• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तावाभन्ज्याङलाई पर्यटन हब बनाउने प्रतिबद्धता

तावाभन्ज्याङलाई पर्यटन हब बनाउने प्रतिबद्धता

मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ सम्पन्न


समायोजन खबर
  • सोमबार, चैत्र २३ २०८२

  • समायोजन खबर खोटाङ, पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको मुन्दुम ट्रेलको प्रस्थान विन्दु तावाभन्ज्याङमा आयोजित प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ सम्पन्न भएको छ। प्रतियोगिताले तावाभन्ज्याङ क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपेको छ।

    समापन तथा पुरस्कार वितरण समारोहमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा स्वीस सरकारका नेपालका लागि राजदूत डा.डेनेली मेउली, कोशी प्रदेशसभा अन्तर्गत आर्थिक विकास समिति सभापति विनोद बान्तवा, भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेमगर, आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत लगायत जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले पर्यटन क्षेत्रबाट मात्र देशको आर्थिक समृद्धि सम्भव हुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,“नेपाल सरकारले सय गन्तव्य सूचीमा समावेश गरेको मुन्दुम ट्रेलको सुरुवाती विन्दु तावाभन्ज्याङ भए पनि यसको अपेक्षित विकास हुन सकेको छैन। तावाभन्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउने उद्देश्यले गाउँपालिकाले तावाताल निर्माण, धार्मिक बगैंचा तथा १३ जातजातिको सांस्कृतिक गाउँ स्थापना गर्ने विस्तृत परियोजना तयार गरिसकेको छ। तर, पटक–पटक केन्द्र र प्रदेश सरकारसँग माग गर्दा पनि यो क्षेत्र अझै ओझेलमा परेको छ।”

    उहाँले संस्कृति र पर्यटन कहिल्यै समाप्त नहुने सम्पदा भएकाले धार्मिक तथा सांस्कृतिक पर्यटनमार्फत आर्थिक समृद्धिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै आगामी दिनमा यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो।

    प्रमुख अतिथि मन्त्री भीम पराजुलीले तावाभन्ज्याङ क्षेत्र पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउँदै यसको समग्र विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो। “मुन्दुम ट्रेलको प्रस्थान विन्दु यही क्षेत्रमा भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने निश्चित छ। साकेला गाउँपालिकाले अघि सारेको भिजनअनुसारका योजना कार्यान्वयन गर्न सके यो क्षेत्र मात्र होइन, समग्र देशको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ,” उहाँले भन्नुभयो।

    प्रतियोगिताअन्तर्गत ६० किलोमिटर खुल्ला पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगर ६ घण्टा ५० मिनेटमा दूरी पार गर्दै प्रथम भए। सोलुखुम्बुका अर्जुन कुलुङ ६ घण्टा ५६ मिनेटसहित दोस्रो र सोही जिल्लाका मिलन कुलुङ ७ घण्टा ६ मिनेटमा तेस्रो भए। महिलातर्फ ६० किलोमिटर दूरी खोटाङकी निर्मला राईले ८ घण्टा २० मिनेटमा पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। रोल्पाकी आश्मा विक ९ घण्टा २१ मिनेटमा दोस्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पा १० घण्टा ५६ मिनेटमा तेस्रो भइन्।

    त्यस्तै ४५ किलोमिटर खुल्ला पुरुषतर्फ काठमाडौंका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बु दोस्रो र भोजपुरका उमेश राई तेस्रो भए। महिलातर्फ पाँचथरकी पुष्पा लिम्बु प्रथम, जुम्लाकी रोशनी बुढा दोस्रो र भोजपुरकी रुष्मा राई तेस्रो भइन्।

    भेट्रान पुरुषतर्फ धरानका यमनाथ लिम्बु प्रथम, धरानकै विजय कृष्ण राई दोस्रो र सुनसरीका रेशम लिम्बु तेस्रो भए भने भेट्रान महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र सोही स्थानकी बिनिता राई दोस्रो भइन्। विजेताहरुलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताले मुन्दुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रमले तावाभन्ज्याङ क्षेत्रलाई साहसिक तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology