– भाषाविद् अमृत योन्जन तामाङ
नेपाल तामाङ घेदुङको स्थापना विधिवत् रुपमा २०४७ को जेठमा भएपछि ल्होछारबारे थप चर्चा चल्न थाल्यो। घेदुङले तामाङ जातिमा राष्ट्रिय चाड खडकेकोले ल्होछार छान्ने प्रयास गर्यो। य्होल्मो लगायतका समुदायसँग छलफल गरेपछि माघे औंसीको भोलिपल्ट (माघ शुक्ल प्रतिपदाको दिन) ल्होछारको तिथि तय गर्यो। उक्त दिन सरकारी विदा गराउन प्रयास जारी राख्यो। २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ‘सोनाम’ ल्होछारको दिन सरकारी कर्मचारीहरुको लागि विदा दिने घोषणा गर्यो।
यस घोषणाले एकातिर परम्परागत रुपमा चलिआएको ल्होछारलाई गाउँघर र परिवारमै सिमित गरायो भने अर्कोतिर काठमाडौंमा ‘तामाङ राष्ट्रिय चाड’को पनि विधिवत् रुपमा सुरुवात् गरायो। यसका साथै थप चर्चा परिचर्चा पनि हुन थाल्यो अनि ल्होछार मनाउने अन्य समुदाय र तामाङहरुबिच पनि पर्याप्त छलफल नगराएको भन्दै पक्ष-विपक्ष र सहमत-असहमतको बिउ पनि उमार्यो।
००००
ल्होछारका दिन विदाको घोषणा गरिए पछि नेपाल बौद्ध मैत्री महासङ्घले “तापा ङ्ह्या”
[१] पुसको पूर्णिमाको दिन ‘ल्होछार’ मान्नु पर्ने प्रस्ताव अगाडि सार्यो
[२] र “मुदिङ (आकास वर्ष) क्यालेण्डर” पनि प्रचारमा ल्यायो। केही वर्ष यो ल्होछारको जोडतोडका साथ प्रचार-प्रसार पनि भइरह्यो।
शेर्पाहरु पनि फागुन शुक्ल प्रतिपदाको दिन ग्याल्पो ल्होसारमा विदा घोषणा गराउन जुर्मुराउन थाले। यसपछि ‘ग्याल्पो ल्होसार’ पनि सतहमा आउन थाल्यो। केही वर्षको प्रयास पछि उनीहरु पनि सरकारी विदा घोषणा गराउन सफल भए।
यसपछि तामाङहरुको एउटा धार्मिक समुह पनि ग्याल्पो ल्होसारको पक्षका खुलेर आउन थाल्यो। चर्का चर्की वहस शुरु हुन थाल्यो ।
अहिलेका तामाङहरु कुन ल्होछार ठीक र कुन बेठीकको दोधारमा देखिन्छन् ।
[३] उनीहरु मुख्यतः दुइवटा विवादमा देखिएका छन्-
(क) ल्होछार ‘सोनाम’ मान्ने कि ‘ग्याल्पो’ ?
(ख) ‘ल्होछार’ भन्ने कि ‘ल्होसार’ ?
तेस्रो विवाद पनि देखिन थालेको छ- ल्होछार नयाँ ‘वर्ष’ हो कि ‘चाड’ ? यसै क्रममा हाल ‘सक्कली पात्रो’ र ‘नक्कली पात्रो’ को चर्चा पनि चल्न थालेको छ।
००००
[१] मोक्तान, दुपवाङगेल (२०१५) लेख्छन्- “पुस पूर्णिमालाई तामाङहरु ‘तापा ङ्ह्या’ भन्दछन् । परापूर्वकालदेखि नै अधिकांस तामाङहरुले यस पूर्णिमा (तापा ङ्ह्या) नै ल्हो फेरिन्छ भन्ने मान्यता राख्दै आएको पाइन्छ” (पृ. ४) तामाङ र ल्होछार । तर परशुराम तामाङ (२०५५)ले ल्होछार परम्परा शीर्षक पुस्तकमा “तामाङ मुदिङले पौष पूर्णिमालाई ल्होछार मान्दछ, जुन एशियामा चलेको कुनै पनि चन्द्र पात्रो परम्परा सहमत छैन” (पृ २२) भनेर फरक मत प्रकट गरेका छ।
[२] यस सम्वन्धमा शिवराज आचार्य कौण्डिन्यायनले लेखेका निम्न कुरा पनि मननीय छ- “मूल वैदिक नववर्षारम्भ तपःशुक्ल-प्रतिपदा में (वैदिक आर्तव माघ-शुक्लप्रतिपदा में) होता है। चैत्रशुक्लप्रतिपदा में नहीं, मेषसङ्क्रान्ति में नहीं।” (जनवरी २०१७, राम लोहनीको फेसबुक वालमा) । यहाँ ‘तापा’ र ‘तपः’ शब्दको सम्वन्ध खोज्न सकिन्छ। र अर्को कुरा ‘तापा’ भनेको पुस हो कि माघ हो- जान्नु पर्ने भएको छ।
[३] यस ल्होछारका प्रमूख अभ्यासकर्ता मध्येका एक आचार्य कमल मोक्तान (२०५४)ले पनि तोला ल्होछार र सोनाम ल्होछारको अस्तित्वलाई नकारेका छैनन् (उनले लामो चर्चा गरेका छन्) । उनले यी ल्होछारहरुको पात्रो नभएकोले आधिकारिक ल्होछार होइनन् भनेका मात्र हुन् । हे. लोसार एक परिचय (पृ.५-७)। आधिकारिकताको प्रश्न राणा शासकहरुको ‘ल्याइते’ र ‘ब्याइते’को सन्तान भने जस्तै मात्र हो। यो सामान्य प्रवृत्ति हो। विश्वका अधिकांस विश्वविद्यालयहरुले ‘लोकसाहित्य’लाई सहजै स्वीकारेका हुदैनन्। नेपालका कुनै पनि विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘लोकसाहित्य विभाग’ खोलेका छैनन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology