डोमा शेर्पा

संसारका धेरै ठाउँमा नयाँ वर्षलाई इस्वी संवत्, विक्रम संवत्को रुपमा मनाउने गरिन्छ तर हिमाली भेगमा बसोवास गर्ने आदिवासी जनजातीलगायत बौद्ध धर्मालम्बीहरुले नयाँ वर्षका रुपमा लोसार मनाउछन् । लोसार बौद्ध धर्मालम्बीहरुको महान् पर्व हो । जस्तै हिन्दु धर्मालम्बीहरुको दशैं–तिहार भनेजस्तै बौद्धधर्मालम्बीहरुको मुख्य पर्व लोसार हो । लोसार शब्द लोछार शब्दबाट अपभ्रंस भई लोसार शब्दको उत्पति भएको हो । “लोसार” शब्दमा “लो”ले बर्ष र “सार” ले नयाँ भन्ने जनाउँछ ।
लोसार पुष महिनाबाट सुरु भइ फागुन महिनामा समाप्त हुनेगर्छ । लोसार विषेश गरी हिमाली आदिवासी जनजाती शेर्पा, तामाङ्, गुरुङ, मागर, ह्याल्मो, तिब्बती लगायत बौद्ध धर्मालम्बीहरुले अघिल्लो साललाई बिदाई गर्दै नयाँ सालको स्वागत गर्न मनाइन्छ । नराम्रा घटना नहोन्, परिवार र सम्पुर्ण प्राणीहरुमा सधै सुख शान्ति छाइरहोस् भन्ने कामना गर्दै हर्षउल्लासका साथ घर परिवार, आफन्त र साथीसङ्गीसँग शुभकामना आदन प्रदान गरी १० देखि १५ दिन (छेवा चिकदेखि छेवा चेङा सम्म) लोसार मनाउने गरिन्छ ।
तमु लोसार पुष महिनामा गुरुङ समुदाय, सोनाम लोसार तामाङ् समुदाय, र ग्याल्वो लोसार नेपालको महायानी बौद्ध धर्मालम्बी शेर्पा, ह्याल्मो समुदायले फागुन महिनामा मनाउने गर्छ । नेपालको महायानी बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय पर्व “ग्याल्पो लोसार” मे मो च्या लो (चरा स्त्री बर्ष) २१४४ को अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि १५ दिनसम्म लोसार मनाउने गरिन्छ । त्यस्तै शेर्पा समुदायमा रहेका संघसस्था, “किदुक”हरुले पनि लोसारमा विभिन्न खालका कार्यक्रमहरु आयोजना गरी मनाउने गर्छन । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सामुहिक रूपमा लोसार मनाउन वार्षिक रूपमा “लोसार गुथुक साँझ” कार्यक्रम आयोजना गर्दै आएको छ । यस कार्यक्रममा विभिन्न जिल्लाबाट काठमाडौँमा आई बसोबास गर्ने मानिसहरुको सक्रियता र सहभागिता विशेष खालको छ । भाषा, कला र संस्कृतिको जगेर्ना गर्न खोलिएका यस्ता संघसंस्थाहरूले स्याब्रु नृत्य, शेर्पा भाषाको संरक्षणका लागि स्व. साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता वरिष्ठ हास्यव्यंग्य कलाकार “स्व. साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७३” कार्यक्रम सम्पन्न भएको छ ।
लोसार, (नयाँ साल) आउनुभन्दा दुई तीन दिन अगाडि घर, आगान, सरसामान सफा गर्नै र “घरबाट निस्केको फोहोर”लाई रितिरिवाज अनुुसार चौबाटोमा फ्याक्ने चलन रहेको छ । घरबाट निस्केको फोहोर फालिसकेपछि बेलुका गुथुक खाने गरिन्छ । गुथुक भनेको नौ प्रकारको गेडागुडी मिसाएर तयार परिएको परिकार हो । यसमा – भटमास, केराउ, सिमी, चना, चामल, मकै, गहुँ, मुला, चालम आदि मिसाइएको हुन्छ । यो परिकार घरका सबैले खान्छन्, गुथुक खाँदा सर्वप्रथम भगवानलाई चढाइसकेपछि परिवारको सदस्य सङख्या अनुसार पिठोको डल्लोहरु बनाई त्यसभित्र विभिन्न जस्तै खोर्सानी, कागज, नुन, कोइला, ध्यु आदि लगाएर प्रत्येक परिवारको सदस्यलाई दिइन्छ । जसलाई जे पर्छ त्यसको बानी त्यस्तै रहने धार्मिक भनाइ रहेको पाइन्छ । सबैले खाइसकेको उभ्रिएको गुथुक चाहिँ दोवाटोमा फाल्ने चलन रहेकोछ ।
गुथुक खाइ सकेपछि अघिल्लो साललाई विदाइ गर्दै नयाँ सालको पहिलो दिन (छेवा चिक)का दिनमा विहान सबेरै (चराचुरुङ्ी उठ्नु भन्दा अगाडि) दुइ तिन बजे पानी पधेँरामा वा धारामा गई पुजा पाठ साङँ सेर्ङिम(करकेन, खादा धुप आदि) गरि चोखो पानी ल्याएर घरमा भगवानलाई चढाउने गरिन्छ यो प्रक्रियालाई लच्छिण भित्राएको पनि भनिन्छ । यसरी जति छिटो पानी ल्याएर चढायो त्यति नै राम्रो मान्ने लोक विश्वास रहेको छ । लोसारका लागि तयार परिएरकोे प्रसाद (छौ) भगवानलाई चढाउने चलन पनि रहेको छ । भगवानलाई चढाइसकेपछि घरका ठुलाबडाबाट आशिर्वाद लिइ, चिया(खाप्सा) लगायत अन्य प्रसाद खाने गरिन्छ र विषेश गरि छ्याङमा, छुर्पीको पिठो, बदाम, नरिवाल आदि हाली छ्याङगुल खाने चलन छ ।
लोसारमा अशुद्धलाई शुद्ध बनाउन नयाँवर्षको पहिलो दिन धूपबत्ती बाली साङ सेरङिम पूजा गरिन्छ । लोसारका लागि तयार परिएका परिकार छिमार, खाप्से, लगायतका प्रसाद भगवान्लाई चढाइन्छ । र घरका सबैले सम्भव भए नयाँ वा सफा लुगा लगाएर मन्याजनसँग आर्शीवाद लिन जाने गरिन्छ ।
लोसार पर्वमा आफ्नो जन्मदिन अनुुसारको शुभतिथि (सिज्या) हेरी घरको धुरी, आँगन तथा डाँडाहरूमा दीर्घायु, सुस्वास्थ्य, र शान्तिको कामना गर्दै लुङ्दार अथवा ध्वाजा टाङ्ने गरिन्छ ।
लोसारको पहिलो दिन लामा लोसार, लामा वा गुरुका नाममा मनाउने गर्छन त्यसदिन अरुको घरमा नजाने, दोस्रो दिनमा बाबुआमाको लागि र उनीहरुबाट आशिर्वाद लिने गरिन्छ । तेस्रो दिनमा राज्य सासनमा बस्नेहरुले र चौथो दिनमा सामान्य रुपमा मनाउने गरिन्छ । गाउघरमा सबै जना मिली सफा ठाउँमा डाँडामा गइ “लप्सु” मनाउने गरिन्छ । यसमा घरका सबैजना सहभागी भइ नयाँ बर्षको अवसरमा मान्यजनबाट आर्शीवाद र एक आपासमा शुभकामना आदन प्रदान गर्नै गरिन्छ ।
धार्मिक ग्रन्थहरुमा लोसार भनेको हरेक वर्ष लोसार, लोछार आउछ भनिएको छ । अर्थात १२ ओटा जनावारहरुको नामबाट सर्मपित नयाँ बर्ष पालैपालो आउने गर्छ । यसरी एउटा जनावारको चक्र पुरा हुनलाई १२ वर्ष लाग्छ । एउटा जनावारको समय सुरु भएपछि अर्को जनवारमा सर्मपित नभएसम्म त्यो बर्ष त्यसको नै शासन चल्छ ।
पहिला शाक्यमुनि भगवान गौतम बुद्धको परिनिर्माण हुनु भन्दा पहिला सवै जिवजन्तुहरुलाई आफ्नो अन्तिम दर्शनका लागि आउन अनुरोध गर्नुभएको थियो । त्यस समयमा १२ ओटा जनावर क्रमशः उपस्थित भए । उपस्थित क्रम अनुसार १२ ओटा जनावरको चक्र बनाई बर्ष निर्माण गरियो जसमा चरा, कुकुर,सुगुर, मुसा, गोरु, सिंह, खरायो, गरुढ, सर्प, घोडा, भेडा, र बाँदर पुगेको र त्यसैको आधारमा बर्ष गन्ति गरिने गरिन्छ । १२ वटा जनावारहरुमा आधारित बर्ष परम्पराको सुरुवात शाक्यमुनि बुद्धभन्दा पहिला भएको हँुदा शाक्य मुनि बुद्धभन्दा पहिलाका बुद्धत्व प्राप्त गरेका शाक्य बुद्धहरुले गरेको शाक्यमुनि बुद्धको भनाइ रहेको छ ।
लोसारका सम्बन्धमा बौद्ध महासंघका उपाध्यक्ष एव धर्म गुरु आर्चाय नुर्बु शेर्पाले हिमाली भेगमा बसोबास गर्ने आदिवासी तथा बौद्धधर्मालम्बीहरूले नयाँ वर्ष लोसारलाई स्वागत गर्न, नराम्रा भावनाहरू मनबाट हटाइ नयाँ सोच र भावनाका साथमा अगाडि बढ्न, सबैमा सुखशान्ति एवम् समृद्धि कायम होस् भन्ने कामना गर्दै लोसार मनाउने गरिएको बताउनुभएको छ ।
बौद्ध धर्मालम्बीहरू पनि २ प्रकारका छन् । यसमा उत्तरतर्फ र दक्षिणतर्फ विकास भएका सम्प्रदाय छन् । अहिले यो दक्षिणतिर विकास भएको बौद्धधर्महरू (थेरवाद) जसमा श्रीलङ्का, थाइल्याण्ड, बर्मा आदि र उत्तरमा नेपाल र भारतको हिमाली क्षेत्र, चीन जापान (महायानी) धर्म भनिन्छ । महायानीहरूले चाहिँ लोसार मनाउने गर्छन् । उहाँले भनेअनुसार लोसारमा विहान सवेरै उठेर पानी ल्याई भगवान्लाई चढाउनु भनेको निस्वार्थ भावनाले दान गरेको जस्तै हो ।
त्यसै गरी लोसारका बारेका अर्का धर्मगुरु ङ्वाङ कोन्ज्योक लामाका अनुुसार लोसार भनेको पुरानो साल अन्त्य भएर नयाँ सालको सुरुवातलाई स्वागत गर्न मनाउने पर्व हो । जसमा पहिला जमरा राखिन्छ त्यसपछि छेचिकमा चाहिँ राति पानी थापेर ल्याएर भगवान्लाई चढाउने गरिन्छ । छेचिकमा पानी ल्याउने र लच्छिन भित्र्याउने गरिन्छ । त्यसभन्दा पहिला घर सफा गर्ने गरिन्छ ।
(लेखक आदिवासी जनजाती युवा महासंघ, नेपालका संचार सचिवसमेत हुन् )
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology