* दोलखाको अति बिकट शेर्पा गाउँमा शेर्पा सहायता कोषको सहयोगमा शेर्पा प्राथमिक विद्यालय भवनको निर्माण !
* संखुवासभाको दुर्गम शेर्पा गाउँमा शेर्पा सहायता कोष को सहयोगमा स्वास्थ्यचौकी निर्माण !
*स्वास्थ्य उपचारको निमित्त रामेछापको एक बिमारीलाई शेर्पा सहायता कोष द्वारा पाँचलाख सहयोग रकम हस्तान्तरण !
*भोजपुरको शेर्पा गाउँमा शेर्पा सहायता कोष द्वारा बाल उधान निर्माण !
* शेर्पा सहायता कोषको आर्थिक सहयोगमा शेर्पाजाति बारे विस्तृत अनुसंधान गरि ग्रन्थ प्रकाशनमा ल्याईने !
सुन्दै खुशी र आनन्द लाग्ने , हर्ष विभोर गराउने र आफ्नै शेर्पा गाउँतिरै फर्कौ फर्कौ लाग्ने खालका खवरहरु हुनसक्छन यी माथिका सम्भावित समाचारहरुका केही हेडलाइनहरु ! चाहे बिदेशमा होस या स्वदेशमा हाम्रो आफ्नो शेर्पा घरगाउँको उन्नति नचाहने शेर्पा शायदै कोहि होला ! वास्तवमा अझै सम्मपनि वहुसंख्यक शेर्पाहरुको बसोवासको मुख्य स्थल भनेको गाउँघरनै हो ! हुनत बिगत केहि दशकको तुलनामा धेरै शेर्पाहरु आफ्नो पुर्ख्यौली थातथलो छाडेर व्यापार व्यवसाय , रोजगारी , अध्ययन , आर्थिक र अन्य अवसरहरुको खोजीमा देश विदेश तिर छरिन पुगेकाछन् भने कोहि भौगोलिक विकटता , असुविधा , आर्थिक विपन्नता र पछौटेपन को कारणहरुले पनि आफ्नो गाउँघर छोड्न वाध्य छन् ! अहिले सम्म विदेशमा रहेका शेर्पा डायस्पोराको आधिकारिक तथ्यांक कतिछ भनेर यस पंत्तिकार अनभिज्ञ छ तरपनि करिब करिब पाँच सात हजार सम्मको संख्यामा शेर्पाहरु विदेशमा रहेको अनुमान गर्न सकिन्छ ! विस्वको जतिसुकै वैभवशाली राष्ट्र हरुमा नाम र दाम् कमाइ रहेको भएपनि उनीहरुको मन हरेकदिन आफ्नो घरगाउँको , थातथलोको सम्झनामा गाँसिएको हुन्छ र त्यसैको मायाँमा डुबेको हुन्छ ! वास्तवमा यहि मायाँले भरिएका हृदयहरुनै हाम्रो शेर्पा समाजको सर्वोपरी बिकासको निमित आवश्यक उर्जाको एउटै स्रोत हो
हुनत नेपालका सबै शेर्पा गाउँघरहरु गरिबी अशिक्षा र पछौटेपनका समस्याहरु बाट ग्रस्त छैनन् ! विशेष गरि सोलुखुम्बु क्षेत्रको शेर्पा समाजको उन्नति हामि सम्पूर्ण शेर्पा जातिको लागि उदाहरणीय र गौरवको विषय बनेको छ ! भन्ने हो भने त्यहाँको विकाशमा सर एडमण्ड हिलारी फाउनडेशन र हिमालयन ट्रस्टको आधारभूत योगदान रहेको छ तर उनीहरुको कार्यक्षेत्र र रुचीले उक्त निश्चित भौगोलिक सिमाना काटेर अन्य क्षेत्रका शेर्पा समुदायहरु सम्म पुग्न सकेको छैन यसो हुनुमा बिभिन्न वाध्यता र कारणहरु पनि हुन्सक्छन !
सम्पूर्ण शेर्पा समाजको चित्रण र प्रतिनिधित्व त्यस्ता केहि सिमित सुबिधा सम्पन्न शेर्पा घरगाउँले मात्रै गर्दैन !
अझै पनि नेपालमा कति त्यस्ता बिकट शेर्पा गाउँघरहरु छन् जहाँ मानिस उन्नाइसौँ , बीसौं शताब्दि तिरकै शैलीमा
जीवनयापन गर्न बाध्य छन् !
नत स्कुलको सुबिधा न स्वास्थ्य चौकी न बाटोघाटो पुलपुलेसा न सफा पिउने पानि !
” भत्किन लागेको पुरानो गुम्बा… , धुवाँले भरिएको भान्छाकोठा … स्कुल जान नपाएर बरालिएका सानासाना नानीहरु… ,भत्केका वा पुल नभएका खोलाहरु र आशा र निराशाको भुमरीमा पिल्सिएका आँखाहरु र चाउरिएका निधारहरू ” यस्तै हुन्छन विभिन्न अवसर र विकाशले छुननसकेका अधिकांस बिकट हाम्रो शेर्पा गाउँघरको तस्विर ! यस्ता विकट र दुर्गम क्षेत्रको विकाशको ब्यग्र चाहना तपाईंहामि हरेक शेर्पाहरुलाई छ तर त्यो विकाश कहिले हुने ? यहाँका हाम्रा शेर्पा भाई बन्धुहरुको मुहार सुख र समृद्दीको खुशीले कहिले उज्यालो देखिने ? यस्ता बिचारहरु तपाइँ हामि सबैको मस्तिष्कमा बेलाबखत पक्कै घुम्छ ! अनि प्रश्नहरु एकाएक तेर्सिन्छन यी यस्ता पिछडिएका गाउँघरको बिकाश कसले गरिदिन्छ ? कुर्चिकै खेलमा मस्तहुने सरकारको आशमा कतिवर्ष कुर्ने ? कस्को आशमा हामि तड्पिएर बसीरहने ? कि त फेरी अर्को हिलारी वा कुनै ट्रस्टको खोजि गर्ने ? सधैं अर्काकै आश र भरोसामा कति बस्ने ?
हुनत हामि शेर्पाहरु जहाँसुकै होउँ जस्तो अवस्थामा होउँ दुख र आपतको घडीमा एकापसलाई सक्दो सहयोग गर्न सदा तत्पर रहन्छौ र एकजुट हुन्छौ त्यसैलेनै आफ्नो शेर्पा समाजको निमित्त भनेर वर्षमा दुइतिन पटकसम्म बिमारी उपचार , स्कुल मर्मत , गुम्बा मर्मत देखि लिएर कुवेतमा मृत्युदण्डको सजाय बाट डोल्मा शेर्पालाई मुक्त गर्नसम्म तपाईंहामीले सक्दो आर्थिक सहयोग गरिआएकैहो तर यसरि आपत परेपछि मात्र अन्धाधुन्द चन्दा उठाउन कहिलेसम्म दौडादौड गर्ने ? के हामीले समाजमा आईपर्ने यस्ता साझा समस्याहरुको सहि र प्रभावकारी समाधान खोज्न सक्दैनौं ? यदि यसको समाधान नखोजिने होभने तपाइँ हामि सबैको समय र श्रम अनावश्यक रुपमा खेरजाने मात्र नभै आर्थिक संकलन र सहयोग व्यवस्थित र प्रभावकारी हुनसक्दैन र जेजति गर्न खोजिएकोहो त्यो सहि रुपमा गर्न सकिँदैन ! त्यसोभए अब कसरि अगाढी बढ्ने त ?
(( शेर्पा सहयोग कोषको अवधारणा ))
सर्वप्रथमत यस्तो ठुलो र महत्वाकांक्षी योजना लिएर अघि बढ्नको निमित्त ” शेर्पा सहयोग कोष ” को स्थापनाहुनु अत्यन्त महत्वपूर्ण छ र यस कोष संसारभरका शेर्पा सामाजिक संघ सँस्थाहरु सित बाँधिनपनि उतिकै महत्वपूर्ण छ !
यदि हामि शेर्पा सहयोग कोषको स्थापना गरेर सामुहिकरुपमा अघि बढ्ने होभने केहि वर्ष भित्र आधुनिक विश्वको विकशित समाजको हाराहारीमा पुग्न नसकेपनि त्यसलाई पछ्याउने प्रयास सम्मत पक्कै गर्नसक्छौं ! यस अर्थमाअब हामि माझ यौटा सहि समय आएकोछ , एउटा सुवर्ण र ऐतिहासिक मौका आएकोछ सिंगो समाजको निमित्त सवैले केहि सोच्ने र थाल्ने ! सक्नेले नसक्ने लाई , जान्नेले नजान्ने लाइ , हुनेले नहुने लाई सहयोग गर्नु मानवीय धर्ममात्र नभै आफ्नो भाईबन्धु प्रतिको कर्तव्य पनि हो ! यस शुभकार्यको थालनीको लागि सर्वप्रथम त देश विदेशमा रहेका शेर्पा संघ संस्थाहरु ( शेर्पा किदुग हरु ) नै अग्रसर र जागरुक हुनु जरुरीछ साथै नेपाल शेर्पा संघ , युरोप शेर्पा संघ , शेर्पा सेवा केन्द्र तथा शेर्पा सांस्कृतिक केन्द्र बीच समेत साझा समन्वय हुनुत अति महत्वपूर्ण छंदैछ ! हुनत शेर्पा सहायता कोष स्थापना र संचालनको निमित्त कुनै एउटा नया संस्था खडा गरेर पनि यो शुभकार्यको थालनी गर्ननसकिने होइन तरपनि स्थापित संघ संस्थाहरुनै यस शुभ कार्यमा सम्बद्द भए बढी प्रभावकारी र व्यवस्थित भै यो अवधारणा लाई मुर्तरुप दिन अझ छिटो र सजिलो हुनेछ ! शेर्पा सहयोग कोषको अवधारणाको सन्दर्भमा निकट भविष्यमा स्थापनाहुनगैरहेको विश्व शेर्पा संघले झनै प्रभावकारी भूमिका खेल्न सक्नेछ भन्ने विश्वास लिन सकिन्छर यहि महत्वपूर्ण भेलाको अवसरमा यो विषयमा थोरै भएपनि बहस र छलफल हुनेछ भन्ने आशा राखेकोछु !
! विशेष गरि यस विश्व शेर्पा सम्मेलनमा सहभागी सबै शेर्पा भाई बन्धुहरुमा एउटै अनुरोध के गर्न चाहन्छु भने हामि हाम्रो सिङ्गो समाजको बिकाश र सहयोगको निमित तन , मन र धनले सहयोग गर्न चाहन्छौ तर कृपया वर्षमा १० पटक १० ठाउँ बाट १० वटा शिर्षकहरुमा चन्दा र दानको निमित्त कुदाकुद गरेर सबैको श्रम , समय र स्रोतको बर्वादीहुने अनुत्पादक तरिका नगरिदिनुहोस ! यो मेरो एकल अनुरोध मात्र नभएर तमाम शेर्पा समुदायको हो जो ठाउँन कुठाउँ पटके चन्दा असुल्ने प्रक्रिया बाट आजित छन् ! भन्नुको तात्पर्य दिगो र प्रभावकारी रुपमा हामि एउटै माध्यम बाट जाऔं , एकद्वार नीति अपनाऔँ , मितव्ययी बनौं ! यदि शेर्पा सहायता कोषको स्थापना गरेर हामि आगाडी जान सक्दैनौं या यस्तो सहायता कोषको आवश्यकता आवश्यक ठानीदैन भने संसारभर शेर्पाको हितको निमित्त हजार वटा संघसंस्थाहरु स्थापना भएपनि त्यो केवल पदीय स्वार्थ , गुटबन्दी र आफ्नो पहुँच बढाउने माध्यम बाहेक समाजको निमित्त खासै केहि हुनेछैन !
हुनत यस पंक्तिकार स्वयंमा कुनै योजनाकार होइन न त् कुनै खास व्यक्तित्वनै , तरपनि समाजको हरेक समस्या र दुखहरुमा चिन्तित रहने व्यक्ति भने अवश्य हो र यहि साईनोले गर्दा यो बिचार यहाँ लेख्ने आँट गरेकोछु ! सर्वप्रथमत कुनैपनि योजना पूँजी बिना कल्पना पनि गर्न सकिन्न र त्यो योजना सम्पन्न गर्न पर्याप्त पुँजीको स्रोत पहिल्याउनुपर्नेहुन्छ ,
त्यसैले शेर्पा सहायता कोषको निमित्त आर्थिक स्रोत भनेको देशविदेशका आर्थिक सहयोग गर्न सक्षम शेर्पा समुदायनै हुन् ! उदाहरणको निमित्त एकजना सदस्यले पाँच वर्षको अवधिमा शेर्पा सहायताको निमित्त जम्मा ३०० € दान स्वरुप बुझाउनुपर्नेछ यसरि ३००० सदस्य बाट पाँच वर्षको अवधिमा ९००००० युरो जम्मा हुनेछ अर्थात महिनाको ५ युरो प्रतिसदस्य , र यति थोरै रकमलाई कसैले पनि आनाकानी गर्नेछैन ! यो योजनाको केहि मोटामोटी खेस्रा तथ्यहरुलाई पनि निम्नानुसार प्रस्ट्याउने प्रयास गरेकोछु !
१. प्राय विदेशका र नेपालमै रहेका अनुमानित तिन हजार जना शेर्पाहरुलाई शेर्पा सहायता कोष को ( उपयुक्त्त नाम पछि राख्ने ) सदस्य बनाउने र उनीहरुबाट माशिक ५ € ( पाँच युरो / डलर ) को दरले नियमित रुपमा संकलन गर्ने ! ( कसैले २,४ वा ५ वर्षको भनेर एकैपटक पनि दिनसक्छन )
२. एक वर्ष भित्र संकलित रकम मात्रैपनि कम्तिमा १,८०००० € ( एकलाख अस्सीहजार युरो ) हुनजान्छ जसको एक अक्षयकोष स्थापना गर्ने जुन ने रु अनुमानित २ करोड हुनजान्छ भने पांच वर्ष भित्र १० करोड जम्मा हुनजान्छ ! यसरि संकलित रकम कुनै एक भरपर्दो बैंकमा मुद्दती खाता खोल्ने र आर्जित ब्याज बाट शेर्पा समाजको निमित्त अति आवश्यक ठाउँ र व्यक्तिहरुलाई आर्थिक, भौतिक तथा मानवीय सहयोग गर्ने !
३. नेपालमै एउटा सानो कार्यलय संचालन गर्ने ! समाजसेवी निस्वार्थ व्यक्तित्व हरुको टिम बनाउने जसमा समाजका बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेत सम्मिलित गर्ने र स्वयंसेवकहरु तयार गर्ने ! सहयोगको प्राथमिकता र क्षेत्रहरु निर्धारण गर्ने ( शिक्षा, स्वास्थ्य , संस्कृति , स्थानीय विकास र वातावारण सरक्षण ईत्यादि )
४ . ब्याज बापत जम्मा हुने रकम प्रतिवर्ष अति आवस्यक स्थानहरुको पहिचान गरि स्थानीय जनसहभागितामा त्यहाँ लगानी गर्ने वा प्राविधिक सहयोग पुरयाउने !
५. देश विदेशका सरकारी वा गैरसरकारी निकायहरुबाट पनि आर्थिक वा प्राविधिक सहयोग लिन पहलकदमी गर्ने !
यहाँ उल्लेख मोटामोटी उद्देश्य र लक्षहरुलाई गम्भीर र विस्तृत रुपमा अध्यन र छलफल गरि कार्यान्वयन गर्न सकियो भने एकदशक भित्रै दुर्गम शेर्पा गाउँघरको विकाशमा यौटा नयाँ आयाम थपिदिन सक्छौं , सहि अर्थमा त्यहाँका हाम्रा भाईबन्धुहरूलाई विकाशको स्वाद चखाईदिन सक्छौ र भविष्य निर्माणको लागि आउने पिंढी लाई गोरेटो देखाई सघाउन सक्नेछौं ! यो त सम्भावनाको एउटा सानो खाका मात्र हो , हामीहरुले मिलेर गर्न सक्यौ भने यो भन्दा धेरै बढी महत्वाकांक्षी वा ठुला सहयोगका योजनाहरु कुनै अन्तररास्ट्रिय दाताहरु या सरकारको मुख नताकी पुरा गर्न सक्छौं , जुन शेर्पा समाजको निमित्त सहि सहयोग ठहरिनेछ ! जसको लागि खाँचो छ मात्र एकता र अगुवाई गर्नसक्ने निष्ठावान व्यक्तिहरुको , संस्थाहरुको र अवश्य पनि सहयोगी मनहरुको !
थुजिछे
रामेछाप ( हाल एन्त्वर्प , बेल्जियम )