समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीहरुलाई अभ्यास पुस्तिका वितरण गरेको छ। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर गाउँपालिकाभरीका सामुदायिक विद्यालयका विद्यार्थीलाई गाउँपालिका आफैले तयार गरेको अभ्यास पुस्तिका वितरण गरेको हो।
गाउँपालिकाको कार्यालयमा आईतबार कार्यक्रम गरी गाउँपालिकाभरीका ३७ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म अध्ययनरत ९ सय ४९ जना विद्यार्थीका लागि प्रति विद्यार्थी चार वटाका दरले मंसिर महिनाका लागि ३ हजार ७९६ वटा अभ्यास पुस्तिका वितरण गरिएको छ।
अभ्यास पुस्तिका गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले ३७ वटै विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्। पुस, माघ र फागुन महिनामा पनि प्रति विधार्थी चार वटाका दरले वितरण गर्नेगरी अन्य अभ्यास पुस्तिका गाउँपालिकामा भण्डारण गरेर राखिएको छ।
पृष्ठभूमिमा गाउँपालिकाको प्रशासनिक भवन र गाउँपालिकाको भौगोलिक नक्सा राखेर अभ्यास पुस्तिका तयार गरिएकोे छ। अभ्यास पुस्तिकामा मिति, विधार्थीको नाम, कक्षा, रोल नं., विषय, विद्यालय, विषय शिक्षकको नाम, सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर लेख्ने स्थान राखिएको छ। प्रधानाध्यापक र शिक्षा शाखाबाट विषय शिक्षक/कक्षा शिक्षकलाई शैक्षिक सुधारका लागि दिईने ५/५ वटा बुँदा लेख्ने स्थान राखिएको छ।
अभ्यास पुस्तिका प्रयोग गर्दा विधार्थी, शिक्षक, अभिभावकले पालना गर्नुपर्ने बुंदाहरु पनि राखिएको छ। अभ्यास पुस्तिकामा विद्यार्थीहरुले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गर्न लगाउनुपर्नेछ, शिक्षकले दिएको कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्नुपर्नेछ, अभ्यास पुस्तिकाको सम्पूर्ण पानाहरु लेखिसकेपछि अभ्यास पुस्तिका सुरक्षितसँग विद्यालयमा बुझाउनुपर्नेछ।
शिक्षकले अभ्यास पुस्तिका प्रयोग गराउँदा प्रत्येक दिन कक्षा कार्य र गृहकार्य यहि अभ्यास पुस्तिकामा दिई रातो मसिको प्रयोग गरी जाँच्नुपर्ने, अभ्यास पुस्तिकाको सम्पूर्ण पेजहरु विधार्थीले लेखिसकेपछि प्रधानाध्यापकबाट प्रमाणित हुनुपर्नेछ। अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिईएको छ/छैन जाँच गर्नुपर्ने र शिक्षकले आफ्नो छोराछोरीलाई दिईएको गृहकार्य अनिवार्य रुपमा गर्न लगाउनु पर्नेछ। त्यसपछि अभ्यास पुस्तिका विद्यालयले गाउँपालिकाको शिक्षा शाखामा बुझाउनुपर्ने र नयाँ कापी लिएर विद्यार्थीलाई दिनुपर्नेछ।
कुन विद्यालयमा कुन–कुन शिक्षकले कति पढाएको छ भनेर शिक्षा शाखाका कर्मचारीले जनप्रतिनिधिको उपस्थितिमा अभ्यास पुस्तिका जाँच गरिने शिक्षा संयोजक सुरेन्द्र खनालले बताए। त्यसपछि अभ्यास पुस्तिकामा प्रअ र शिक्षा शाखाबाट विषय शिक्षक र कक्षा शिक्षकलाई शैक्षिक गुणस्तर सुधारका लागि ५/५ वटा सुझावसहित अभ्यास पुस्तिका विद्यालयलाई नै फिर्ता दिईनेछ।
गाउँपालिकाले शैक्षिक सुधार लागि अघि बढाएको अभ्यास पुस्तिका वितरण योजनाले विधार्थी, शिक्षक, अभिभावक र कामचोर शिक्षकलाई ठेगान लगाउने आशा गरिएको छ। यसरी कापी वितरण गर्दा कुन विद्यालयको शैक्षिक स्तर कस्तो छ, शिक्षकले गृहकार्य दिए/दिएनन, विधार्थीले गृहकार्य गरे/गरेनन्, शिक्षकले गृहकार्य जाँज गरे/गरेनन्, फर्जी विधार्थी छन्/छैनन् पत्ता लाग्नेछ।
गाउँपालिकाले सुरु गरेको अभ्यास पुस्तिका लागू कार्यक्रमलाई सफल बनाउनमा आफ्नो बुद्धी र विवेकले भ्याएसम्म समय खर्चिने पृथ्वी मावि बाक्सिलाका प्रअ रणबहादुर राईले बताए। शिक्षा सुधार्न गाउँपालिकाले गरेको लगानी खेर जान नदिन प्रअहरुको ठूलो भूमिका हुने प्रअ राईको भनाई छ। अभ्यास पुस्तिकालाई विधार्थीको हातहातमा पु¥याउन र पुस्तिकामा भने अनुसार गर्न सबै एकजुट भएर लाग्नुपर्ने जालपा मावि पिपलडाँडा बाक्सिलाका विव्यास अध्यक्ष गोपाल तामाङले बताए।
कक्षा १ देखि ३ कक्षा सम्मको शैक्षिक सुधार्न मुख्य त लेखाउने र पढाउने नै हो भन्ने हामी निष्कर्षमा पुगेका छौ अभिभावकले विधार्थीलाई कापी, पेन्सिल नै नपठाएका कारण गृहकार्य गर्न नलगाएको भन्ने आएको छ। अब गाउँपालिकाले दिएको कापीमा शिक्षकले गृहकार्य दिनुपर्छ र पढाउनुपर्छ। शैक्षिक गुणस्तर सुधार नभएसम्म हामीले सोचेको सभ्य समाज निर्माण हुँदैन। अभ्यास पुस्तिका वितरण कार्य साधारण जस्तो छ। गाउँपालिका अध्यक्ष राईले भने, तर यसले शिक्षा क्षेत्र सुधार गर्नुपर्ने सबैलाई परिबन्धमा पार्छ। शिक्षा क्षेत्रको बेसलाई स्वतः सुधार गर्छ।’
आगामी शैक्षिक सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि विधार्थी अभ्यास पुस्तिका निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यन्वयनमा ल्याइने योजना छ। कार्यक्रम प्रभावकारी देखिएमा कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको अभ्यास पुस्तिका चेक गर्ने कार्यक्रम लागू गरिनेछ। अध्यक्ष राईले भन्नुभयो।
यस गाउँपालिकाको ३७ विद्यालयमा कक्षा ११ बाहेक ३ हजार ३२४ जना विधार्थी अध्ययनरत छन्। त्यसमध्ये कक्षा १ देखि कक्षा ३ सम्म ९ सय ४९ विधार्थी अध्ययनरत छन्। चालू शैक्षिक सत्रका लागि १६ हजार अभ्यास पुस्तिका तयार गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology