समायोजन खबर खोटाङ, यतिबेला प्रिमनसुनसँगै चट्याङ पर्ने क्रम बढेको छ । सरकारी तथ्याङ्क अनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको ज्यान जाने गरेको छ ।
के हो त चट्याङ ?
चट्याङ आकाशमा क्युमलोनिम्बस नामको एक किसिमको बादल निर्माण हुने बेला मात्र देखा पर्ने गर्छ । यस्तो बादलको स्वरुप कालो हुने गर्छ भने यस्तो बादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ ।
चट्याङ शक्तिशाली बिजुलीको धार हो । गर्मी महिनामा जमिन तातो भएपछि तातो हावा आकाशमा जाने र बादलभित्र हावा तलमाथि हुँदै गर्दा उत्पन्न हुने घर्षणपछि करेन्टको उत्पति हुन्छ । यसरी उत्पन्न भएको करेन्टको धार पोजेटिभ र नेगेटिभ हुने र यी दुई धार आपसमा जोडिएर चट्याङ पर्ने वरिष्ठ मौसमविद् मणिरत्न शाक्य बताउनुहुन्छ । 
वैज्ञानिक अध्ययन अनुसार एक पटक चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा त्योभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुन्छ । यति धेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भइ प्रवाहित हुने बेला यसको संसर्गमा आउने मानिस वा अरु कुनै प्राणीको ज्यान जाने गर्छ ।
आकाशमा एक चोटी बिजुली चम्कने बेला वायुमण्डलमा अत्यधिक मात्रामा तापशक्ति पैदा हुने गर्छ । यसले वायुमण्डललाई आकस्मिक रुपमा तताइदिन्छ । अध्ययन अनुसार आकाशमा एक चोटी बिजुली चम्कने बेला वायुमण्डलीय तापमान एक्कासी बढेर ३० हजार डिग्री सेल्सियस वा त्योभन्दा बढी पुग्न थाल्छ ।
यो पनि,चट्याङ पर्दा एक पुरुष र महिलाको ज्यान गयो
मौसमविद शाक्य भन्नुहुन्छ, ‘आकस्मिक रुपमा क्षणभरमै वायुमण्डलीय तापमान यति धेरै बढ्ने कारण त्यस क्षेत्रको वायुमण्डल तातिएर आयतन वृद्धि हुन थाल्छ, जसले गर्दा त्यहाँ एक किसिमको विस्फोटनको आवाज निस्कने गर्छ । र यसलाई मेघगर्जन भनिन्छ । यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुको साथै मेघगर्जनको आवाज आउने गर्छ ।’
वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार चट्याङ चार किसिमका हुन्छन् ।
आकाशबाट आकाशमै पर्ने
बादल र बादलसँगैको हावामा पर्ने
जमिनबाट आकाशमा जाने
र आकाशबाट जमिनमा आउने ।
यसमध्ये आकाशबाट जमिनमा आउने चट्याङ सबैभन्दा खतरनाक हुने गर्छ ।
चट्याङबाट कसरी जोगिने ?
प्रकृति र मौसमसँग सम्बन्धित हुने भएकाले चट्याङलाई टार्न सकिन्न । तर यसबाट हुने नोक्सानीलाई भने कम गर्न सकिन्छ । नेपालमा चट्याङ परेका बेला घरभित्रै बस्नु नै चट्याङबाट जोगिने उत्तम उपाय भएको विज्ञ बताउँछन् ।
सामान्य सावधानी अपनाउन सके चट्याङबाट बच्न सकिन्छ । जस्तै,
रुखको फेदमा र छेउछाउमा आड लगाएर बस्नु हुँदैन
मेघगर्जनसहित पानी पर्दा घरबाहिर निस्कन हुँदैन
पौडी पोखरी र आसपासमा जानु हुँदैन
रुखको फेद र आसपासमा बस्नु हुँदैन
छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन भने बिजुलीबाट चल्ने उपकरण बन्द गर्नुपर्छ
घरबाहिर भए मोटरगाडीभित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ (मोटरको टायरले विद्युतीय धारलाई भू सतहसँगको संसर्गबाट अलग्याइदिने भएकोले चट्याङले असर पार्न सक्दैन
कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउकोमाथि राखी निहुरिएर बस्नुपर्छ
तर भुइँमा लम्पसार पर्ने वा सुत्ने गर्नुहुँदैन, यसले चट्याङको खतरा झन् बढी हुने गर्छ ।
यस्तै मेघगर्जनसहित पानी परिरहेको बेलामा ती पानीको थोपामा पनि विद्युत् चार्ज भइरहेको हुन्छ । त्यसैले मेघगर्जनसहित पानी परेको बेला जोखिम धेरै हुन्छ । यस्तो बेला हिँडडुल गर्न नहुने विज्ञको भनाइ छ ।
२०६८ सालदेखिको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा वार्षिक एक सय जनाको चट्याङका कारण ज्यान जाने गरेको छ भने झण्डै पाँच सय जना घाइते हुने गरेका छन् । गएको एक महिनामा मात्रै चट्याङका कारण १४ जनाको ज्यान गएको छ । अध्ययनले संसारमै चट्याङका तीन ‘हटस्टप’मध्ये नेपाललाई एक मानेको छ । चट्याङको नक्साले अफ्रिकाको कङ्गो क्षेत्रलाई सबैभन्दा जोखिममा देखाएको छ भने त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरिपरिको क्षेत्र र अर्को जोखिमयुक्त क्षेत्र नेपाललाई देखाएको छ । वरिष्ठ मौसमविद् मणिरत्न शाक्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँगको कुराकानीमा आधारित । २०७७ बैशाख २७ गते बिहान ९ : ४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology