समायोजन खबर खोटाङ,खोटाङबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचित भएका छन्। हर्क साम्पाङ नेतृत्व श्रम संस्कृति पार्टीका उम्मेदवार राईले निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८९८ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।
निर्वाचित राईले १६ हजार ६१२ मत ल्याएका छन्। निर्वाचित राई केपिलासगढी गाउँपालिका–१ फेदी सुम्देका ३० वर्षीय स्थानीय हुन्। देश्रो भएको एमाले उम्मेदवारले १२ हजार ७१४ मत पाएको छ।
नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राई ११ हजार ९५७ मत ल्याएर तेश्रो हुँदा नेपाली कम्युनिष्ट पार्टीका हरि रोका ९ हजार ४४३ मत ल्याएर चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्ध गिरी ५ हजार ७०४ मत पाएर पाँचौ स्थानमा सिमित बनेको छ। अन्य १० जना उम्मेदवारले एक हजारभन्दा कम मत पाएका छन्।
एक निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख ४७ हजार १२० जना मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो। ३ हजार ९२८ बदर मत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा १३ दलसहित दुई स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए।
निर्वाचित राईलाई मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको छ। प्रमाणपत्र लिएपछि राईलाई समर्थकहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट गेट बाहिरसम्म काँधमा बोकेर खुशीयाली मनाएका थिए। त्यसपछि दिक्तेलबजारको हाँटडाँडा, रत्नपार्क किरातचोकसम्म विजय ¥याली गरेको छ। ¥यालीलाई रत्नपार्क किरातचोकमा उक्त पार्टीका अध्यक्ष प्रताप राई र निर्वाचित प्रतिनिधिसभा सदस्य राईले सम्बोधन गरेका थिए।
को हुन् आरेन
तत्कालिन फेदी गाविसस्थित सुम्देमा २०५३ असोज ८ गते जन्मिनु भएका आरेन अहिले २९ वर्ष पूरा भएर ३० वर्षमा छन्। कुहुडाँडा आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका उनले काठमाण्डौस्थित शान्ति निकुञ्ज विद्यालयबाट २०६९ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरे।
काठमाण्डौस्थित केएमसीमा स्नातक तह अध्ययनका क्रममा २०७० सालबाट सक्रिय राजनीतिमा छिरेका उनी राष्ट्रवादी केन्द्र नेपाल पार्टीमा लागेका थिए। उक्त पार्टीले देशको निम्ति अध्ययन गर्ने, बन्द भएको उद्योग कलकारखानाका विषयमा अनुसन्धान गर्ने, बन्द उद्योग कलकारखानालाई पुनः खोल्न के गर्नुपर्छ, रोजगार दिन के गर्नुपर्छ भन्ने र यहि युवालाई कसरी रोजगार दिन सकिन्छ भनेर बेरोजगारीलाई रोजगार ग्यारेन्टी गर्नुपर्ने, उत्पादनमुखी शिक्षा हुनुपर्ने, पढेपछि त्यसको मुल्याङकन हुनुपर्ने मागसहित अभियान चलाएको थियो।
२०७४ सालको अन्तिमतिर साधारण सदस्यका रुपमा मंगोल नेशनल अर्गनाइजेसनमा प्रवेश गरेका उनी केन्द्रीय सदस्य हुँदै केन्द्रीय आर्थिक विभाग प्रमुख भए। सर्वोच्च सभा सदस्य हुँदै उनले करीव सात वर्ष मंगोल नेशनल अर्गनाइजेसन पार्टीमा समय बिताएका थिए।
नेपालका अधिकांश जिल्ला भ्रमण गरेका उनले कैयौ अनुभव बटुलेपछि श्रम संस्कृति पार्टी निर्माणमा लागेका हुन्। हाल उनी श्रम संस्कृति पार्टीका महासचिव छन्। चुनावमा पहिलो पटक होमिएर सफल भएका उनी अध्ययनलाई निरन्तरता दिने मनस्थितिमा छन्। आधा दर्जन जति व्यापार व्यावसाय सम्हालेका उनीसँग व्यापारमा ठुलो अनुभव छ।
‘अब नागरिक कहाँ जाने दुःख सुख बुझ्ने, राष्ट्रिय वजेट ल्याउन पहल गर्ने, इमानका साथ काम गर्ने, भ्रष्टाचार गर्न नदिने, सुशासन कायम गर्ने काम गर्छु।’ निर्वाचित राईले भने। “सुन्दा सिम्पल क्या अरुले बोलेजस्तो तर, कामको परिणाममा अलिक फरक हुन्छ।” खोटाङबाट सांसद बन्नेमा आरेन कान्छो संसाद हुन्।
अन्य उम्मेदवारले कति मत पाए ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङले ४७७, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले १११, नेपाल मजदुर किसान पार्टीका ध्यान प्रसाद ढकालले २६, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले ३२, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ९४७, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६, नेपाल कम्युनिष्ट पार्टी माओवादीका चन्द्र बहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टीका राकेश राईले ३३७, स्वतन्त्र उम्मेदवार तिलकचन्द्र राईले ४३ र अर्का स्वतन्त्र उम्मेदवार डा.राजकुमार राईले २७ मत प्राप्त गरेका छन्।
राजनीतिक कोर्ष सुरु गरेकै पार्टीसँग हारे ठूला दल
२७ मंसिरमा तत्कालिन धरान उपमहानगरपालिकाका मेयर तथा हालको श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा दिक्तेलस्थित हेलिप्याडमा आमसभा भयो। आमसभाले प्रताप राईको नेतृत्वमा ५३ सदस्यीय जिल्ला कमिटी गठन ग¥र्यो। त्यसपछि औपचारिक रुपमा राजनीतिक गतिविधि सुरु गरेको पार्टीले जिल्लामा रहेका ठूला दल एमाले, कांग्रेस, नेकपालाई हराएर नयाँ राजनीतिक सन्देश दिएको छ।
पार्टी अध्यक्ष साम्पाङको गृह जिल्ला तथा प्रत्येक शनिबारलाई श्रमबारका रुपमा परिणत गरेर सडक, बाटो, बजार, धार्मिकस्थलहरुमा श्रमदान गर्दै आएको पार्टीलाई भुइँमान्छेले आफूजस्तै सम्झेर जनमत दिएको नेताहरुले बताएका छन्।
पछिल्लो समय वराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको जिल्ला कमिटी अध्यक्ष निर्मल राईसहित ३७ जना जिल्ला कमिटीका पदाधिकारीहरु, नेपाली कांग्रेस खोटाङका संगठन विभाग प्रमुख विष्णुराज राई, विजयखर्कका एमालेका प्रदेश कमिटी सदस्य कुलदीप राई, विजयखर्कका कांग्रेस वडा सभापति सन्तोष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका निर्वाचित वडाध्यक्ष मुगाधन राईसहितका सयौ नेता कार्यकर्ताहरु श्रम संस्कृतिमा आएपछि निर्वाचन सहज रुपमा जित्न सकिएको पार्टीका जिल्ला अध्यक्ष प्रताप राईले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology