आगामी महिना यूरोपको लग्जेम्वर्गमा हुन गईरहेको गैरआवासीय नेपाली संघको यूरोपियन क्षेत्रीय भेलाको तयारीले फेरी पनि एकपटक गैरआवासीय नेपाल संघ सबै गैरआवासीय नेपालीहरूको साझा संस्था नभई तथाकथित उच्च जाति भनिएका विशेष गरी ब्राह्मण जातिको पनि केही उच्च वर्गको मात्र ठेकेदारीमा चलेको संंस्था हो भन्ने कुरा प्रमाणित भएको छ ।
संस्थाको नाममा जति नै समानताको लागि आदर्शवादी शब्दका फुलबुट्टा भरेपनि व्यवाहरत त्यो संस्थाले अवलम्बन गर्ने धार्मिक, भाषिक र सास्कृतिक पक्ष पुरै खस ब्राह्मणवादी कित्ताबाट बाहिर निस्कन सकेको छैन, र नेपालको वास्ताविक धार्मिक संस्कृतिक विविधतालाई भित्रीरुपमा स्वीकार गर्न किमार्थ नसकिरहेको सत्यता छदैथियो । त्यसमा पनि अहिले यूरोपियन क्षेत्रीय भेलाको तयारीका लागि समितिहरू गठन गर्ने क्रममा गरिएको मिडिया समिति गठनले दिन खोजेको सन्देश नै पुरै एकल जातीय मनोदशाबाट प्रेरित छ ।
हुन त त्यो एउटा केही सिमित अवधिका लागि गठन गरिएको समिति भएता पनि त्यसले दिन खोजेको सन्देशको नियत चहि आफैमा गम्भीर छ । वास्तवमा सबैको साझा संस्था भएर विधिवत रुपमा चलेको संस्था गैरआवासीय नेपाली संघ भएको भए त्यसले उक्त भेलाको मिडियासम्बन्धी समिति बनाउदा होस या अन्य बाँकी संचारसँग सम्बन्धित बिषयहरूमा निश्चय नै नेपाल पत्रकार महासंघ यूरोप शाखासँग सहकार्य गथ्र्यो, तर गैरआवासीय नेपाली संघ केही उच्च वर्गीय बाहुन जातिका व्यक्तिको मात्रै रवाफ र दवावमा चलेको संस्था भएकोले त्यसले विधिको माध्यमबाट संस्थालाई चलाउने कुनै आवश्यकता ठानिएको पाईदैन ।
नेपाल पत्रकार महासंघ यूरोप शाखा यूरोपका विभिन्न मुलुकहरूमा क्रियाशील सबै पत्रकारहरूको छाता संस्था हो, जुसलाई नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आधिकारिक सम्बन्धन प्राप्त छ ।
हालै सम्पन्न महासंघ शाखाको अधिवेशन पनि तात्कालिन केन्द्रीय वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीको प्रत्यक्ष उपस्थितीमा सम्पन्न भई वरिष्ठ पत्रकार केजिन राईको अध्यक्षतामा विविधत रुपमा शाखाको नयाँ कार्यसमिति बनेको थियो । त्यस्तै गरी हालै नेपाल पत्रकार महासंघ बेलायत शाखाको अधिवेशन पनि केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट दुबै जनाको प्रत्यक्ष उपस्थितीमा सम्पन्न भई बेलायतमा क्रियाशील वरिष्ठ पत्रकार नरेश खपाङ्गी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । तर, यही कुरा अति बाहुनबादी सोच बोकेको गैरआवासीय नेपाली संघका केही नेतृत्व तहमा रहेका व्यक्तिहरू र तिनीहरूबाट पालितपोषित भएर तिनीहरूकै गुनगान गाउनका लागि भाडामा राखेर पत्रकारिताको खोला ओढाईराखेका व्यक्तिहरूलाई पाच्य हुने कुरै भएन । फलतः अहिले एन.आर.एनको यूरोपियन क्षेत्रीय भेलाका लागि गठन गरिएको मिडिया समिति तिनै आसेपासेहरूको नेतृत्वमा गठन गरेर गैरआवासीय नेपाली संघका ठेकेदारहरूले संस्थाको विधि प्रक्रियालाई नै ठाडो चुनौति दिएको छ । ती व्यक्तिहरू जो एकल जातीय अति बाहुनबादी मानसिकताबाट ग्रसित भएर महासंघ जस्ता संस्थाहरूको नेतृत्वमा आदिवासी जनजाति पत्रकारहरूको छाँयासम्म पर्न नदिन रातदिन लागिरहेका छन, तिनलाई संयोजक बनाएका छन ।
त्यसै गरी पत्रकार महासंघमा रहेर पनि सामान्य संस्थागत अनुशासनको समेत पालना गर्ने नसक्नेहरू जो महासंघ केन्द्रीय समितिबाटै अनिश्चितकालका लागि कार्वाहीको भागीदार भएका थिए, तिनीहरूलाई सल्लाहकार अनि विधिवत रुपमा रहेका नेपाल पत्रकार महासंघ यूरोप शाखा र बेलायत शाखाका अध्यक्षद्धयलाई चहि सदस्य राखेर गठन गरेको उक्त मिडिया समितिले दिन खोजेको सन्देश के हो भनेर खुट्टयाउन गाह्रो छैन । यसले दिन खोजेको सन्देश भनेको नै नेपाल पत्रकार महासंघका यूरोपियन प्रवास शाखाहरूको नेतृत्व आदिवासी जनजातिहरूले गर्न हुदैनथ्यो भनेर महासुस गराउन खोजेको प्रष्ट देखिन्छ । नत्र पत्रकारहरुको विधिवत संस्था क्रियाशिल हुँदाहुँदै सम्बन्धित बिषयमा सो संस्थासँग सहकार्य गर्ने विधिवत कुरालाई पुरै खारेज गरेर व्यक्तिगत चरित्रका कारण पत्रकार महासंघको विरुद्ध रहेका ती व्यक्तिहरूलाई टिपेर समिति गठन गर्नुपर्ने कुनै आवश्यकता र वाध्यता नै थिएन /
पेम्बा गेलु शेर्पा
महासचिव, शेर्पा संघ यूरोप सचिव, नेपाल पत्रकार महासंघ, यूरोप शाखा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology