• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

छिनछिनमा जाने,आउने विजुलीबाट हैरान भए सेवाग्राही, मिनि-अक्सिजन प्लान्ट खतरामा

छिनछिनमा जाने,आउने विजुलीबाट हैरान भए सेवाग्राही, मिनि-अक्सिजन प्लान्ट खतरामा


समायोजन खबर
  • मंगलबार, असार १५ २०७८

  • बाक्सिला बजार। फाईल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा छिनछिनमा आउने र जाने विजुलीका कारण सेवाग्राहीहरु हैरानी खेप्न वाध्य छन्। जिल्लाको उत्तरी क्षेत्रको रावाबेंशी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा विजुली वत्ती छिनछिनमा आउने र जाने हुंदा हजारौ सेवाग्राहीले हैरानी खेप्न वाध्य र आर्थिक भार व्यर्हाेनु परेको छ।

    विजुली वत्ती वारम्वार आउने जाने भईरहेको रावाबेंशी गाउँपालिकाका कम्प्युटर अपरेटर नर बहादुर श्रेष्ठले जानकारी दिए। कुभिण्डेका स्थानीय समेत रहेका श्रेष्ठका अनुसार कामको चटारोमा विजुली वत्ती छिनछिनमा आउने जाने हुंदा झन गाह्रो हुने गरेको छ। वत्तीलाई व्यवस्थित र निरन्तरता दिन प्राधिकरणले चासो नदेखाएको रावाबेंशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए। यसकारण घरायसी विधुतीय सामानहरु नष्ट भएको र सेवाग्राहीहरुले अनावश्यक आर्थिक भार ब्यहोर्नु परेको निरौलाको भनाई छ।

    केन्द्रीय प्रसारण लाईन विस्तार भएको अधिकांश स्थानमा प्रायजसो कम भोल्टेजमा बत्ती आउने र घुमाउरो रुपमा दैनिक २०/२२ घण्टाजति लोडसेडिङ हुने गरेको बाक्सिलाका स्थानीय तथा बाक्सिला फुटबल क्लबका अध्यक्ष शिव राईले बताए। बारम्बार बत्ती आउने जाने भएपछि बाक्सिलाका स्थानीय मदन श्रेष्ठले ‘बाक्सिला पट्टिको लाईन हेर्ने प्राविधिक नविन तामाङको फोन नम्बर’ फेसबुकमा सार्वजनिक गरेका छन्।

    वत्तीमा समस्या आएमा बनाउन मात्रै दुई दिन लाग्ने, दुईतीन दिन लो भोल्टेज आउने, पटक–पटक बिजुली आउने जाने भईरहने र गाउँपालिकामा महिनामा लगभग १५ देखि २० भन्दा विजली नआउने केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए। बत्ती गएको एक डेढ घण्टामा सम्पर्क गर्छु, बन्दैछ, मान्छे गईसक्यो भन्ने गर्छ, कर्मचारीले पनि जिम्मेवारीपूर्वक काम गरेको पाईन्दैन। गाउँपालिका अध्यक्ष राईले भने, ‘विधुत मर्मतका लागि आएको वजेट सही ठाउँमा खर्च नगर्दा विजुली वत्ती लथालिङग भएको छ। जनताले हैरानी मात्रै खेप्नु परिरहेको छ।’

    यस विषयमा कार्यालय प्रमुखसँग पनि कुरा गरेको तर चासो नदेखाएकाले यो समस्यालाई लिएर माथिल्लो निकायसम्म जाने तयारी भईरहेको गाउँपालिका अध्यक्ष राईले बताए। उता ऐसेलुखर्कका टेकेन्द्र राजभण्डारीले सम्पूर्ण उपभोक्ताहरुको तर्फबाट फेसबुकमा लेखेका छन् “केन्द्रीय विधुत ऐसेलुखर्कमा एक–एक छिनमा जानुको कारण के हो ? यसको समाधान चाँडो होस, सरोकारवालाहरुको तुरुन्त ध्यान जाओस।” राजभण्डारी जस्तै दर्जनौ सेवाग्राहीले वत्तीको विषयमा चासो र चिन्ता व्यक्त गरिरहेका छन्।

    छिनछिनमा विजुली जाने आउने हुंदा गाउँपालिकावासीले दुःख पाएको छ। विजुली पिलिक–पिलिक गर्दा विधुतीय सामानहरु पड्केर खतम छ। ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले भने, ‘वर्षदिन हुन लाग्यो मिटर रिडिङ भएको छैन। समस्या समाधानका लागि भन्दा हेर्छौ भन्छ विधुतको ब्यावस्थापन फितलो छ।’

    विधुत छिनछिनमा आउने जाने र भोल्टेज तलमाथि हुंदा ऐसेलुखर्क गाउँपालिकाले केही समय अघि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा जडान गरेको मिनि–अक्सिजन प्लान्टलाई सबैभन्दा धेरै असर पुगेको छ। विधुतकै कारण प्लान्टका उपकरणहरु बिग्रने संम्भावना बढेर गएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। छिनछिनमा वत्ती आउने जाने, भोल्टेज तलमाथि हुंदा सेवाग्राहीहरुको घरमा भएको टीभी, रेडियो, मोवाईल पड्कने, बल्व जल्ने र अन्ततः विधुतीय दुर्घट्ना निम्तने खतरा बढेर गएको छ।

    हावाहुरी, चट्याङले डिस्टर्भ गरेका कारण केही दिन वत्तीमा समस्या आएको तर दुईचार दिन यता वत्ती ठिक भएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललित नारायण चौधरीले दावि गरे। लामो लाईन, एउटै फिडर (बुईपा–हलेसी–नुनथला–रावाबेशी–केपिलासगढी–ऐसेलुखर्क गाउँपालिकासम्म) प्रसारण लाईन भएकाले वत्तीमा समस्या आउने गरेको तथा सुधार र सुदृढीकरणका लागि केन्द्रसँग पहल गरिरहेको प्रमुख चौधरीले बताए।
    प्राधिकरणको केन्द्रीय आयोजना अन्तर्गत बाक्सिलामा निर्माणाधिन सबस्टेशन निर्माणको काम पनि लथालिङ्ग छ। निर्माण सम्पन्न भएर चालू हुनुपर्ने सबस्टेशन विविध कारणले चल्न नसकेको प्राधिकरण प्रमुख चौधरीले बताए। केन्द्रीय आयोजना भए पनि केन्द्र र निर्माण व्यावसायीसँग कुरा गरेर सबस्टेशन निर्माणमा पहल गरिरहेको उनले बताए।
    टेलिफोनमा उस्तै समस्या, सम्बन्धित निकायलाई छैन चासो
    रावाबेंशी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा फोनमा सबैभन्दा बढी समस्या छ। हत्तपत्त फोन नलाग्ने, फोन लागे आवाज नबुझिने, बोल्दा बोल्दै फोन काटिने, नेटवर्क जाने समस्या रहेको छ।

    केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको घिनुडाँडामा रहेको टावरले काम नगर्दा दुई महिना बढि टेलिफोनमा समस्या आईरहेको छ। एउटै फोन गर्नलाई सयपल्ट जति डायल गर्नुपर्ने केपिलासगढी गाउँपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत संगम खतिवडाले बताए। गाउँपालिकाबाट फोनको टावर २ किलोमिटरमा छ तर, फोन पटक्कै लाग्दैन कहिले कांही त नेटवकै नै जान्छ । फोनले काम नगर्दा कार्य सम्पादनमा बाधा पुगेको खतिवडाले सुनाए।

    रावाबेंशी गाउँपालिकाको केही स्थानमा बाहेक नेपाल टेलिकमको फोन चल्दैन। ऐसेलुखर्क गाउँपालिकामा पनि फोनको समस्या उस्तै छ। नेपाल टेलिकमले झुलेडाँडामा टावर ठडाए पनि सञ्चालन नगर्दा समस्या भएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए। सञ्चलान गर्न आग्रह गर्दा गर्छु मात्रै भन्ने तर सञ्चालन नगर्ने प्रवृत्तिले जनता फोन सेवाबाट बञ्चित हुनु परेको निरौलाको भनाई छ।

    बाक्सिलाको घिनुडाँडा टावरको क्षमताभन्दा बढी प्रयोगकर्ता बढेकाले समस्या भएको र कोरोना भाईरस सामान्य भएपछि सामान झिकाएर क्षमता बृद्धि गरिने नेपाल दुरसञ्चार शाखा कार्यालय खोटाङका प्रमुख खगेन्द्र बलम्पाकीले बताए। रावाबेंशी गाउँपालिकाको दुवेकोलडाँडामा निर्माण सम्पन्न भएको टावरमा विुधतीकरण काम नै भएको छैन। ऐसेलुखर्क गाउँपालिकाको झुले डाँडाको टावरसम्म लैजान विजुलीको तार नपुगेकाले काम अड्किएको बलम्पाकीले बताए। काम कहिले हुन्छ भन्ने प्रश्नमा बलम्पाकीले अनविज्ञता प्रकट गरे।
    यो पनि पढ्नुहोस : खोटाङमा दश वटा टावर निर्माण

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology