्र्यसन, हिंसा र निराशा चुलिएको समय खेलकुदले सकारात्मक जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    विद्यालय तथा ग्रामीण क्षेत्रका प्रतिभावान युवाका लागि यस्ता सम्मेलन र महोत्सवहरू अवसर र प्रेरणाको महत्वपूर्ण बनेका छन्। ओझेलमा परेका प्रतिभालाई उजागर गर्दै भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने सम्भावना बढेर जाने विश्वास गरिएको छ।

    संस्कृति र साहित्यको संगम
    खोटाङको पहिचान यहाँको मौलिक संस्कृति, लोकभाका, भाषा, साहित्य र संगीतमा आधारित छ। महोत्सवले यी सबै पक्षहरूको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।
    आधुनिकताको प्रभावले लोपोन्मुख बन्दै गएका लोकसंस्कृति, गीत, नृत्य र परम्पराहरूलाई यस्ता कार्यक्रमहरूले पुनर्जीवन दिन्छन्। साहित्यको भावना र खेलकुदको ऊर्जा एउटै मञ्चमा विरलै भेटिन्छ। यसले समाजमा उर्जा, सकारात्मक सोच र सांस्कृतिक जागरण पैदा गराउँछ। “मौलिक संस्कृति बाँच्यो भने मात्रै रैथाने पहिचान बाँच्छ” भन्ने मान्यता आजको पुस्ताका लागि झन् महत्वपूर्ण क्षण हो। साहित्यले चेतना दिन्छ भने संस्कृतिले समाजको आत्म पहिचानलाई जीवन्त बनाउँन मद्दत गर्छ।

    पर्यापर्यटन र वातावरण संरक्षण
    हलेसी क्षेत्र धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। यी र यस्ता महोत्सवहरूले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै स्थानीय अर्थतन्त्रलाई मजवुत बनाउने काम गर्छ। होटल व्यवसाय, स्थानीय उत्पादन, यातायात र हस्तकलाको विकासले प्रत्यक्ष लाभ पाउने अवसर सिर्जना हुन्छ। पर्यावरणमैत्री पर्यटनको अवधारणाले दिगो विकासलाई टेवा पु¥याउँनेमा दुई मत छैन।

    यस्ता महोत्सवमा फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग, ध्वनि प्रदूषण र अव्यवस्थित गतिविधिहरूले वातावरणमा नकारात्मक असर पार्न सक्छन्। त्यसैले स्वच्छता, अनुशासन र वातावरणमैत्री व्यवस्थापनलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। संयुक्त राष्ट्रसंघले खेलकुदलाई “शान्ति, स्वास्थ्य र दिगो विकासको माध्यम” भनेको सन्देशलाई व्यवहारमा उतार्न आयोजकले महत्वपूर्ण भूमिका खेल्नुपर्छ।

    युवाको ऊर्जा र सम्भावना
    हाम्रो जिल्ला खोटाङका धेरै युवा अवसरको खोजीमा विदेशिन बाध्य भएका छन्। तर खेलकुद, कला, साहित्य, संगीत र पर्यटनमार्फत गाउँमै सम्भावनाको ढोका खोल्न सकिन्छ भन्ने सन्देश यो महोत्सवले दिन खोजेको छ। सन्जयकुमार राईजस्ता युवाको नेतृत्वले समाजमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। खेलाडीले केवल पदक मात्र होइन अनुशासन, मेहनत र सकारात्मक सोचको मार्ग देखाउँनेछ। स्थानीय सरकार, समुदाय र युवाबीचको सहकार्यमा आयोजना गरिएको यो महोत्सव सामाजिक एकता, सहकार्य र सामूहिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण बन्न सफल हुनेछ।

    निष्कर्ष
    “तेस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३” महोत्सब मात्रै होइन आशा, भरोसा, सम्भावना र सिर्जनशील समाज निर्माणको अभियान पनि हो। खेलकुदले स्वास्थ्य र साहित्यले चेतना दिन्छ भने संस्कृतिले हाम्रो जिल्ला खोटाङको वहुआयामिक पहिचान जोगाउँछ। समाजले युवालाई अवसर, मञ्च र सम्मान दियो भने मात्रै परिवर्तन संम्भव हुन्छ। यही विश्वास र भरोसाकासाथ आयोजना हुने यो वृहत् खोटाङ हलेसी खेलकुद, साहित्य तथा पर्यटन महोत्सवको भव्य सफलताको हार्दिक शुभकामना। यो महोत्सवले खोटाङ मात्र होइन सम्पूर्ण देशमा सकारात्मक ऊर्जा फैलाउने अपेक्षा गरिएको छ।

    “संस्कृतिको शान, पर्यटनको सम्मान, हलेसी महोत्सव खोटाङको पहिचान ।” स्तम्भकार दिक्तेल रूपाकेट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology