समायोजन खबर पौष/१६ काठमाडौं,
एक समय थियो रेडियोमा आउने कार्यक्रमकै लागि गाउँघरमा सबैकाम सकेर कुरेर बस्ने गरिन्थ्यो । धेरै रेडियो कार्यक्रमले श्रोतालाई घण्टौंसम्म बाधेर राख्ने गर्थो तर अहिले त्यो समय रहेन । रेडियो सुन्ने श्रोता पछिल्लो समय निकै कम छन् । प्रविधिको विकाससँगै अनलाइन रेडियो, टेलिभिजन तथा न्यूज पोर्टलका कारण रेडियोको क्रेज घट्दै गएको पाइन्छ ।
नेपालमा अहिले पनि सयौं रेडियो सञ्चालनमा छन् तर तीमध्ये राष्ट्रियस्तरका केही रेडियोहरूका केही कार्यक्रम अझै लोकप्रिय छन् । फरक शैली र प्रस्तुतीका कार्यक्रमले मात्र पछिल्लो समय श्रोता तान्न सकेका छन् नत्र भने सबैजसो कार्यक्रम ओझेलमै परेको पाइन्छ । यसैबीच विगत ६ वर्षदेखि रेडियोमा साहित्य विधालाई जोड दिँदै आएको कार्यक्रम हो ‘बहकिने मन’ । श्रोताको फोन लिने र मुक्तक भन्न लगाउने र श्रोताकै मुक्तकको उत्तर फर्काउने कार्यक्रम ‘बहकिने मन’ फरक शैली भएकै कारण आज पनि उत्तिकै चर्चामा छ । सबैभन्दा धेरै रेडियोमा एकसाथ प्रसारण हुने रेडियो कार्यक्रममा ‘बहकिने मन’ पर्छ ।
राजधानीमा रेडियो नेटवर्क थाहा सञ्चारबाट हरेक सोमबार राति बीबीसी लण्डनको नेपाली सेवापछि प्रसारण हुने यो कार्यक्रम अहिले पनि नेपालका १ सय २० भन्दा बढी रेडियोमा एकसाथ प्रसारण हुने गर्छन् ।
लोकप्रिय कार्यक्रमका प्रस्तोता हुन् महावीर विश्वकर्मा । आजभन्दा १२ वर्षअघिबाट रेडियोमा बोल्न यात्रा सुरु गरेका महावीरले यो यही साहित्यिक कार्यक्रमबाट नाम कमाए । विशेषतः उनले कार्यक्रममा उठाउने साहित्यिक कुरा र लाइभ मुक्तकको जवाफ फर्काउने शैलीलाई श्रोताले रुचाएको पाइन्छ । आफ्नो कार्यक्रम आफूले सोचेभन्दा बढी लोकप्रिय भएको देख्दा अहिले उनी दंग छन्, साथै कार्यक्रमलाई अझै कसरी राम्रो बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छन् । यसैबीच उनै प्रस्तोता महावीर विश्वकर्मा केही दिन अघिमात्रै राजधानीको अनामनगरको एक क्याफेमा भेटिए । धेरैसमय रेडियोको स्टुडियोमै विताउने महावीरले अनामनगरको क्याफेमा कफी पिउँदै गर्दाको समयभित्र आफ्नो रेडियोको यात्रा र ‘बहकिने मन’ सँग जोडिएका केही कुरा प्रस्तुत गरिएको छ ।
‘बहकिने मन’ को यात्रा कहिले, कहाँबाट सुरु भयो थोरै पृष्ठभूमि बताइदिनुस् न
विसं २०६२ सालमा चितवनको कालिका एफएमबाट मैले ‘बहकिने मन’ को पहिलो भाग सुरुवात गरेको थिए । साहित्य विधालाई उठाएर कार्यक्रम चलाउँछु भन्ने लाग्यो । त्यो समयमा म कालिका एफएममा समाचार वाचकको रूपमा थिए । साथै अन्य शिक्षा तथा कृषिसम्बन्धी कार्यक्रम पनि चलाउने गर्थे ।
साहित्यिक कार्यक्रमका लागि ‘बहकिने मन’ नै ठीक छ भन्ने कसरी लाग्यो ?
मैले चितवनमै रेडियोमा कार्यक्रम चलाउँदै गर्दा साथीहरूसँग एउटा फरक कार्यक्रम गर्न लाग्यो, के गर्ने त भन्दै गर्दा साहित्यिक कार्यक्रम चलाउने भन्ने निर्णयमा पुग्यौं । अब नाममा आएर सबैजना बहस गर्न थाल्यौं कस्तो नाम श्रोताको मनमा बस्न सक्छ होला त भनेर धेरै छलफल ग¥यौं । रेडियोमा आउने प्रेरणा मलाई पत्रकार महासंघ चितवनकै कृष्ण गिरि सरले दिनुभएको हो । उहाँसँगकै छलफलमा हामीले केही नाम जुरायौं । मैले कार्यक्रमको नाममा मन जोड्नुपर्ने भन्ने भयो र मैले धेरे सोच्दै गर्दा ‘बहकिन्छ मन’ र ‘बहकाउने मन’ राख्छु भन्ने भयो र दुईमा एक फाइनल गरौं भनेर ‘बहकिने मन’ राख्ने निर्णय ग¥यौं ।
रेडियोमा लाइभ मुक्तकको जवाफ फर्काउने काम त्यति सजिलो छैन, कसरी गर्नुहुन्छ ?
मैले चितवनमै यो कार्यक्रम चलाउँदा सुरुवातका दिनहरूमा डायरीमा अलिक धेरे मुक्तक लेखेर लैजान्थेँ । श्रोताको मुक्तक सुनेपछि त्यहीअनुसार कुन मिल्छ अनि त्यो हेरेर पढ्ने गर्थे । श्रोताले प्रेमसम्बन्धी मुक्तक भने विस्तारै डायरीको पाना पल्टाउने गरिन्थ्यो । तर एकदिन कार्यक्रम सुरु हुनेबेला भइसक्यो मुक्तक लेखेको डायरी छुटेछ । यता कार्यक्रम सुरु भइसक्यो तर डायरी अगाडि छैन । अनि मैले नै आज डायरी नहेरी प्रयास गर्छु, कि राम्रो अभ्यास हुन्छ कि बेइज्जत हुन्छ भनेर जोखिम नै लिएर कार्यक्रम सुरु गरेँ, गर्छु भनेर आँटेपछि सकिँदो रहेछ । एक÷दुई भाग गर्दै गएपछि अभ्यास हुन थाल्यो । त्यसपछि त आजभोलि त्यस्तो गाह्रो लाग्दैन ।
तपाईंको कार्यक्रम पूर्णतया युवा केन्द्रित छ । विशेषतः माया प्रेममा परेका र विछोड भएकाले अझ बढी सुन्छन् होला, मायाप्रेममा परेकाहरूले त खुशी हुन्छन् होला तर विछोडमा परेकाहरूको आँशुसमेत झछ जस्तो लाग्छ, कत्तिको विचार गर्नुभएको छ ?
एकदम विचार गर्छु मैले । मलाई श्रोताहरूले प्रत्यक्ष भेटेर अथवा फोनबाट पनि भन्ने गर्नुहुन्छ । विशेषगरी मेरो कार्यक्रम युवा केन्द्रित नै हो । अझ कार्यक्रममा मायाप्रेमका कुरा हुने हुँदा धेरैले चाँसोका साथ सुन्ने गर्नुहुन्छ । मेरो कार्यक्रमको उद्देश्य कसैलाई रुवाउनेभन्दा पनि दुःखमा परेकालाई जीवन बाँच्न प्रेरणा दिने कार्यक्रम बनोस् भन्ने हो । त्यसैले पछिल्लो समय मैले कार्यक्रममा एकोहोरो रुवाउने खालका साहित्यिक शब्दभन्दा पनि प्रेरणादायी कुरा बढी गर्ने गर्छु ।
पछिल्लो समय रेडियोमा फोन नै गरेर सहभागी हुने श्रोता घट्दै गएको पाइन्छ, तपार्इंको कार्यक्रममा पनि असर परेको होला, प्रविधिसँग कत्तिको अपडेट हुनुहुन्छ ?
अँ… यो कुरा चाँही हुँदो रहेछ । प्रविधिसँग अपडेट हुँदै जानुपर्ने रहेछ । यो कार्यक्रममा फोन त अहिलेपनि पहिलाको जस्तै आउने गर्छन् कमी त भएको छैन तर पनि फोनबाट मात्रै मुक्तक लिने गर्दा जो देश बाहिरबाट हामीलाई अनलाइनमा सुन्ने गर्नुहुन्छ उहाँहरूले कार्यक्रमको समयमै फोन गर्न असहज हुने हुँदा मैले सामाजिक सञ्जाल फेसबुकमा ‘बहकिने मन’ कै अफिसियल फेसबुक पेजमा प्रत्येक साता मुक्तक राख्नुस भनेर स्टाटस हालेको हुन्छु र त्यहाँ राखिएका मध्ये आठ मुक्तक लिने गर्छु । साथै पछिल्लो समय त युट्युवमा पनि मुक्तक प्रतिस्पर्धा कार्यक्रम ल्याएको छु जसमा पनि सयौं मुक्तक आउने गर्छन् त्यसबाट उत्कृष्ट केही मुक्तकलाई वाचन गर्ने गरेको छु ।
कार्यक्रममा हरेक साता मायाप्रेमसँग सम्बन्धित प्रश्न सोध्ने गर्नुहुन्छ । लामो समय हुँदा प्रश्न दोहोरिने गर्छन् कि नाइ ?
कार्यक्रमको फर्मेट नै यस्तै छ । मुक्तक सुन्नुभन्दा अघि एउटा प्रश्न हुन्छ जसमा आफ्नो धारणा राख्नुपर्ने हुन्छ । हरेक साता प्रश्न बनाउने क्रममा यो साता के प्रश्न बनाउने होला भन्ने हुन्छ । तर समय परिवर्तनसँगै मानव जीवनमा पनि धेरै परिवर्तन आएको हुन्छ । त्यसैले समयानुसार प्रश्न उब्जिने गर्छन् । अहिलेसम्म दोहोरिएका छैनन् ।
तपाईंको आवाज सुनेर अनुमान गर्दा र प्रत्यक्ष हेर्दा धेरै फरक देखिनु हुन्छ । श्रोतासँग प्रत्यक्ष भेटेर यस विषयमा कुरा गर्नुभएको छ ?
मलाई धेरैले भेट्न खोज्नुहुन्छ । फेरि म बाहिर त्यतिधेरै बोल्ने मान्छेमा पनि पर्दिन । कतिपय श्रोताले सामाजिक सञ्जालतिर देखेको भरमा बाटोमा हिँड्दै गर्दा पनि चिन्नुहुन्छ । कतिले फोनगरेर भेट्न खोज्नुहुन्छ र भेटेको पनि छु । धेरैले रेडियोमा आवाज सुन्दा उमेर ढल्केको मान्छे होला भन्ने अनुमान गर्नुहुँदो रहेछ । तपार्इं त भर्खरको हुनुहुँदो रहेछ सोचेभन्दा फरक हुनुहुँदो रहेछ भन्ने खालको कुरा गर्नुहुन्छ ।
अन्त्यमा, ‘बहकिने मन’लाई अब नयाँ शैलीमा लैजाने केही योजना छन् कि ?
त्यस्तो पूरै परिवर्तन गरेर लैजाने नयाँ शैली त छैन । यो कार्यक्रमको लाइभ मुक्तक को जवाफ फर्काउने र प्रश्न सोध्ने यथावत् नै रहन्छ र पछि समयानुसार केही परिवर्तन गर्नुपरेमा समय र श्रोताको मागले बताउँछ । साभार : हिमालय टाईम्स
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology