समायोजन खबर खोटाङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ। प्रदेश–१ का आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग देउवाले आफू आगामी महाधिवेशनमा उम्मेदवार बन्ने विचार गरेको भन्दै, सुझाव माग्नुभएको हो।
‘संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ। म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो। तीन तहको निर्वाचन गराएँ। हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेता मीन विश्वकर्माले बताउनुभयो, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलार्ई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु।’
देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको उहाँले बताउनुभयो। ‘सभापतिज्यूले पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन । अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउँछु भन्नुभयो,’ विश्वकर्माले भन्नुभयो।
मुलुकको संकटकालीन अवस्थामा मैले पार्टीको नेतृत्व छोड्दा म असफल भएर बीचमै छाडेको देखिन्छ’ देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भन्नुभयोे, ‘पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्रलाई संस्थागत गरी अर्कोपटक नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुन्छ भन्ने मैले महसुस गरेँ।’
‘अब अधिवेशन गर्नुको विकल्प छैन। संविधानतः हामीले महाधिवेशन गर्नैपर्छ । कठिनाइका बाबजुद पनि महाधिवेशन गर्नैपर्छ, यसको तयारीमा लाग्नुहोस्,’ देउवाको भनाइ थियो।
देउवानिकट केन्द्रीय सदस्यहरूले पनि विधानले दुई कार्यकालको सुविधा दिएकाले कुनै गम्भीर प्रकृतिको अवस्था नआएसम्म सभापतिको दाबी नछोड्न सुझाएका थिए । विपक्षी खेमामा धेरै प्रतिस्पर्धी देखिनुले सभापतिमा दोहोरिने परिस्थिति सहजै बन्ने छलफलको निष्कर्ष थियो ।
विश्वकर्माले भन्नुभयोे, ‘तपाईं जत्तिको राष्ट्रिय व्यक्ति पार्टीमा देखिएको छैन, पार्टीलाई सशक्त बनाउने र राष्ट्रिय राजनीतिलाई ठीक बाटोमा लैजाने दायित्व छ भनेर सुझाव दियौँ ।’ विश्वकर्माका अनुसार देउवाले आफ्नो उम्मेदवारीबारे कुरा राख्दा छलफलमा सहभागी सबैले सकारात्मक र स्वागत गरेका थिए ।
बिहीबार शुक्रबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ १६–१९ महाधिवेशनको कार्यतालिका पारित भएपछि देउवा आन्तरिक छलफलमा जुट्नुभएको हो । देउवाले १३ औं महाधिवेशनपछि कांग्रेसमा आउनुभएका विजयकुमार गच्छदार र सुनिल थापा समूहको समस्याबारे पनि चासो राखेको विश्वकर्माले बताउनुभयो । केन्द्रीय सदस्यहरूसँग देउवाले जिल्ला–जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो ।
देउवाले अब आफू महाधिवेशनको मैदानमा उत्रिएको सन्देश दिने गरी छलफललाई अगाडि बढाउनुभएको हो । उहाँले एक दिनमा दुईवटा प्रदेशमा आफूनिकट नेतासँग आन्तरिक छलफलको नीति लिनुभएको छ । छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा। डिला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology