समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका शैक्षिक सुधार गर्ने रणनीतिमा अघि बढेको छ। सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थालाई देखेर शैक्षिक सुधारका निमित्त गाउँपालिका सिर्जनात्मक र रचनात्मक ढंगले अघि बढेको हो।
गाउँपालिकाले शुक्रबार गाउँपालिकाभरीका ८ वटा मावि र २९ वटा आधारभूत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई राखेर अन्तरक्रिया तथा संयुक्त बैठक गरेर अनुगमनको पाटोलाई धेरै अघि बढाउने, अस्थायी करार शिक्षकलाई बढी निगरानी गर्ने र मुलतः शैक्षिक सुधारका लागि कक्षा १ देखि कक्षा ३ सम्मका विधार्थीलाई कापी वितरण गर्ने रणनीति सुनाएको हो।
विधार्थीलाई वितरणका लागि पृष्ठभूमिमा गाउँपालिकाको प्रशासनिक भवन तथा फ्रण्टमा गाउँपालिकाको भौगोलिक नक्सा राखेर कापी छापिएको छ। उक्त कापी मंसिर १ गतेबाट कक्षा १–३ सम्मका १ हजार १४ जना विधार्थीलाई विषयगत रुपमा महिना/महिनामा वितरण गरिनेछ। कापीसँगै पेन्सिल पनि दिईनेछ।
वितरण गरिएको विषयगत कापीमा विधार्थीहरुले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गर्न लगाउनुपर्नेछ, शिक्षकले दिएको कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्नुपर्नेछ, कापीको सम्पूर्ण पानाहरु लेखिसकेपछि उक्त कापी सुरक्षितसँग विद्यालयमा वुझाउनुपर्नेछ।
शिक्षकले कापी प्रयोग गराउँदा प्रत्येक दिन कक्षा कार्य र गृहकार्य यहि कापीमा दिई रातो मसिको प्रयोग गरी जाँच्नुपर्ने, कापीको सम्पूर्ण पेजहरु विधार्थीले लेखिसकेपछि प्रधानाध्यापकबाट प्रमाणित गरी विद्यालयमार्फत शिक्षा शाखामा बुझाउनुपर्ने पर्नेछ।
अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिईएको छ/छैन जाँच गर्नुपर्ने र शिक्षकले आफ्नो छोराछोरीलाई दिईएको गृहकार्य अनिवार्य रुपमा गर्न लगाउनु पर्नेछ। त्यसपछि उक्त कापी विद्यालयले गाउँपालिकाको शिक्षा शाखामा बुझाउनु पर्नेछ र नयाँ कापीहरु लिएर विधार्थीलाई दिनुपर्नेछ।
कुन विद्यालयमा कुन–कुन शिक्षकले कति पढाएको छ भनेर शिक्षा शाखाका कर्मचारीले जनप्रतिनिधिको उपस्थितिमा उक्त कापी जाँच गर्नेछ। त्यसपछि अन्त्यमा कापीमा प्रअ र शिक्षा शाखाबाट विषय शिक्षक र कक्षा शिक्षकलाई शैक्षिक गुणस्तर सुधारका लागि ५/५ वटा सुझावसहित कापी विद्यालयलाई फिर्ता दिईनेछ।

गाउँपालिकाले शैक्षिक सुधार लागि अघि बढाएको कापी वितरण योजनाले विधार्थी, शिक्षक र अभिभावकलाई जागरुक बनाउने उपाय भएको अन्तरक्रियामा सहभागी प्रअहरुले बताएका छन्। यो योजना माथिल्लो कक्षाहरुमा पनि लैजानुपर्ने प्रतिक्रिया विव्यास अध्यक्षहरुले सुझाव दिएका छन्।
सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि शिक्षक, विधार्थी र अभिभावकलाई नै इंगेज बनाउने लक्ष्यले कापी वितरणको अवधारणा ल्याईएको गाउँपालिका अध्यक्ष समिर राईले बताए। शिक्षामा सुधार भएन भनेर हामी शिक्षकलाई गाली गर्छौ, कारवाही गर्छौ त्यसले खास परिवर्तन आएको देखिएन। कापी वितरण कार्य साधारण जस्तो छ । गाउँपालिका अध्यक्ष राईले भने, तर ‘यसले शिक्षा क्षेत्र सुधार गर्नुपर्ने सबैलाई परिबन्धमा पार्छ। शिक्षा क्षेत्र स्वतः सुधार हुंदै जान्छ।’
यस गाउँपालिकाको ३७ विद्यालयमा कक्षा ११ बाहेक ३ हजार ३२४ जना विधार्थी अध्ययनरत छन् भने, कक्षा १ देखि कक्षा ३ सम्म १ हजार १४ जना विधार्थी अध्ययनरत रहेको शिक्षा शाखा संयोजक सुरेन्द्र खनालले बताए। खनालका अनुसार चालू शैक्षिक सत्रका लागि १६ हजार कापी छापिनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology