समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले तोरी उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको छ। किसानले उत्पादन गरेको तोरीको मात्रा हेर्दै पाथीको २५० का दरले अनुदान रकम बाँड्न थालेको हो।
आर्थिक वर्ष २०७९/२०८० को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रम अनुसार आईतबार केपिलासागढी गाउँपालिका–१ फेदीबाट उत्पादन भएको तोरीको प्रतिपाथी २५० का दरले अनुदान रकम दिन थालिएको गाउँपालिका कृषि शाखा संयोजक साइमन गुरुङले जानकारी दिए।
गुरुङका अनुसार फेदीका २७ जना किसानले ५२९ पाथी तोरी उत्पादन गरे वापत एक लाख ३२ हजार २५० रुपैयाँ अनुदान रकम पाएका छन्। फेदीका सुनमाया तामाङले ४९ पाथी, गौमनी राईले ३८ पाथी, केलासीका कृष्ण कुमार राईले ३२ पाथी, सारालुङका भक्तराज राई र बर्खेका पंचकेशर राईले ३०/३० पाथी तोरी उत्पादन गरेका थिए। फेदीका किसानले ८ पाथीदेखि ४९ पाथीसम्म तोरी उत्पादन गरेको पाईएको छ।
यस्तै,आज (सोमबार) बासपानी र खार्तम्छामा पनि तोरी उत्पादन गर्ने किसानलाई अनुदान रकम वितरण गरिएको छ। बासपानीका ४६ जना किसानले ६६६ पाथी तोरीको एक लाख ६५ हजार अनुदान रकम पाएका छन्। बासपानी खोक्माका किरण राईले ५० पाथी, खोक्माकै दिपेन्द्र राई र मासबारीका कोष बहादुर राईले ४०/४० पाथी, सुरेन्द्र विक्रम गुरुङले ३५ पाथी, कृष्ण कहादुर लिम्बु र कुल बहादुर सार्कीले ३०/३० पाथी तोरी उत्पादन गरेका थिए। बासपानीका किसानले ३ पाथीदेखि ५० पाथीसम्म तोरी उत्पादन गरेको पाईएको छ।
खार्तम्छाका २८ जना किसानले ५५९ पाथी तोरीको एक लाख ३९ हजार ७५० रुपैयाँ अनुदान रकम पाएका छन्। खार्तम्छा मामातिमका मनभक्त राईले ५४ पाथी, बालाबेशीका एकराज राईले ४२ पाथी, मामातिमका शिद्ध कुमारी राईले ४० पाथी र गौमनी राईले ३८ पाथी तोरी फलाएका थिए। खार्तम्छामा २ पाथीदेखि ५४ पाथीसम्म किसानले तोरी उत्पादन गरेका थिए। कृषि प्राविधिक र वडाका जनप्रतिनिधि घरघर पुगेर उत्पादित तोरीको मापन(तौलिएर) पाथी छुट्याएको गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताए ।
अनुदान रकम केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, वडाध्यक्ष लगायतले वितरण गरेका हुन्। मंगलबार बिहान दिप्सुङमा २९१ पाथीको ७२ हजार ७५० र सुङदेलमा ३६५ पाथीको ९१ हजार २५० तथा बुधबार बिहान सप्तेश्वरमा २३१ पाथीको ५७ हजार ७५० र बाक्सिलामा ९६३ पाथीको दुई लाख ४० हजार ७५० रुपैयाँ तोरी उत्पादन वापतको अनुदान रकम किसानलाई बाँडिनेछ।
गाउँपालिकालाई तेलमा आत्मनिर्भर बनाउन तथा तोरी उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने लक्ष्यले अनुदान रकम वितरण गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए। अध्यक्ष राईका अनुसार तोरी प्रशोधन गरी तेल पेल्नलाई गाउँपालिकाले तीनवटा मिल ल्याईसकेको छ। मिल सामूहिक रुपमा वितरण गरिनेछ। आगामी वर्ष शत प्रतिशत तोरी उत्पादन हुने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology