तीर्थराज भट्टराई खोटाङ, सुरक्षित आप्रवासन परियोजना (सामी) वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सन् १८ डिसेम्बर २०११ मा नेपालमा सुरु गरिएको हो। नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सहकार्य अन्तर्गत सुरु गरिएको यो परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन गरिएको थियो । खोटाङ जिल्लाबाट अत्याधिक संख्यामा वैदेशिक रोजगारीमा जाने जनशक्ति भएकाले स्थापनाकालको पहिलो चरणमै यहाँबाट सामी परियोजना सञ्चालन गरिएको थियो।
सामी परियोजनाको मूल उद्देश्य वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारलाई सही सूचना, परामर्श, कानुनी सहायता, वित्तीय साक्षरता तथा मनोसामाजिक सहयोग प्रदान गर्नु हो । विदेश जाने क्रममा हुने ठगी, शोषण, असुरक्षा र मानव बेचबिखन जस्ता जोखिम न्यूनीकरण गर्दै सुरक्षित आप्रवासनको संस्कार विकास गर्ने यसको प्रमुख लक्ष्य रहँदै आएको छ। यस परियोजनाको अवधारणा नेपालबाट तीव्र रूपमा बढ्दै गएको वैदेशिक रोजगार र त्यससँगै देखिएका सामाजिक, आर्थिक तथा मानवीय समस्याबाट उत्पन्न भएको हो । विशेषगरी ग्रामीण क्षेत्रका युवाहरू बिना पर्याप्त जानकारी विदेश जाँदा ठूलो आर्थिक तथा मानसिक पीडामा पर्ने गरेका थिए। यही समस्यालाई समाधान गर्न “विदेश जानु अघि सोचौँ, बुझौँ र सुरक्षित बनौँ” भन्ने अवधारणासहित सामी परियोजना खोटाङमा समेत सुरु गरिएको मानिन्छ।
वैदेशिक रोजगार र सामी परियोजना
आप्रवासी स्रोत केन्द्रमार्फत सूचना तथा परामर्श सेवा, सीप तालिम, वित्तीय साक्षरता कक्षा र पुनःएकीकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सामी परियोजनाले वैदेशिक रोजगारीलाई केवल आर्थिक आर्जन गर्ने यात्राको रूपमा मात्र नभई मानव अधिकार, सामाजिक सुरक्षा र सम्मानित जीवनसँग स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
पहाडका उकाली–ओराली गर्दै शहर–बजार पुग्ने र त्यहाँबाट सुरु हुने हाम्रा सपनाहरू आज विश्वका ठूलाठूला सहरसम्म पुगिरहेका छन्। कोही उज्ज्वल भविष्य खोज्दै विदेशिन्छन् त कोही घरको चुल्हो–चौका बाल्नका लागि जवानीको पसिना बेच्न बाध्य भएका छन्। सपनाको यो यात्रामा जोखिम, पीडा, ठगी, मानसिक तनाव र परिवार विछोडका कथा पनि उत्तिकै गाँसिएका छन्। गाउँ रित्तिँदा घर–आँगन, वृद्ध बाबुआमाको वियोगान्त कथा, बेरोजगार युवा र सुनसान बन्दै गएको समाजले वर्तमान वैदेशिक रोजगारीको कहालीलाग्दो अवस्थाको चित्रण गरेको छ।
यही परिवेशका बीचमा पनि “सुरक्षित आप्रवासन सामी कार्यक्रम” ले धेरै परिवारलाई सही सूचना, वित्तीय साक्षरता, कानुनी पहुँच र मनोसामाजिक परामर्श। मार्फत आशाको नयाँ ढोका खोलिदिएको छ। केवल विदेश पठाउने मात्र होइन, सचेत नागरिक बनाउने, परिवार जोगाउने र गाउँमै सम्भावना खोज्ने अभियानका रूपमा यो कार्यक्रम संचालन भईरहेको छ।
आप्रवासन कार्यक्रम र खोटाङ
सुरक्षित आप्रवासन सामी परियोजना सन् २०११ डिसेम्बर १८ मा नेपालमै पहिलो पटक खोटाङ जिल्लामा स्थापना भएको इतिहास छ । वैदेशिक रोजगारीमा जाने जनशक्ति यस जिल्लाबाट अत्यधिक भएकाले स्थापनाकालमै सामी परियोजना यहीँबाट शुभारम्भ गरिएको थियो। विस्तारै खोटाङपछि सर्लाहीमा विस्तार गरेर सन् २०११–२०१२ बाट दुई जिल्लालाई केन्द्रमा राखेर परियोजना सञ्चालन गरिएको थियो। १६ वर्ष अगाडि खोटाङबाट सुरू भएको परियोजना सन् २०२६ सम्म आइपुग्दा सातै प्रदेशका ७७ वटै जिल्लाका ५५७ पालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको छ। यसबाट के पुष्टि हुन्छ भने सामी कार्यक्रमलाई अझ व्यवस्थित ढङ्गले निरन्तरता दिन आवश्यक छ।
हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा सन्तोष राई संयोजक, मिनप्रसाद आचार्य वित्तीय साक्षरता सहजकर्ता, गायत्री तामाङ मनोसामाजिक परामर्शकर्ता एवं लीला निरौला र मङ्गला खड्का आप्रवासी स्रोत परामर्शकर्ताका रूपमा कार्यरत हुनुहुन्छ। समय–समयमा वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत कृष्ण हुमागाईंले समन्वय, सहजीकरण र सहयोग गरिरहनुभएको छ। हाम्रो नगरपालिकाको ठूलो भूगोल र थोरै जनशक्ति भएता पनि कर्मचारीको सक्रियताले सामी कार्यक्रमले धेरै नागरिकलाई सहयोग पु¥याइरहेको छ।
वैदेशिक रोजगारीमा जाँदा आकस्मिक दुर्घटना तथा ठगीमा परेकालाई प्रभावकारी सेवा दिँदै आएको छ। परिवारका सदस्य वैदेशिक रोजगारीमा रहँदा वा फर्किएर आएकालाई जीविकोपार्जनका लागि सामी कार्यक्रम कोसेढुङ्गा साबित भएको नगरपालिकाको ठहर छ। नुनथलाका दोर्जे शेर्पा, पाथेकाका जुनिता राईजस्ता दर्जनौँ आप्रवासीले समाजमा उदाहरणीय ढङ्गबाट परिवारलाई सुखसयलसँग पालनपोषण गराउनुभएको छ। मनोसामाजिक परामर्श सेवामार्फत समाजमा स्थापित हुनुका साथै ठगीमा परेकाहरूलाई रकम फिर्ता गराउने कामबाट नागरिकलाई सामीप्रति विश्वास र भरोसा दिलाएको छ।
सपनाको साथी सामी कार्यक्रम
नेपालका धेरै युवाको काँधमा परिवार पाल्नुपर्ने जिम्मेवारी छ। युवा विदेश पलायन भएकाले गाउँघरमा खेतीयोग्य जमिन बाँझिँदै गएका छन्। अनियन्त्रित सडक निर्माणलगायतका गतिविधिका कारण खोलानाला सुक्दै गएका छन्। बेमौसमी वर्षा, पहिरो, डढेलो, वन विनाश र विश्वव्यापी जलवायु परिवर्तनका असरले गाउँले जीवन अस्तव्यस्त र कठिन बनेको छ। जीविकोपार्जनका रूपमा गरिने खेतीबाट परिवार धान्न नसकेपछि धेरै युवाको ध्यान वैदेशिक रोजगारीतर्फ मोडिन्छ।
यस्तो अवस्थामा सत्यतथ्य सूचना र परामर्श दिन सके जीवन बदल्ने औषधि बन्न सक्छ। सामी कार्यक्रमले गाउँ–गाउँमा पुगेर “विदेश जानु अघि परिस्थिति बुझौँ” भन्ने चेतना फैलाएको छ। वैदेशिक रोजगारी नागरिकको अधिकार, सुरक्षा र आत्मसम्मानको यात्रा हो भन्ने स्पष्ट सन्देश सामी परियोजनाले दिएको छ।
खोटाङ, उदयपुर, सर्लाही, सिन्धुपाल्चोकदेखि तराईका थुप्रै गाउँसम्म सामी कार्यक्रमले धेरै परिवारको जीवनमा परिवर्तन ल्याएको छ। वित्तीय साक्षरता कक्षाले मानिसलाई कमाइ कसरी बचत गर्ने, ऋणको व्यवस्थापन कसरी गर्ने र सानो लगानीबाट आत्मनिर्भर कसरी बन्ने भन्ने सिकाएको छ।
कहिल्यै हिसाबकिताब नगर्ने गृहिणी आज समूह चलाइरहेका छन्। विदेशबाट आएको रकम अनुत्पादक खर्च गर्ने स्वभाव परिवर्तन भएर व्यवसायमा लगानी हुन थालेको छ। कसैले तरकारी खेती, कसैले पशुपालन त कसैले साना घरेलु उद्योग सञ्चालन गरेका छन्। यो आर्थिक र सामाजिक परिवर्तन हो। महिलाले आर्थिक निर्णयमा भूमिका पाए भने परिवारमा आत्मविश्वास बढ्छ, बालबालिकाको शिक्षा सुध्रिन्छ र घरेलु हिंसा घट्छ भन्ने तथ्यले पुष्टि गरेको छ।
स्थानीय उत्पादन र जैविक खेतीतर्फ बढेको आकर्षणले वातावरणीय सन्तुलनमा पनि सकारात्मक प्रभाव पारेको छ। रासायनिक विषादीको अत्यधिक प्रयोगले माटो, पानी र हावा प्रदूषित भइरहेको बेला स्थानीय र दिगो कृषि अभ्यासले प्रकृतिसँगको सम्बन्ध पुनर्जीवित गरिरहेको छ। गाउँमा बाँस, रुख र पानीका स्रोत जोगाउने अभियान पनि जीविकासँग जोडिन थालेका छन्।
प्रकृति र मानवको अन्तर सम्वन्ध
आज पृथ्वी आफैं संकटमा परेको अवस्था छ। बढ्दो प्रदूषण, प्लास्टिकको अत्याधिक प्रयोग, वन फँडानी र अव्यवस्थित विकासले वातावरण प्रताडित भएको छ। हिउँ पर्न छोडेकोले मोतिजस्ता सेताम्मे हिमालहरू काला पहाड जस्ता देखिन थालेका छन्। जैविक विविधताले मनोरम भूमि तथा प्रकृतिक नदीहरू सिसा, प्लास्टिक लगायत अशोभनीय फोहोरले भरिँदैछन्। सहर बजारको वायु प्रदूषणले सास फेर्न नसकिने अवस्था सिर्जना हुँदै गएको छ।
जब गाउँमा पानीका मुहानहरू सुक्न थाल्छन् तब खेती जन्य उत्पादन नष्ट हुन्छ। गाउँमा रोजगारी हराउँदै गएपछि मानिस बाध्य भएर विदेश पलायन हुन्छन्। त्यसैले सुरक्षित आप्रवासनको बहस वातावरणीय न्यायसँग पनि जोडिएको छ। यदि गाउँमै हरियाली, स्वच्छ पानी, उत्पादनशील जमिन र दिगो रोजगारी सिर्जना गर्न सकियो भने धेरै युवा बाध्यताले विदेशिनु पर्ने अवस्था आउँदैन। मानिस र प्रकृतिको सम्बन्ध टुट्यो भने समाज पनि कमजोर हुन्छ। प्राकृतिक मनोरममा क्षयीकरण हुँदा सौन्दर्यता हराउँछ। पर्यापर्यटनको विकासमा कमी आउँछ। त्यसैले जैविक विविधताको संरक्षण र हरियाली प्रवद्र्धन अभियान प्रकृतिसँगै मानव तथा प्राणी मात्रको अस्तित्व जोगाउने संघर्ष पनि हो।
वैदेशिक रोजगारी र मानवीय सहारा
विदेशबाट फर्किएका धेरै मानिसका आँखामा पीडा लुकेको हुन्छ। हाम्रो समाजमा श्रम शोषण भोगेका, दुर्घटनामा परेका, परिवार विछोड भएका मानिस प्रशस्तै छन्। यस्ता असह्य पीडाहरू बाहिरी शरीरका भागमा कतै देखिँदैनन् तर ती पीडित नागरिकको मन भित्रभित्रै जलिरहेका हुन्छन्।
सामी कार्यक्रम अन्तर्गत दिईने मनोसामाजिक परामर्श सेवाले धेरैलाई सफल जीवनतर्फ फर्काएको छ। कसैलाई आत्मविश्वास दिएको छ भने कसैलाई परिवारसँग पुनः जोडेका उदाहरणहरू छन्। मानिसलाई पैसा मात्र हुँदैन भरोसा पनि चाहिन्छ। यही भरोसाको दीप बाल्ने काम सामी कार्यक्रमले गरिरहेको छ।
निष्कर्ष
सुरक्षित आप्रवासन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ। खोटाङमा अहिले पनि यसको टड्कारो आवश्यकता महशुस गरिएको छ। यी र यस्तै यावत समस्याको समाधान वैदेशिक रोजगारीमा पठाउनु मात्रै होइन। यसको लागी राज्यले सही सूचना, सीप, वित्तीय अनुशासन, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा, वातावरणीय चेतना र स्वरोजगारका कार्यक्रमसँगसँगै अघि बढ्नुपर्छ। हामीले यस्तो समाज निर्माण गर्नुपर्छ जहाँ युवा बाध्यताले होइन अवसरका आधारमा स्वदेशमै बस्न सकून्। मानिसको सपना र प्रकृतिको सन्तुलनलाई सँगसँगै जोगाउन सकियो भने मात्र समृद्ध भविष्य र सुखी नेपालीको परिकल्पना पूरा हुन्छ। सुरक्षित जीवन केवल वैदेशिक यात्राको कथा होइन चेतना, आत्मनिर्भरता र मानवीय सभ्यताको उज्यालो बन्न सफल होस्। सामी परियोजनाका परिकल्पनाकार तथा देशभरी कार्यरत सम्पूर्ण सामी परिवारलाई लक्ष्य प्राप्तिको हार्दिक शुभकामना। (स्तम्भकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।)
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology