• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माटो र ममतासँग मिसिएको अक्षयकोष

माटो र ममतासँग मिसिएको अक्षयकोष


समायोजन खबर
  • मंगलबार, कार्तिक १९ २०८२

  • तीर्थराज भट्टराई खोटाङ,अहिले कार्तिकको मध्यान्ह समय छ धान पाक्ने बेला। कतिपय खेतमा धान पहेंलपुर भएको छ त कहिंकहिं सेपिलो ठाउँमा पुरै नपाकी सकेको अवस्था। मौसमविद्ले कार्तिक १२ गते देशभरी वर्षाद हुने पुर्वानुमान सहित सुरक्षित हुन आग्रहको सूचना प्रवाह गरेका थिए। आकाशले घाम होइन निरन्तर वर्षा र गड्यॅागुडुंग गरेर कृषकलाई चेतावनी दिईरहेको थियो। न पुरै धान पाकेको थियो न घरमा धान भित्र्याउने समय नै। कृषकलाई चिन्तामा डुबायो यो वेमौसमी वातावरणले। हुन त चिन्ता लिनुभन्दा अरू थिएन केहि विकल्प पनि । समयको गतिसँगै दुईदिनको लगातारको वर्षादबाट खेतमा लहलह झुलेको धान पानीमा डुब्यो। किसानको मेहनत र आशाको उब्जनी पानीमा नष्ट भएको देख्दा मेरो मन धुरूधुरू रोयो। कृषकको वर्षभरीको पसिना र परिश्रमको मूल्य माटोमा विलिन भयो।झरी र वर्षादको दुई दिनको समयमा खेत खलियान बर्बादै बनायो।

    दाजु मोतिकृष्ण, सुदर्शन आचार्य, भोजपुरे निरौला र निर्मलीका खतिवडा गुरूले व्यासासनमा बसेर श्रीमद्भागवत अखण्ड महापुराण वाचन गर्नुभयो भने हर्कपुरका तुलसी खतिवडा गुरूले वार्षिकी संस्कार गराउनुभयो। सुदर्शन गुरूको जादुमयी आवाज , मन्त्रमुग्ध बनाउने वैदिक मन्त्रोचारण र दिव्य सन्देशमा हराउंदै आमा पद्मकुमारीको वार्षिक संस्कारमा परिवारका हामी सबै व्यस्त थियौं। दैनिक नुहाउन जॅादा नाके डॅाडाबाट शेरा र सातमुरे खेततिर पानीमा धान डुबेको देख्दा किसानप्रतिको सम्मान अझै बढेर गयो। मैले वुवा लक्ष्मीप्रसाद र काका रामप्रसादले हर्रे खेतमा विगतमा गर्नुभएको मेहनत स्मरण गरें। “यो वर्ष किसानको चुलो बल्ला कि नबल्ला?” चिन्ताले मेरो मनमा कुरा खेलिरह्यो।यो पीडा केवल वर्षा वा प्राकृतिक विपत्तिको कुरा मात्र होइन। विकासको नाममा मानवले प्रकृति र पर्यावरणलाई दिएको धक्काको असर पनि हो। नदी, रुख र वातावरणीय असन्तुलनले प्राकृतिक घटनाहरू बढेका छन्। यहि कारणले अहिले वेमौसमी विपत्ति आई रहेको छ। बुबा स्व.लक्ष्मीप्रसाद भट्टराईले हामीलाई सधैं सिकाउनुहुन्थ्यो “प्रकृतिसँग विरोधाभाष व्यवहार होइन, सहकार्य गर्नु जीवनको बुद्धिमता हो।” तर आधुनिकताको नाममा वुवाको उपदेशलाई हामीले भुल्यौं। किसानका हातको कोदालो र दाँदे, असारको झ्याउरे गीत, पानीको आफ्नो गति यी सबै प्राकृतिक धारलाई हामीले परिवर्तन गर्यौं। यही कारण अहिले वेमौसमी अति वर्षा र बाढी, असिना र पहिरोले कृषकको मेहनत डुबाइरहेको छ। तर पनि भविष्यको आशा र विश्वासमा जीवन जिउनुको विकल्प छैन हामीसँग। वर्तमानको असहजताबाट पाठ सिकेर भविष्यको उज्यालो खोजिमा अघि बढ्ने निश्चय गरें। यहि सोच्दै म आमा पद्मकुमारीको वार्षिक संस्कारमा आफुलाई केन्द्रित गरिरहें ।

    भट्टराई वंशको इतिहासले दोर्पाको माटोमा गहिरो सम्वन्ध राख्दछ। करिब २५० वर्षअघि मात्तिम मानेगाउँ निवासी गंगाराम भट्टराईका दुई छोरा मध्ये जेठा छोरा श्रीवत्स मात्तिममै वसोवास गरे। विगतदेखि नै दोर्पामा रहेको भट्टराईहरूको जमिन कान्छा छोरा पुष्पाखरको अंशमा परेकोले बसाइ सर्दै दोर्पा आए। दोर्पाका कौडिन्य गोत्रिय नन्दमणी आचार्यकी छोरी हरिवोधनीसँग विवाह भएपछि उनी परिवारका साथ यतै बस्न थाले। पुष्पाखर-हरिवोधनीका सन्तानहरू हेमसागर-हिंगुला, गर्भलाल-रन्धता, गोपिकृष्ण-शारदा लगायतको वंश दोर्पामा फैलिएर सामाजिक र शैक्षिक क्षेत्रमा सक्रिय योगदान गर्दै आएका छन्। हाम्रो भट्टराई परिवारले वुवा लक्ष्मीप्रसादको समयदेखि नै शिक्षा, संस्कार र सामाजिक सेवा अघि बढाउने परम्परालाई निरन्तरता दिइरहेको छ। स्व. लक्ष्मीप्रसादले जीवनभर समाजसेवा, शिक्षा र संस्कारको मापदण्ड स्थापनामा सक्रिय योगदान पुऱ्याउनुभयो। २०५४ सालमा हाम्रा बुवा स्व. लक्ष्मी प्रसाद साविक ७ न. वडा दोर्पाको वडाअध्यक्ष तथा त्यस अगाडि पनि करिव २५ वर्ष विभिन्न जिम्मेवारीमा निर्वाचित भई जन प्रतिनिधिको भूमिका निर्वाह गर्नु भएको इतिहास साक्षी छ। आफ्ना राजनीतिक समकक्षीहरू पर्शुराम राई, उत्तरबहादुर राई, ज्योतिखर आचार्य, पिताम्बर आचार्य, दयाराम खनाल, अडिमर्दन आचार्य, पर्खन बहादुर राई, थामप्रसाद राई, महेन्द्र विश्वकर्मा, मौल बहादुर सार्की, नारद खनाल, मनिप्रकाश राई, किसन राई, नारद ढकाल, पदमबहादुर चौहान, वीरबहादुर बुढाथोकी लगायतसँग सहकार्य गर्दै गाउॅको विकासमा राजनैतिक गतिविधी, सामाजिक तथा शैक्षिक उन्नयनमा सक्रिय रहनुभएको थियो। वुवाको पदचिन्हलाई पछ्याउँदै हाल हामी परिवारका सदस्यहरूले समाजसेवा, शिक्षक, कर्मचारी वा विद्यार्थीको रूपमा सक्रिय रहेर समाजमा योगदान दिइरहेका छौं।

    गतवर्ष २०८१ कार्तिक २६ गते ८८ वर्षको उमेरमा आमा पद्मकुमारीको स्वर्गारोहण भयो। यो वर्ष वार्षिक पुण्य तिथीको अवसर पारेर हामीले अग्रज पुर्खाहरूको स्मरण गर्दै गुण-लक्ष्मी-पद्मकुमारी अक्षयकोष–२०८२ स्थापना गर्न हाम्रो परिवारका अविभावक भगवती खतिवडा र गीता बुढाथोकीसॅग फोन सम्वाद र दिदी इन्दिरा खतिवडा, कुमारी, पर्शुराम, कल्पना, पिकेश, अध्ययन, प्रशिका, अनुसन्धान लगायत सदस्यहरूको साझा छलफलबाट निर्णय गर्यौं। अक्षयकोषबाट पारिवारिक श्रद्धा र भविष्यका पुस्तालाई शिक्षाको ज्योति फैलाउने काममा साझा जिम्मेवारी वोध गराउँछ भन्ने हाम्रो विश्वास छ।
    दोर्पाका अन्य शिक्षाप्रेमी तथा हाम्रो परिवारको साझा योगदानको बलमा २०१६ सालमा श्री विद्योदय माध्यमिक विद्यालय स्थापना भएको थियो। वुवा लक्ष्मीप्रसाद र आमा पद्मकुमारीको समयदेखि नै विद्यालयलाई कतिपय जग्गा न्यून शुल्क र कतिपय निःशुल्क दिएर यहाँ पढ्ने विद्यार्थीलाई शिक्षाको ज्योति फैलाउन योगदान गरेका छौं। हाम्रा पुर्खाको मार्गदर्शन, आमा-बुबाको ममता र दाजु गुणराजको भूमिकाले परिवार र समाजिक काममा योगदान पुऱ्याउन भूमिका खेलेको हामीलाई विश्वास छ।
    अक्षयकोषबाट आउने व्याज रकम विद्यालयसँगको सहकार्यमा पुरस्कार वितरण र शैक्षिक गतिविधिमा प्रयोग गरिनेछ। यसले केवल शिक्षा र संस्कारको ज्योति फैलाउने मात्र होइन पुर्खाको आशीर्वाद र परिवारको साझा प्रतिबद्धता पनि उजागर गर्नेछ।

    २०८२ कार्तिक १६ गते श्री विद्योदय माविको आयोजनामा गुण-लक्ष्मी-पद्मकुमारी अक्षय कोष-२०८२ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। परिवारका छोराछोरी र नातिनातिना सहित सबै सदस्यको तर्फबाट २,०२,२२२ रुपैयाँ रकमको अक्षय कोष कार्तिक १६ गतेबाट औपचारिक रूपमा शुरूवात गऱ्यौं। जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई प्रमुख अतिथिको रूपमा उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुभयो। कार्यक्रमको सभापतित्व विद्यालयका विव्यास अध्यक्ष शहरमान राई, स्वागत पेशल आचार्य र कार्यक्रम संचालन प्रेम थापाले गर्नुभयो। नगरका उपप्रमुख विसन राई,चारवटै सुरक्षा निकायका क्रमशः प्रमुख सेनानी केदार लामिछाने, प्रनाउ प्रकाश बुढाथोकी, सशस्त्र प्रनाउ शैलेन्द्र न्यौपाने, अनुसन्धान जिल्ला प्रमुख प्रकाश अधिकारी, नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, विभिन्न वडाका वडाध्यक्ष,खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य वरिष्ठ पत्रकार कृष्ण आचार्य, महासंघका उपाध्यक्ष चिसाङ शेर्पा लगायत पत्रकार, होटल व्यवसायी संघका अध्यक्ष जेपी राई एवम् विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, शिक्षक महासंघका अध्यक्ष मिन दाहाल लगायत गुरू वर्ग, अभिभावक संघ र नगरपालिकाका विभिन्न वडा तथा स्थानीय नागरिकको उपस्थिती थियो। स-साना विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित सबै वक्ता अतिथिहरूले भट्टराई परिवारले विगतदेखि वर्तमानसम्म विद्यालयलाई योगदान गरेकोमा मुक्तकण्ठबाट गर्नुभएको प्रशंशा हाम्रो मार्गदर्शको रूपमा लिएका छौं। हाम्रो परिवारले यो अक्षयकोष स्थापना गर्दा सोच्यो भने-केवल पैसा वचत गर्ने मात्र होइन, आ-आफ्नो कर्म र सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्छ। प्रत्येक सदस्य,आमा-बुबा,दाजुभाइ-दिदीबहिनीले आफ्नो क्षमता अनुसार योगदान पुऱ्याएर शैक्षिक र सामाजिक योगदान गर्नुपर्छ। यस्ता कर्मले आफ्नो माटो,समाज र संस्कारसँग जोड्ने साझा भावना जागृत गराउछ भन्ने हाम्रो विश्वास रह्यो।

    हाम्रो दृढ संकल्प छ-माटोले जन्म दिन्छ, संस्कारले कुल-वंशलाई चिनाउँछ, शिक्षा र सेवाभावले जीवनलाई सार्थक बनाउॅछ। यहि भावना पुरा गर्न भट्टराई परिवारको साझा प्रयासले भविष्यका पुस्तालाई उज्यालो दिनेछ।संस्कार र संस्कृतिको जगेर्ना गर्न समाज शिक्षित र सवल बन्न जरूरी छ। हुनत हाम्रो सानो प्रयत्न र योगदानले मात्रै पुरै परिवर्तन हुन्छ नै भन्ने त होइन तर सबैले साझा योगदान गर्दै अघि बढे पक्कै पनि मानिसमा भावनात्मक एकता बढ्नेछ। समाज सुदृढ र सवल बन्नेछ।यहि सोच र अवधारणा बोकेर हामीले आफ्नै माटो र ममतामा मिसिएको सानो अक्षय कोष स्थापना गरेका छौं। विद्यालयको उन्नयनमा आमा, वुवा र दाजुले विगतदेखि नै पुऱ्याउनु भएको योगदानलाई निरन्तरता दिन खोजेका छौं। यस पुनित कार्यमा सबै पक्षबाट निम्तो स्वीकार गरी रचनात्मक सुझाव र सहयोगका लागि परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। स्तम्भकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology