जुलाइ ४ ,टोकियो ।
राजधानी टोकियोमा यही जुलाई ७ तारिख शनिवार हुन लागेको कन्सर्टको लागि नेपथ्य व्याण्डका कलाकारहरु जापान आईपुगेका छन् ।
बुधवार बिहान नारिता बिमानस्थलमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङ सहितका कलाकारहरुलाई आयोजक गोरेटो प्रोडक्सनका सदस्यहरुले भव्य स्वागत गरेका छन् ।
नेपथ्य व्याण्डको भव्य कन्सर्टको तयारी र व्यवस्थापन सकिएको जानकारी आयोजक संस्था गोरेटो प्रोडक्सनका सदस्यहरुले दिएका छन् ।
कन्सर्ट आगामी २३ असार अर्थात् आगामी शनिवार जुलाई ७ तारिखका दिन राजधानी टोकियोको सुईदोउबासी स्थित टोकियो डोममा रहेको टोकियो डोम सिटि हलमा हुँदैछ ।
नेपथ्यको जापान यात्रा र भव्य कन्सर्ट तयारी
नेपालको लोकप्रिय सांगितिक व्याण्ड र व्यक्तिगत रुपमा समेत सबै उमेर समुहका नेपालीमाझ रुचाईएका गायक हुन् अमृत गुरुङ ।
उनै गायक गुरुङ तीन बर्षपछि आफ्ना व्याण्डका अन्य नौ जना सदस्यहरु सहित जापानमा कन्सर्ट गर्न बुधवार आईपुगेका छन् । यसअघि नेपथ्यले नेपालमा बिनाशकारी भूकम्प गएको केही समय पछि मात्र टोकियोको कामदास्थित एप्रिकोट हलमा भव्य कन्सर्ट आयोजना गरेको थियो ।
भूकम्पको आहतमा मनोरञ्जन भन्दा बेदना र संवेदनाका गीतले जापानमा रहेका नेपालीहरुलाई एकढिक्का बनाएर कन्सर्टबाट उठेको रकम समेत भूकम्प पिडितको लागि सहयोग गरेको नेपथ्य व्याण्ड यसपटक भने आफ्नो रजत जयन्ती मनाउँदै खुशी साट्न टोकियो आईपुगेको छ ।
गोरेटो प्रोडक्सनको आयोजनामा हुन लागेको ऐतिहाँसिक कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।
दर्शकलाइ नाच्न र नचाउन सबै व्यवस्थापन मिलाइसकिएको भन्दै आयोजक संस्थाका सदस्यहरुले ‘बब डिलन’, ‘कोल्ड प्ले’ र ‘मिस्टर बिग’ जस्ता कलाकारहरुले प्रस्तुती दिइसकेको टोकियो डोम सिटि हलमा ‘स्टेट अफ दी आर्ट साउण्ड सिस्टम’ सहित ‘साउण्ड एब्जर्बिङ अकस्टिक वाल’ समेत लगाइएकाले साउण्ड, लाईट, व्यवस्थापन लगायत सबै हिसाबले नेपथ्य व्याण्डको कन्सर्ट जापानमा भएको अहिलेसम्मकै भव्य कन्सर्ट र प्रस्तुती हुने बताएका छन् ।
कन्सर्ट सकिएको तेस्रो दिन स्वदेश फर्कने बताइएको नेपथ्य व्याण्डले जुलाई ७ तारिखको टोकियो डोम सिटि हलको कन्सर्टलाई ऐतिहाँसिक र भव्य बनाउन व्याण्डका सदस्यहरु तयार रहेको बताएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology