डा.रमेश श्रेष्ठ, डा.लक्ष्मी श्रेष्ठ, जिल्ला अस्पताल खोटाङमा हामीहरुले ज्वरो र मौसमी रोगहरूले ग्रस्त बालबालिकालाई आकस्मिक कक्ष अनि बहिरंग विभागमा देख्ने गरेका छौँ। धेरै जसो अभिभावकहरूले सामान्य ज्वरो देखिना साथ एन्टिबायोटिक (जस्तै एमोक्सिसिलिन, सेफिक्सिम, एजिथ्रोमाइसिन) माग्ने गर्नु हुन्छ वा डाक्टरले नदिए औषधि पसलमा जान्छन्।
विभिन्न अध्ययनहरूका अनुसार, नेपालमा करिब ७९ प्रतिशत बिरामीले डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक खरिद गर्दछन्, र ७८ प्रतिशत बिरामीले स्व-इच्छाले औषधि प्रयोग गर्छन्। यस प्रवृत्तिले गम्भीर असर पारेको छ, जसको परिणामस्वरूप एस्चेरिचिया कोलाइ (E. Coli), क्लेब्सिएला न्युमोनिया (K. Pneumonia) ,स्ट्रेप्टोककस न्युमोनिया (S.Pneumonia) जस्ता प्रमुख ब्याक्टेरियाहरूको ५० प्रतिशत भन्दा बढी र स्टाफिलोकोकस औरियस (MRSA) को ५७ प्रतिशत बिरुद्ध सामान्यतस् प्रयोग हुने पहिलो रोजाइका एन्टिबायोटिकहरू — जस्तै एमोक्सिसिलिन र को–ट्रिमोक्साजोल — प्रभावहीन भइसकेका छन्।
यो लेखले ज्वरो किन हुन्छ, भाइरल र ब्याक्टेरियल ज्वरो कसरी चिन्ने, मौसमी रोगहरू, कहिले अस्पताल जाने, गम्भीर लक्षणहरू र एन्टिबायोटिकको सही प्रयोगबारे जानकारी दिनेछ।
ज्वरो किन हुन्छर ?
ज्वरो शरीरको रोगसँग लड्ने प्राकृतिक तरिका हो। जब भाइरस वा ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ, रोग प्रतिरोधी प्रणाली (इम्यून सिस्टम) सक्रिय हुन्छ। यसले रसायनहरू (जस्तै साइटोकाइन र प्रोस्टाग्लान्डिन E2) बनाउँछ। प्रोस्टाग्लान्डिन E2 (PGE2) नामक रसायनले मस्तिष्कलाई तापमान बढाउन संकेत दिन्छ, जसले ज्वरो निम्त्याउँछ। यो तापमानले भाइरस वा ब्याक्टेरियाको वृद्धि रोक्छ। ज्वरोले शरीर लडिरहेको संकेत गर्छ, तर कारण (भाइरल वा ब्याक्टेरियल) पत्ता लगाउन डाक्टरको जाँच चाहिन्छ।
भाइरल र ब्याक्टेरियल ज्वरो कसरी छुट्याउने ?
भाइरल ज्वरो
लक्षणहरू : हल्का देखि मध्यम ज्वरो (१००.४–१०२.२°F), सिंगान बग्ने, खोकी, घाँटी दुख्ने, आँखामा रातोपन, कहिलेकाहीँ छालामा हल्का दाग।
विशेषता : सामान्यतया २–५ दिनभित्र आफैँ निको हुदै जान्छ। बच्चा सक्रिय देखिन्छ, खेल्न खोज्छ।
उदाहरणहरू : रुघाखोकी, फ्लु (इन्फ्लुएन्जा), झाडापखाला (भाइरल ग्यास्ट्रोएन्टराइटिस)।
उपचार : प्रशस्त आराम, पर्याप्त तरल पदार्थ, आवश्यक परेमा प्यारासिटामोल (ज्वरो १०२.२°F भन्दा माथि भएमा)। एन्टिबायोटिक आवश्यक हुँदैन किनभने यसले भाइरसमा काम गर्दैन।
ब्याक्टेरियल ज्वरो
लक्षणहरू : उच्च ज्वरो (१०२.२°F भन्दा माथि), अत्यधिक थकान वा कमजोरी, र खास रोगसँग सम्बन्धित लक्षण – जस्तै घाँटीमा पिप (स्ट्रेप थ्रोट), पिसाब पोल्ने (मूत्र संक्रमण), वा सास फेर्न गाह्रो हुनु (निमोनिया)।
विशेषता : ज्वरो लामो समयसम्म रहन सक्छ र बच्चा सुस्त, निकै बिरामी देखिन्छ।
उदाहरणहरू : टाइफाइड, निमोनिया, युरिनरी ट्र्याक्ट इन्फेक्सन(UTI)।
उपचार : डाक्टरको परामर्श आवश्यक हुन्छ। आवश्यक परेमा रगत वा पिसाब परीक्षणपछि मात्र एन्टिबायोटिक सुरु गर्नुपर्छ।
मौसमी रोगहरू
नेपालको विविध जलवायु परिवर्तनले वर्षभरि बालबालिकामा विभिन्न प्रकारका मौसमी रोगहरू देखापर्ने गर्छन्। प्रत्येक मौसमसँग विशेष प्रकारका संक्रमणहरू सम्बन्धित हुन्छन् ।
वर्षा ऋतु (जेठ–भदौ)
सामान्य रोगहरू : झाडापखाला, टाइफाइड, डेंगु
कारण : झाडापखाला र टाइफाइड प्रायः दूषित पानी तथा खाद्यपदार्थबाट फैलिन्छ।
डेंगु लामखुट्टे (Aedes aegypti) को टोकाइबाट सर्छ, जुन सफा पानी जमेको ठाउँमा वृद्धि हुन्छ।
सावधानी : सफा खानेपानी प्रयोग गर्ने, खाना राम्रोसँग पकाउने, लामखुट्टे नियन्त्रण गर्ने
जाडो ऋतु (मंसिर- फागुन)
सामान्य रोगहरूस : रुघाखोकी, फ्लु (इन्फ्लुएन्जा), निमोनिया
कारण : चिसो मौसम र भीडभाडले भाइरल संक्रमणहरू फैलन सजिलो हुन्छ।
कम तातो पहिरन, बन्द कोठा र कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिकामा जोखिम बढी हुन्छ।
सावधानी : न्यानो लुगा लगाउने, हात धुने, खोक्दा र हाच्छ्युँ गर्दा कुहिनाले मुख छोप्ने।
गर्मी ऋतु(चैत-जेठ)
सामान्य रोगहरू : डिहाइड्रेशन, लू (हीट स्ट्रोक), छालासम्बन्धी संक्रमणहरू, झाडापखाला
कारण : अत्यधिक गर्मी, पसिना, र दूषित खानेपानीरखाना
सावधानी : प्रशस्त पानी पिउने, स्वच्छ खाना खाने, छायाँमा बस्ने,
कतिबेला अस्पताल जाने र डाक्टर को सल्लाह लिनेर ?
हल्का ज्वरो, सिंगान, वा खोकी हुँदा घरमै आराम गर्ने, प्रशस्त पानी पिउने र प्यारासिटामोलले उपचार गर्न सकिन्छ। तर तलका अवस्थामा तुरुन्तै डाक्टरसँग परामर्श गर्न वा नजिकको स्वास्थ्य संस्थामा जानु आवश्यक छ :
ज्वरो ३ दिनभन्दा बढी रह्यो वा सिटामोलले पनि कम भएन भने ।
बच्चा खाना वा पानी खान सक्दैन भने ।
बच्चा धेरै थकित, सुस्त, वा चिडचिड छ भने ।
बच्चाको उमेर २ वर्षभन्दा कम छ भने ।
बच्चालाई पहिलेदेखि कुनै दीर्घ रोग छ (जस्तै दम, मुटुको रोग, मधुमेह) भने ।
श्वास फेर्न गाह्रो छ (गहिरो गहिरो सास फेर्ने, छिटो छिटो सास फेर्ने) ।
नीलो वा खरानी रंगको ओठ वा नङ छ भने ।
निरन्तर बेहोस भएमा
धेरै पिसाब नआउनु वा पिसाब गाढा भएमा,लगातार उल्टी हुने भएमा
धेरै झाडापखाला लागेर बच्चा धेरै कमजोर भएमा।
गम्भीर लक्षणहरू/तुरुन्तै अस्पताल जानु पर्ने संकेतहरु :
ज्वरोसँग झट्का, सास फेर्न गाह्रो, वा ओठ निलो हुने।
गम्भीर वान्तार झाडापखाला, मुख सुख्खा, आँसु नआउने, वा आँखा गड्नु
अत्यधिक कमजोरी, होस नहुने, वा गर्दन कडा हुने।
रातो र बैजनी दाग (डेंगु वा मेनिन्जाइटिस) वा गम्भीर दुखाइ (पेट, टाउको, कान)।
नेपालमा एन्टिबायोटिकको गलत प्रयोग र प्रतिरोध
नेपालमा एन्टिबायोटिकको गलत र अनावश्यक प्रयोग निकै व्यापक छ। करिब ७९ प्रतिशत बिरामीहरूले डाक्टरको सिफारिस नलिई एन्टिबायोटिक खरिद गर्छन् भने ७८ प्रतिशतले आफ्नै निर्णयमा औषधि प्रयोग गर्छन्। काठमाडौं क्षेत्रमा गरिएका अध्ययन अनुसार, ८१ प्रतिशत नमूनाहरूमा एन्टिबायोटिक प्रतिरोधी जीनहरू फेला परेका छन्।
एस्चेरिचिया कोलाइ, क्लेब्सियेला न्युमोनिया, र स्ट्रेप्टोककस न्युमोनियाको ५० प्रतिशत भन्दा बढी नमूनाहरू तथा स्टाफिलोकोकस औरियस (MRSA)को ५७ प्रतिशत नमूनाहरू पहिलो स्तरका (First- line drugs) एन्टिबायोटिकहरू प्रति प्रतिरोधी (काम नगर्ने) भएका छन्।
यसले उपचार प्रक्रिया जटिल बनाउँछ, अस्पतालमा बसाइ लम्बिन्छ र मृत्युको जोखिम बढ्छ। विशेषगरी खोटाङजस्ता ग्रामीण क्षेत्रमा दोस्रो स्तरका औषधिहरू (second-line drugs) कम उपलब्ध हुने भएकाले यो समस्या अझ गम्भीर रूपमा देखिन्छ।
किन अभिभावकले एन्टिबायोटिक माग्छन :
अभिभावकहरूले बच्चालाई ज्वरो लाग्नासाथ तुरुन्तै एन्टिबायोटिक माग्ने गरेका छन्, किनभने उनीहरूलाई छिटो निको होओस् भन्ने चाहना हुन्छ। जब डाक्टरले एन्टिबायोटिक औषधि दिन नमाने, उनीहरू औषधि पसलतिर जान्छन्, जहाँ बिरामीले सजिलै एन्टिबायोटिक पाउँछन्। तर, गलत वा अनावश्यक एन्टिबायोटिकको प्रयोगले निम्न समस्याहरू निम्त्याउँछ
भाइरल ज्वरोमा एन्टिबायोटिकले कुनै फाइदा पुर्याउँदैन।
एन्टिबायोटिक प्रतिरोध बढाउँछ, जसले ५० प्रतिशत भन्दा बढी ब्याक्टेरियालाई उपचार गर्न गाह्रो बनाउँछ। बच्चाको स्वास्थ्यमा हानी पुर्याउन सक्छ।
जाँचबिना औषधि दिँदा, टाइफाइड, निमोनिया जस्ता गम्भीर रोगहरू लुकेको हुन सक्छन् जसले उपचारमा समस्या आउँछ। त्यसैले जिल्ला अस्पताल खोटाङ वा स्वास्थ्य चौकीमा रगत तथा पिसाबको परीक्षण गरेर मात्रै सही उपचार गरिनु आवश्यक छ।
एन्टिबायोटिक : कहिले, किन, र कसरी प्रयोग गर्ने ?
महत्त्व : एन्टिबायोटिकले ब्याक्टेरियालाई मारेर प्राणघातक रोगहरु बाट बचाउँछ।
कहिले प्रयोग गर्ने : जाँच गरी ब्याक्टेरियल संक्रमण पुष्टि गरेपछि मात्र।
किन प्रयोग गर्ने :संक्रमणबाट हुने जटिलता (जस्तै सेप्सिस) रोक्न।
जोखिम : गलत वा अनावश्यक प्रयोगले ५० प्रतिशत भन्दा बढी ब्याक्टेरियामा प्रतिरोधी बन्ने खतरा हुन्छ।
सुझाव : डाक्टरको सल्लाह र निर्देशनमा मात्र एन्टिबायोटिक प्रयोग गर्ने। पूरा औषधि कोर्स सकिएपछि मात्र बन्द गर्ने। पुरानो वा अरूको औषधि नलिने वा प्रयोग नगर्ने ।
स्वास्थ्य रहनका लागि उपायहरू :
रोकथाम : सफा पानी पिउने (उमालेर वा फिल्टर गरेर)। नियमित हात धुने। झुलको प्रयोग गर्ने।
मौसमअनुसार
जाडोमा न्यानो कपडा लगाउने। गर्मीमा जीवनजल (ORS) सेवन गर्ने।
खोप : दादुरा, निमोनिया जस्ता रोग विरुद्ध खोपहरू स्वास्थ्य चौकीबाट समयमै लगाउने।
अन्त्यमा
ज्वरो शरीरको रोगसँग लड्ने प्राकृतिक प्रक्रिया हो, तर सबै ज्वरोमा एन्टिबायोटिक आवश्यक पर्दैन। नेपालमा करिब ७९ प्रतिशत बिरामीहरूले डाक्टरको सल्लाह नलिई एन्टिबायोटिक किन्ने गरेका छन्, जसले ५० प्रतिशत भन्दा बढी ब्याक्टेरियामा प्रतिरोध बढाएको छ।
औषधि पसलबाट जाँचबिना औषधि लिनु गलत उपचार हो र यसले जोखिम बढाउँछ। भाइरल ज्वरोमा एन्टिबायोटिक आवश्यक हुँदैन किनभने यसले भाइरसमा काम गर्दैन। यदि ज्वरो ३ दिनभन्दा बढी रह्यो वा गम्भीर लक्षण देखिएमा तुरुन्तै जिल्ला अस्पताल खोटाङ वा नजिकको स्वास्थ्य चौकीमा लैजानुहोस्। सही उपचारले बालबालिकालाई स्वास्थ्य राख्दछ र एन्टिबायोटिक प्रतिरोधबाट समुदायलाई बचाउँछ। लेखकद्धय डाक्टर जिल्ला अस्पताल खोटाङमा कार्यरत छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology