समायोजन खबर विराटनगर,
प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बाढी र पहिरोबाट उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि आज हेलिकप्टरबाट खाद्य सामग्री उदयपुरतर्फ पठाउनुभएको छ । बाढी पहिरोका कारण सडक सम्पर्क टुटेकाले स्थानीय जनताको भोकभोकै बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न उदयपुरको लिम्चुङवुङ र ताप्ली गाउँपालिकामा हेलिकप्टरबाट खाद्य सामग्री पाठाएको उहाँले बताउनुभयो ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री कार्कीको अध्यक्षमा हिजो बसेको बैठकले ती गाउँपालिकामा एक हप्ताका लागि पुग्ने आठ हजार १० केजी चामल, १९५० केजी रहर दाल, ५०० लिटर तेल र ५०० केजी नून पठाउने निर्णय गरेको थियो । सोही निर्णयानुसार मन्त्री कार्कीले आज विराटनगर विमानस्थलबाट पहिलो चरणमा दुई हजार १० केजी चामल, १८० केजी रहर दाल, १२० लिटर खानेतेल र १५० केजी नून उदयपुरको ताप्ली गाउँपालिकाको रुपाटारका लागि हेलिकप्टरमार्फत खाद्यान्न पठाउनुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उक्त क्षेत्रमा खाद्यान्न पठाइएको हो । उक्त दुई गाउँपालिकाको अनुरोध र सङ्घीय सरकारको सहकार्यमा प्रदेश सरकारले नेपाल खाद्य संस्थानमार्फत उक्त सहयोग पठाइएको मन्त्रीले कार्कीले बताउनुभयो । उहाँले बाढीपहिरोले त्यस गाउँपालिकामा पुग्ने सडक सम्पर्क टुटेकाले तत्काल खाद्यान्न सङ्कट समाधानका लागि एक हप्ताको निम्ति राहत खाद्यान्न पठाएको बताउनुभयो । उहाँले स्थानीय तह, सङ्घीय सरकार र प्रदेश सरकारको सहयोग अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
लिम्चुङबु गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले १४ हजार जनसङ्ख्या रहेको गाउँपालिकामा सडक सम्पर्क टुटेकाले खाद्यान्न सङ्कट उत्पन्न भएको र यसको समाधानका लागि प्रदेश सरकारलाई अनुरोध गरेको बताउनुभयो । उहाँले उक्त गाविस ५०० परिवार विस्थापित, ३०० घर भत्केको र ४०० जना बाढीपहिरोबाट प्रभावित भएको जानकारी दिनुभयो । उहाँले उदयपुरको गाईघाटबाट मुर्कुची, हेलेसी, फोक्सीङ्टार, बलम्ता र वराह सडकको सम्पर्क गाउँपालिकाबाट टुटेको छ भने कटारीबाट बेतैनी, इनामी र बराह सडकमा यातायात सञ्चालन हुन नसक्ने भएको छ । गाईघाटबाट उक्त गाउँपालिका पुग्न ७५ किलोमिटर छ भने कटारीबाट ९५ किलोमिटर छ ।
२०७६ साउन ९ गते साँझ ६ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology