समायोजन खबर ओखलढुंगा,
ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. २ ठूलाछापमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् । जंगलबाट सुरु भएको आगो नियन्त्रण गर्न नसक्दा ठूलाछापको चुहानछाप गाउँमा पसेको स्थानीय नागरिकले बताए । आगलागीमा नरेन्द्र कार्की, प्रेम कार्की, ढकबहादुर कार्की, सत्यवती कार्की, गोविन्द खड्का र ढुलबहादुर कार्कीको घर तथा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । त्यस्तै शमशेर बहादुर कार्कीको मतान जलेको प्रहरीले जनाएको छ ।
गोविन्द खड्काको निजी वनबाट सुरु भएको आगो निभाउन नसक्दा बस्तीमा पसेको हो । आगो निभाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगरपालिकाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो । उहाँले आगो निभाउन पानी नहुँदा समस्या आएको पनि बताउनुभयो । आगो निभाउनका लागि दमकल पठाइए पनि बाटो साँगुरो भएकाले समयमै पुग्न नसकेको न्यौपानेको भनाइ छ । खाद्यान्न, त्रिपाल, पानीलगायतका वस्तु समेत पीडितहरुलाई उपलब्ध गराउन पहल भइरहेको प्रहरीले जनाएको छ । घर जलिसकेपछि आगो निभाइएको छ । घटनास्थल सदरमुकामबाट टाढा भएकाले सुरक्षाकर्मी पुग्न ढिलाइ भएको थियो । आगलागीबाट ६ परिवारका घरसहित सम्पूर्ण धनमाल नष्ट भएको स्थानीय गेजराज श्रेष्ठले जानकारी दिनुभयो । क्षतिको एकिन नभएपनि ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
त्यस्तै मोलुङ गाउँपालिका वडा नंं ७ र ८ मा रहेको सरकारी वनमा फैलिएको आगलागी अझै निभाउन सकिएको छैन । तीनदिनदेखि सुरु भएको आगोले सयौं हेक्टर सरकारी, सामुदायिक र निजी वन सखाप भएको मोलुङ गाउँपालिका वडा नं. ७ वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो ।
२०७५ फागुन २८ गते अपरान्ह ५ : ३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology