समायेाजन खबर, ५ अप्रिल, टेाक्येा
नायक पल शाह जापान आउने पक्का भएको छ । उनलाई आज नेपालस्थित जापानी राजदूतवासले जापान आउने स्वीकृति दिएको छ । पल चलचित्र ‘शत्रु गते’ प्रदर्शनका लागी जापान आउन लागेका हुन् ।
नेपालभर सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘शत्रु गते’ ए-वान इन्टरटेन्मेन्टको व्यवस्थापनमा जापानभर प्रदर्शन हुँदैछ । चलचित्रको यही अप्रिल ८ तारिख आइतबार टोकियोस्थित नाकानो जिरो हलमा प्रिमियर शो हुँदैछ । ‘चलचित्र प्रदर्शनको तयारी धमाधम भइरहेको छ’ ए-वान इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाले भने, ‘कलाकारहरुको क्रेज र नेपालको सफलताले जापानबासी नेपालीहरु पनि चलचित्र हेर्न आतुर छन्, त्यसैले पनि हाम्रो टिम उत्साहित छौं ।’
जापानबासी नेपालीहरुको लागी बहुप्रतिक्षित मानिएको चलचित्र ‘शत्रु गते’को टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा समेत प्रदर्शन हुने निर्देशक लामा बताए । कमेडी जनरामा सामाजिक कथा बोकेको चलचित्र ‘शत्रु गते’मा निर्देशक प्रदिप भट्टराईले चलचित्र बिवाहमा बाधक बन्ने पात्रहरुको वरिपरि घुमाएका छन् ।
चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, पि्रयंका कार्कीको मुख्य अभिनय रहेको छ । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । चलचित्रमा राजनराज शिवाकोटीको संगीत र कविराज गहतराजको नृत्य रहेको छ ।