Samayojan khabar

Advertisment

SKIP THIS

संविधान दिवस र समयको अनुशासन

संविधान दिवस र समयको अनुशासन


समायोजन खबर
  • मंगलबार, असोज ६ २०८३

  • तीर्थराज भट्टराई

    तीर्थराज भट्टराई खोटाङ, असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक दिन। लामो राजनीतिक संघर्ष, त्याग, बलिदान र परिवर्तनको एउटा महत्वपूर्ण दस्तावेजका रूपमा संविधानलाई स्मरण गर्ने दिन। हजारौँ नागरिकको संघर्ष र ज्ञात-अज्ञात सहिदहरूको सम्मानमा शिर झुकाउने दिन।यही राष्ट्रिय कार्यक्रमको विषयमा प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको सक्रियता र समन्वयमा का।वा। प्रमुख सुरेश तामाङको अध्यक्षतामा सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्यो। संविधान दिवस मनाउने क्रममा यसपटक समय, अनुशासन र सार्वजनिक संस्कृतिको एउटा महत्वपूर्ण दस्तावेजीकरण भयो।

    संविधानको मर्म व्यवहारमा उतार्ने हो भने राज्य सञ्चालनदेखि सार्वजनिक कार्यक्रमसम्म सवै ठाँउ समयको सम्मान गर्ने संस्कार विकास गर्न जरुरी छ। हेर्दा सानो विषयजस्तो लागे पनि सुशासन र आत्मअनुशासनमा बाँधिने ठूलो आधार हो समय। पक्कै पनि खोटाङको इतिहासमा सर्वदलीय, सर्वपक्षीय सार्वजनिक कार्यक्रम ठ्याक्कै समयमा भएको यो पहिलो नै हुनुपर्छ भन्ने मलाई लाग्छ। नगरपालिका र अन्य संघ संस्थाले धेरै बैठक र कार्यक्रम ठीक समयमा गर्ने कोशिस गरिरहेका होलान्।तर इमानदारीका साथ लेख्दा नगरपालिका भित्र समयको महत्व मैले बुझाउन नसकेको कारण पूर्ण रूपमा पालना र कार्यान्वयन गराउन सकेको छैन।म असफल छु यस विषयमा।

    संविधानको पालना र व्यवहारमा परिवर्तन
    संविधानले नागरिकका अधिकार, लोकतान्त्रिक शासन, संघीयता, सामाजिक न्याय र समावेशिताको बलियो आधार दिएको छ। संविधान दिवसका दिन गरिने भाषण र प्रतिबद्धताले भन्दा संविधानको मर्मअनुसार हाम्रो व्यवहार परिवर्तन गर्न सक्यौँ भने मात्रै यस दिवसले सार्थकता पाउनेछ।हामी अधिकारका कुरा धेरै गर्छौँ तर आफैँ कर्तव्य र अनुशासनका विषयमा समीक्षा गर्दैनौँ। तोकिएको समयमै काम गर्ने, समयको सम्मान गर्दै उपस्थिति जनाउनु र सार्वजनिक जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनु पनि लोकतान्त्रिक संस्कारकै एउटा हिस्सा हो।अरूलाई समयको पाठ सिकाउने तर आफूले पालना नगर्नु अलोकतान्त्रिक चरित्रको पराकाष्ठा हो।यो त संविधानको मर्ममाथिको कुठाराघात हो भन्छु म त ।मैले लामो समयदेखि सार्वजनिक कार्यक्रम समयमै सुरु हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको छु। कतिपय कार्यक्रम तोकिएको समयमा सुरु नभएर छोडेर हिँडेको अनुभव छ मसँग। धेरै ठाउँमा आयोजकभन्दा अगाडि पुगेर कुर्नुपरेको तितो सत्य पनि छ।सरकारी कार्यालयदेखि राजनीतिक दलका बैठक र कार्यक्रम समयमा सुरु नहुने हाम्रो पुरानो संस्कार र चरित्र मौलाउँदै गएको विद्यमान अवस्था छ।
    यस विषयमा कुरा उठाउँदा रिसाउने र असहज मान्ने संस्कृति पनि व्यप्त छ। तर यस विषयमा बोल्ने मानिस कम भए पनि समय भने बलवान् हुन्छ।न धेरै छिटो दौडिन्छ न ढिलो। उसको गतिमा कुनै विभेद छैन।न सिडिओ भन्छ न कृषक।सबैलाई समान व्यवहार गर्छ समयले।

    समय र आजको आवश्यकता

    दिक्तेल निवासी राष्ट्रिय व्यक्तित्व वरिष्ठ पत्रकार कृष्ण आचार्यले केही वर्ष अगाडि समयमा उपस्थित नहुनेलाई घडी उपहार दिने अभियान चलाउनुभएको कुरा मलाई सम्झना छ। विगतको अभियान अहिले एकादेशको कथा जस्तो हुन लाग्यो। तर यो सोच र दृष्टिकोण आत्मअनुशासनको बन्धनमा बाँध्ने कसी थियो। अभियान चल्यो तर व्यवहार परिवर्तन भएन ।उहाँ पनि थाप्नु भयो। पाक्नु भयो र अरुकै गतिमा लर्वराउन थाल्नुभएको छ।

    त्यो अभियान सफल हुँदा समयको मूल्य हामीले बुझ्ने थियौँ। समस्या घडीमा होइन हाम्रो संस्कारमा छ। समाजका अगुवा हौँ भन्छौँ तर लवस्तरा बनिसक्यौँ हामी। अरूलाई सुशासनको पाठ पढाउने तर व्यवहारमा लागू नगर्ने संस्कृतिको अब अन्त्य गर्न जरुरी छ। कार्यक्रम एक बजे भनेपछि एक बजेको अर्थ एक बजे नै हुनुपर्छ। कसैलाई पर्खिएर कार्यक्रम रोकिराख्नु सर्वथा अनुचित हो। मेयर होस् कि सिडिओ समयको महत्व बुझ्ने अभ्यास गरौँ। कार्यक्रममा अगाडिदेखि बसेका मानिसलाई कामै नपाएर आएको जस्तो गरी अमुक व्यक्तिको प्रतीक्षा गराउनु सार्वजनिक संस्कार होइन। यो समयको अपहेलना र अपमान हो।

    पूर्व जानकारी कुनै समय प्राविधिक कारण, आकस्मिक परिस्थिति वा समस्या हुँदा ढिला हुनु स्वाभाविक हो। त्यस्तालाई यदाकदा परीस्थितीजन्य घटनाका रूपमा लिनुपर्छ। तर जानीजानी ढिला गर्ने संस्कृतिको अन्त्य आवश्यक छ। समय कसैको व्यक्तिगत सम्पत्ति नभई सबैको साँझा संस्कृति हो। समयका विषयमा नेर्पाका जलशेर राई पनि गम्भीर रूपमा कुरा उठाउनुहुन्छ। उहाँ कहिलेकाहीँ कार्यक्रम छोडेर पनि हिँड्नुहुन्छ । तर, समयको कुरा गर्नेलाई अपमान र हाँसोको पात्र बनाउने दुस्साहस पनि भएको छ। अव्यावहारिक र एकलकाँटे भनेर आलोचना पनि भएको सुन्छु। श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष धनिराम नछुङ तथा युवा समाजसेवी संजय राई पनि प्रायः समयमा पुग्ने गर्नुहुन्छ। यस्ता सत्कर्म सानो देखिए पनि सार्वजनिक संस्कार परिवर्तन गर्ने महत्वपूर्ण कडी हो यो।

    समयको सम्मान र अनुशासित बैठक

    संविधान दिवस मनाउने सन्दर्भमा असोज २ गते प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको कार्यकक्षमा सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाइयो। बैठकको समय एक बजे निर्धारित थियो। म एक मिनेट अगाडि नै बैठकमा पुगेँ । सिडिओले बोलाउनु भएको थियो। भर्खरै आउनुभएका सिडिओसाहबसँग परिचय पनि थिएन। विगतको अनुभवका कारण समयमै बैठक सुरु होला भन्ने विश्वास थिएन मलाई।

    तर, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले ठीक एक बजे नै बैठक सुरु गर्न खोज्नुभयो। एकजना राजनीतिक दलका नेताले सबैको सहभागिता नभएको भन्दै केही समय पर्खन आग्रह गर्नुभयो। तर उहाँले समयको महत्वलाई प्राथमिकता दिँदै बैठक सुरु भयो। बैठक चलिरहेकै समयमा केही संघसंस्था तथा राष्ट्रसेवक कर्मचारीहरू आउनुभयो। बैठक निर्धारित समयमा सुरु भयो र सकियो। यो राम्रो संस्कार र काम भयो। म मुक्त कण्ठले प्रशंशा गर्छु सिडिओ सावलाई।

    मैले नयाँ संस्कारको विकास भएको अनुभूति गरेँ। अब पक्कै पनि वरिष्ठ पत्रकार कृष्ण आचार्यको घडी उपहार दिने उपहासले सार्थकता पाउला कि जस्तो आश पलायो। म त्यहाँको दृश्य नियालिरहेको थिएँ । मलाई भित्रैदेखि खुसी लाग्यो। युवा प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले समयलाई घडीको चालका रूपमा नभई कार्यसंस्कृतिको आधारका रूपमा स्थापित गर्नुभएको महसुस भयो। उहाँको विषय उठान, प्रस्तुति र काम फत्ते गर्नुपर्छ भन्ने शैली पनि मन पर्‍यो।

    अब समयको अनुशासन र नागरिकले सुशासनको अनुभूति गर्न पाउने विश्वास र भरोसा जगाएको छ। यो एउटा बैठक मात्र थिएन। प्रजिअको काम गर्ने शैली र हाउभाउ जाँच्ने पहिलो खुड्किलो पनि थियो। समयप्रतिको सार्वजनिक व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने एउटा गर्विलो संकेतले म उत्साहित भएँ। यति परिवर्तनले मात्रै पुग्दैन। तर सबैको साथ र सहयोग भए सुशासन र नयाँ थिति बस्छ भन्ने महसुस भएको छ त्यो दिनको बैठकबाट।

    दुई दिने कार्यक्रम र नयाँ संस्कार

    पूर्वनिर्धारित कार्यक्रमअनुसार असोज २ गते बिहान सात बजे ब्याडमिन्टन कार्यक्रम थियो। म र सिडिओसाहव समयमै पुग्यौँ माटिकोरेस्थित कबर्ड हलमा। व्यवस्थापकको तयारी केही थिएन। राष्ट्रिय खेलाडी मिलन कसजु, आशिष थापालगायतको टोली आए पनि कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी अपुरो थियो। त्यो उहाँहरूको कमजोरी नभई ढिला गर्ने परम्परागत संस्कृतिको निरन्तरता थियो।

    मैले र प्रमुख जिल्ला अधिकारीज्यूले पटक-पटक आग्रह गरेपछि करिब ७:२० बजे उद्घाटन सुरु गर्ने कोशिससम्म भयो। अन्ततः कार्यक्रमलाई अगाडि बढाउन हामीले हस्तक्षेप नै गर्नुपर्‍यो। अतिथिहरूको उपस्थिति पातलो थियो। उद्घाटन कार्यक्रम छोटो मन्तव्यसहित करिब २० मिनेटमा सक्यौँ। भाषण होइन, काम गरौँ भन्ने प्रजिअ गुरुङको सोच अग्रगामी मात्र नभई अनुशासनको पालना गराउने अभ्यास पनि हो।

    त्यही दिन बिहान ११ बजे समन्वयको सभाहलमा आयोजित वक्तृत्वकला प्रतियोगिता भने निर्धारित समयमा नै सुरु भयो र सकियो पनि। त्यसैगरी असोज ३ गते संविधान दिवसको दिन प्रभातफेरी पनि घडी हेरेर ठीक ७ बजे सुरु भयो रत्नपार्कबाट। त्रिवेणीचोक हुँदै प्रभातफेरी समन्वयचोक अगाडि पुगेर समयमै सुरु भएर सम्पन्न पनि भयो। खोटाङको सार्वजनिक जीवनमा सर्वदलीय तथा सर्वपक्षीय कार्यक्रम समयमै सुरु र सम्पन्न भएको यो एउटा उल्लेखनीय उदाहरण हो। कार्यक्रम नै नभएको त होइन तर यही ढंगबाट भएको मलाई जानकारी छैन।

    परिवर्तन साझा जिम्मेवारी र दायित्व

    समय व्यवस्थापन एक्लो व्यक्तिको प्रयासले मात्र संम्भव हुँदैन । मैले लामो समयदेखि यो विषय उठाएँ। कहिलेकाहीँ तल्लो तहसम्म पुगेर कुरा राखेँ र रिसाएँ पनि। तर, एक्लै परिवर्तन गर्न कठिन रहेछ। म थाकेको त थिइनँ तर, एक्लिएको पक्कै थिएँ। अब भने प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको साथ पाएको अनुभूति भएको छ मलाई। उहाँले पनि मेरो साथ पाउनुहुनेछ समय व्यवस्थापन र सुशासनका विषयमा। नयाँ अभ्यास र सभ्य खोटाङ बनाउने साँझा दृष्टिकोण बनाउनुपर्छ । यस्तो रचनात्मक काममा राजनीतिक दल, सम्पूर्ण संघसंस्था र नागरिकको सहयोग हुने नै छ।

    समयको अनुशासन कार्यक्रम समयमा सुरु गर्ने विषय मात्रै होइन। यो कार्यालयको काम, विकास निर्माण, सेवा प्रवाह र सुशासनसँग जोडिएको विषय पनि हो। केही निर्माण व्यवसायीको ढिलासुस्ती होस् वा सरकारी कामको कार्यान्वयन। समयमै काम सम्पन्न गर्ने संस्कार स्थापित गर्न सके त्यसको प्रत्यक्ष प्रभाव नागरिकको जीवनमा पर्छ । अशिक्षा, बेरोजगारी र विकासमा पछाडि परेको भूगोललाई अगाडि बढाउन स्रोतसँगै कार्यसंस्कृति पनि बदल्नुपर्छ। समयको सम्मान गर्ने समाजले आफ्नो श्रमको पनि सम्मान पाउँछ। यसबाट विकासको गति बढ्नेमा दुईमत छैन।

    प्रमुख जिल्ला अधिकारी गुरुङको प्रारम्भिक कार्यशैलीमा मैले समय, जिम्मेवारी र कामप्रतिको लगनशीलतालाई प्राथमिकता दिएको अनुभूति गरेको छु। उहाँको आगामी कार्यशैली र गतिविधिले यसलाई अझ पुष्टि गर्दै लैजाने नै छ। सुरुवात प्रशंसनीय र अनुकरणीय पनि छ। जिल्लाको प्रशासन प्रमुख भएको नाताले उहाँमाथि धेरै जिम्मेवारी र जवाफदेहिता छ। विषय सुझाउने र वातावरण बनाउने जिम्मेवारी हाम्रो पनि हो। एक्लै संम्भव छैन । सवैले साथ र हातमा हात दिएर खोटाङलाई नमुना जिल्ला बनाउन अग्रसर हुनुपर्छ।

    निष्कर्ष
    संविधान दिवसले अधिकार र लोकतन्त्रको स्मरण गराउँछ। तर, लोकतन्त्रको संस्कार व्यवहारबाट देखिन्छ। समयको सम्मान गर्नु पनि त्यसैको एउटा महत्वपूर्ण हिस्सा हो। हामीले अरूलाई बदल्नुअघि पहिले आफू बदलिनुपर्छ। कार्यक्रमको निमन्त्रणा पत्रमा लेखिएको समयलाई सम्मान गर्नुपर्छ। ढिला आउनेलाई अपमान नभई समयको महत्व बुझाउने संस्कार विकास गर्दै गयौं भने परिवर्तन संम्भव छ।समय बितेपछि फर्केर आउँदैन । समयको सम्मान गर्ने समाजले आफ्नो भविष्य बदल्न सक्छ। दिक्तेलबाट सुरु भएको यो अभ्यास खोटाङ हुँदै देशभरको सार्वजनिक संस्कृतिमा फैलिनेछ। यसले सुशासन, कार्यक्षमता र विकासको गतिमा समेत योगदान पुर्‍याउनेछ।

    प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङज्यूलाई समयको महत्वलाई व्यवहारमै उतार्नु भएकोमा हार्दिक धन्यवाद। अब यो सुरुवातलाई निरन्तरता दिऔँ। परिवर्तन अरूबाट होइन,आफैँबाट सुरु गर्न सिक्न सक्यौँ भने संविधान दिवसले सार्थकता पाउनेछ। समयलाई आत्मअनुशासनको रूपमा विकास गर्दैं। संविधान दिवसको हार्दिक शुभकामना स्तम्भकार- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगर प्रमुख हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology