रसियामा जारी फिफा विश्वकप फुटबलको २१औं संस्करणको सेमिफाईनल समिकरण पुरा भएको छ । क्वार्टरफाइनलबाट चारवटा युरोपियन टोली क्रोएसिया, फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।
फाईनल प्रवेशका लागि बुधबार सेमिफाइनलमा फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछन् ।
युरोकपको उपविजेता फ्रान्स दक्षिण अमेरिकी राष्ट्र उरूग्वेलाई २–० ले पराजित गर्दै यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो । सेमिफाइनलमा फ्रान्सको यो छैठौं पटकको याता हो । यसअघि दुई पटक फाइनल खेलेको उसले सन् १९९८ मा विश्वकप उपाधि हात पार्यो भने २००६ मा दोस्रो भएको थियो । सन् १९५८ र १९८६ मा तेस्रो भएको फ्रान्स सन् १९८२ मा चौथो भएको थियो । यो सेमिफाइनलमा के हुन्छ बुधबारको खेलपछि मात्रै थाहा हुनेछ ।
अर्को युरोपेली मुलुक बेल्जियम दोस्रो पटक विश्वकपको सेमिफाईनल प्रवेश गरेको छ । पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै बेल्जियमले सेमिफाइलको यात्रा तय गरेको हो । यसअघि सन् १९८६ को विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियम चौथो भएर घर फर्किएको थियो ।
युरोपेली राष्ट्र इङ्ल्याण्ड पनि क्वार्टरफाइनलमा स्विडेनलाई २-०ले पराजित गर्दै १८ वर्षपछि विश्वकपको सेमिफाईनलमा खेल्दैछ । सन् १९९० को विश्वकपमा सेमिफाइनलसम्म पुगेर चौथो भएको इंग्ल्यान्ड सन् १९६६ मा विश्वकप विजेता पनि हो ।
यो संस्करणको अन्तिम क्वार्टरफाईनल खेलमा घरेलु टोली रूसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्को युरोपेली मुलुक क्रोएसिया सेमिफाईनलमा पुगेको छ । क्रोएसियाको पोनि यो दोस्रो पटकको सेमिफाइनल यात्रा हो । यसघि सन् १९९८ मा नेदरल्याण्डलाई हराउँदै तेस्रो भएको थियो।
कसको भिडन्त कोसँग ?
मंगलबार फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ११:४५ मा सुरू हुनेछ ।
क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल बुधबार राति लुजिनिकी रंगशालामा नेपाली समय अनुसार राति ११ :४५ मा सुरू हुनेछ ।
यि दुर्इवटा खेलबाट विजेता हुने टिमहरुले फाइनलमा भिडन्त गर्नेछन् भने पराजित हुने टिमहरुले अन्तिम तेस्रोका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तस्विर: फिफा