काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राजनीति जातीय आधारमा नभई वैचारिक आधारमा हुनुपर्ने बताएका छन् । उनले यो कुरा काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांकेटमा मंगलबार बसेको ससफो नेपालको ३ नं प्रदेशको बैठकमा प्रमुख अतिथिको आशनबाट ब्यक्त गरेका हुन् । उनले भने ‘पार्टी जैविक आधारमा बन्दैन, वैचारिक आधारमा बन्छ । ससफोको बैचारिक आधार सङ्घीय समाजवाद हो ।’
पार्टीका ३ नं प्रदेशका इन्चार्ज आङ्देण्दी शेर्पाको अध्यक्षतामा भएको उक्त बैठकबाट सर्वसम्मत रूपमा प्रदेश अध्यक्षमा लालबहादुर तामाङ चयन गरिएको छ । पार्टीको केन्द्रीय सदस्य तामाङ यस अघि नेवाः प्रदेशको सहइन्चार्ज तथा केन्द्रीय संगठन विभागका सदस्य थिए ।
पार्टी केन्द्रीय समितिको सातौँ बैठकले पार्टीको प्रथम राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने निर्णय गर्नुका साथै देशैभर प्रदेशस्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेपछि उक्त निर्णयको प्रभावले प्रदेश नं ३ को नेतृत्व सर्वसम्मत रूपमा चयन भएको हो ।
ससफो प्रदेश नं ३ को प्रदेशस्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम यहि पुरा ९ र १० गते खुसिबुँस्थित नेपाः ब्यान्क्वेटमा हुने भएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकहरूका रूपमा पार्टीका अध्यक्ष, वरिष्ठ नेता र सहअध्यक्ष तीनजनै उपस्थिति हुने बताइएको छ ।
सहइन्चार्ज कृष्णवहादर घःजुले सञ्चालन तथा अर्का सहइन्चार्ज सुनी लामाले स्वागत गरेको उक्त पहिलो बैठकमा विशेष अतिथिको रूपमा पार्टीका राजनीतिक समितिका सदस्य नवराज दाहालको पनि उपस्थिति रहेको थियो । बैठकमा सहअध्यक्ष श्रेष्ठले नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई सामुहिक रूपमा शपथ ग्रहण गराए ।
बैठकपछि इन्चार्ज शेर्पाले अध्यक्षका अन्य आकांक्षीहरूले तामाङलाई नेतृत्वका लागि छोड्न तयार भएपछि सहमति जुटेको बताए । उनले भने ‘प्रदेश नं ३ को अध्यक्षको टुंगो लागिसक्यो, अब अध्यक्षको प्रस्तावमा जाति, क्षेत्र, लिंग सबै मिलाएर समावेशी आधारमा प्रदेशका पदाधिकारीहरू चयन गर्ने प्रक्रिया अघि बढ्छ ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology