जाङिमा ‘च्यावा’ शेर्पा
फेरी आज यो मन ,अक्षरमा रूपान्तरित हुदै शब्दसंग खेल्दै,सपना या बिपनामा त्यही गाउँको पाखा पखेरा तिरै रूमलिरहेछ।यो बेग्लै कुरा हो कि समय र परिस्थितले आऊजाउ कहिलेकाही मात्रै भएतापनि रितिएको छैन आत्मियता जीवनभर।रितिएन यादहरूको तरोताजा श्रृंखला।चारै तिरा पहाडले घेरिएको अनि पाखा बारीमा बिभिन्न हरियाली रूखहरूले भरिभराउ,निलो आकाशमा बादलको छिर्केमिर्के संगै आकाश र बादल बीचको त्यो अथाह सौन्दर्य र अनौठो सुन्दरता बीच लुटपुटिएको त्यही यलुङ गाउँको यादहरू तरोताजा भएर यो मनमा आइरहन्छ सधै।बिकासको मुलधरबाट टाढा रहेको भएतापनि दिलै देखि गाला तन्काएर प्रफुल्ल मुद्रामा हाँस्ने स्थानिय पौरखी हातको स्नेह र स्पर्सले बनाएको डब्बा भित्रका छिप्पिएका जाँड र तीन पाने रक्सी पिउँदै सकदवा,छेच्यु अनि मेलापातमा सहपाठीहरूसंग जुवारी खेल्न कम त मज्जा आउदैनथ्यो त्यो समय।जुन मज्जालाई अर्थ्याउन मसंग कुनै शब्द छैन।जसलाई सम्बोधन गर्न सही उच्चआदर्थी र सम्मानयोग्य शब्दको खोजमा यो मन धेरै दिन देखि दौडिरहेको छ ।
यलुङ गाउँमा हर्षोउल्लासका साथ मनाउने ‘छेच्यु पर्ब’बौद्व धर्मको साथै शेर्पा जातिको एउटा महात्वपुर्ण पर्ब हो।यो तीन दिन तीन रात धुमधामसंग मनाइन्छ।श्रुर्ती इतिहास अनुसार बि.सं १६६८ सालमा ‘च्योरूङ खश्योर किलखोर छ्योर्तेन’ नामको बौद्व स्तुपाको निर्माण भएदेखि नै यो छेच्यु पर्ब यलुङ गाउँमा मनाउँदै आइरहेको जनबिश्वास रहेको पाइन्छ।छेच्यु पर्बले शताब्दीयौ पार गर्दै एउटा इतिहासको रूपमा खडा भएको छ।यो पर्बको शेर्पा समाजमा आफ्नै बिशेष महात्व छ।यस्तो ऐतिहासिक शेर्पा र बुद्व धर्मसंग संम्बन्धित पर्ब मनाउने शेर्पा बस्ती बिशेष अनुसन्धान गर्दा नेपालमा थोरै औलामा गन्न सकिने मात्रै देखिन्छ ती मध्ये ‘यलुङ गाउँ’ पनि एक पर्न आउँछ।यस गाउँमा छेज्यु सकदवा ङ्युने देछ्यावा र ल्होसार अति नै भब्यताका साथ मनाईन्छ।बुद्विष्ट पात्रो अनुसार प्रत्येक महिनाको दशमीमा एक तुक्षेन पर्छ। उक्त दिन भगवान बुद्वले मनुष्य जातिलाई धर्म बारे प्रबचन दिएको भनेर उल्लेख गरेको पाइन्छ।यसै प्रकारले शेर्पा संम्बतको छ महिना पुगेपछि ढुक्पाछेज्यी पर्छ।यसैगरी नबौ महिनाको २२ तिथी अर्थात पुर्णिमाको सप्तमीमा ल्हापअ तुछेन पर्छ।यसरी १२ औ महिनाको दशमीबाट पुर्णिमा सम्म त्यसै बर्षको तुक्षेनलाई समेटी छेच्यु पर्ब धुमधामले मनाएको पाइन्छ।यो पर्ब आउन अब लगभग एक महिना जति मात्रै छ।मान्छेको ग्रह दशा हटाउनको निम्ति बिभिन्न प्रकारको देउता भुतप्रेतको मुखुण्डो लगाएको समुहलाई बाघ,सुँगुर वा भेडा बर्गको दुइ जना अनुहारमा कालोमोसो लगाई हातमा ढाल र तरबार लिएर ती मुखुण्डो तिरा चो हो–चो हो भनेर झम्टिने गर्छ,जसलाई ‘तन ग्याकु’ भनिन्छ।
साथै अन्य ठट्यौली नाचहरू पनि देखाउदा मान्छेहरू एक छिन भएपनि सारा दुख बिर्सेर दिल खोलेर हाँसिरहेको पाइन्छ। साँस्कृतिक र सामाजिक रूपले जगारूक त्यही गाउँमा,त्यही ठाउँमा आफुभन्दा मान्यजनहरूको दौरा र बख्खुको फेरो समातेर घुम्दै फिर्दै हुर्केको पत्तो नै भएन।जवानीका ती दिनहरूमा अत्यन्त उत्साह पुर्बक छेच्युको रमाइलो मेलामा जुवारी खेलेको,टुङ्ना र बच्चैबाजाको तालमा नादिङ् पारामा न्वरान देखिको बल र ढाँचा निकाल्दै नाचेको साथै त्यसले उत्पन्न गर्ने रोचकताको कुन शब्दले बयान गरू।
जे होस् संसारिक चिन्ता खासै नभएका त्यसबेला जीवनका स्वर्निम पलहरूबाट गुजरीरहेको थिए। हिज्जै जस्तो लाग्छ,आज पनि यो मनमस्तिष्कमा तरोताज भएर आइरहेको छ। समस्टिगत रूपमा बुझ्दा जीवन भनेको नै एउटा सम्झनाको श्रृखला मात्रै त रहेछ।थुज्ये छे।
दोलखा,जिरी नगरपालिका १ ‘यलुङ’ हाल:काठमाण्डौ