समायोजन खबर खोटाङ, खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहको संयोजकत्वमा ९ साउनमा सदरमुकाम दिक्तेलबजारका फार्मेसी र क्लिनिक अनुगमन गर्दा अबैध रुपमा भिडियो एक्सरे गरेको पाईएको थियो।
त्यसपछि पनि अबैध भिडियो एक्सरे नरोकिएको, क्लिनिक र फार्मेसीमा फर्मासिष्ट वा फार्मेसी सहायक नभेटिएको र बिना ज्ञान, बिना सीप मानव स्वास्थ्यमाथि नै खुलमखुल्ला क्लिनिक र फार्मेसीमा खेलबाड भईरहेको पाईएपछि भद्रगोल स्वास्थ्य क्षेत्रका विषयमा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारसँग कुराकानी गरिएको छ। प्रस्तुत छ सम्पादित अंश।
सदरमुकाम दिक्तेलको फार्मेसी र क्लिनिकमा अबैध भिडियो एक्सरे कहिले बन्द हुन्छ?
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ९ साउनमा अनुगमन भएको थियो। त्यो अनुगमन पश्चात २१ साउनमा जिल्ला प्रशासन कार्यालयमा प्रजिअको रुपमा हाजिर भए। र, त्यो रिपोर्ट हेरे, रिपोर्टमा धेरैजसो कुराहरु सुधार गर्नुपर्ने छ।
एउटा केही कुराहरुको सामान्य सुधार गर्दाखेरी हुन सक्ने खालका छन्, केही कुराहरु व्यवस्थित गर्नुपर्ने खालको छ, र केही कुरा बन्द नै गर्नुपर्ने खालका छन्। सुधार गर्नुपर्नेलाई सुधार गरेर जानुप¥र्यो भनेका छौ। भिडियो एक्सरेलाई स्वास्थ्य सेवा विभाग र प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर,के गर्नुपर्ने हो,सरोकारवाला निकाय, उपभोक्त संरक्षण मञ्चका पदाधिकारीहरुसँग सल्लाह गरेर एक्सनमा जान्छौ।
अबैध रुपमा चलेका भिडियो एक्सरे मेशिन जफत गर्ने आँट छ प्रशासनसँग ?
अबैध रुपमा त गर्न पाइएन नि । कानुनको शासनमा अबैध भएपछि त्यसलाई नियन्त्रण गर्ने हाम्रो दायित्व हो। अबैध नै हो भनेर हाम्रो अनुगमन टोलीले भन्यो भने त्यसलाई नियन्त्रणमा लिन्छौ।
प्रशासनकै अघि मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड हुन्छ,प्रशासन जहिल्यै मौन ?
प्रशासन मौन हुदैन। प्रशासनले आफ्नोतर्फबाट अनुगमन गर्ने, सचेत गराउने र कार्यान्वयन गराउनका लागि कमि कमजोरी छ भने, प्रशासनको आवश्यक पनि छ भने सहयोग पनि गर्ने कामहरु हुन्छ। समन्वय, सहकार्य र चेतावनी दिने काम र अन्तमा कारबाही गर्ने काम पनि प्रशासनले गर्छ। हामी मौन बस्दैनौ।
यसअघि अनुगमन भईसकेकाले यसलाई मैले गम्भिरताका साथ लिएको छु । फेरी अन्तर्वार्ता दिंदा तपाईले उठाएका कुराहरु के हुन्छ त्यो कुरा स्पष्ट भन्छु। सामान्य सुधार गर्नुपर्ने र व्यवस्थित गर्नुपर्ने कुराहरु व्यवस्थित गर्छौ। अबैध ढंगबाट सञ्चालन भएकालाई नियन्त्रण गर्नुपर्नेमा हामी गम्भीर रुपमा लिन्छौ। नेपालको संविधानको स्वास्थ्य सम्बन्धि हकको बर्खिलापको कुरामा एक्सनमा जान्छौ।
यसको मतलब प्रशासन मौन बस्दैन ?
बस्दैन, प्रशासन मौन बस्दनै, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई पनि छैन।
औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, दिक्तेलबजारका क्लिनिक र फार्मेसीमा फर्मासिष्ट वा फार्मेसी सहायक नै छैेनन् नि?
स्वास्थ्य सम्बन्धि ऐनले दर्ता गर्नुपर्ने, नविकरण गर्नुपर्ने, दर्तागर्दा तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । फर्मासिष्ट वा फार्मेसी सहायक कुन तरिकाको हुनुपर्ने विभागसँग र प्रदेश स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर छ कि छैन, बुझ्छौ। यदि छैन भने त्यस्तालाई बन्द गराउँछौ।
पटक–पटक अनुगमन हुन्छ, कार्यान्वयन चाँहि किन हुदैन?
कार्यान्वयन हुनुपर्छ, हुन्छ। तपाईलाई थाहा छ म आएको एक महिना भयो। केही विषयहरुमा बसेर छलफल गरेका छौ। छलफल गरेका कुराहरुलाई हामीले अनुगमन पनि गरेका छौ, कार्यान्वयन भयो कि भएन भनेर त्यो कार्यान्वयनको पनि अनुगमन गरेका छौ। त्यसैले कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन गराउनुपर्छ, गर्नुपर्छ।
म प्रजिअ र जिल्लाको सबै कुराहरुको व्यवस्थापक पनि हो। त्यसैले मैले कार्यान्वयन गर्ने र गराउने दुबै काम गर्नुपर्छ। विगतमा दिनहरुमा त्यस्तो भयो होला त्यो मलाई थाहा भएन तर, हुन नसक्ने कुराहरु तपाईलाई स्पष्ट भनौला, यो कुराहरुमा हाम्रोतर्फबाट संम्भव छैन, पहल गर्छौ भनौला। नसकिने कुराहरुको हकमा बेग्लै हो, कार्यान्वयन हुन्छ।
अन्तमा, विकासे कामहरु लथालिङ्ग छ, तपाईबाट कस्तो अपेक्षा गर्ने ?
जिल्लाबासी आशावादी हुनुस भन्छु। हाम्रो अहिले तीन तहको सरकार छ। आफ्ना,आफ्ना कार्यक्रमहरु छन्। कार्यक्रम सञ्चालन गर्न आ–आफ्ना संयन्त्र छ । काम गर्नलाई आफ्नो,आफ्नो पुँजी छ। काम गर्ने जनशक्ति छ। यति हुँदाहुँदै पनि तपाईले भनेजस्तो समयमा कामहरु सम्पन्न नभएका, जिम्मेवारी निकाय(ठेकेदार)हरुले समयमा काम सम्पन्न नगरेका जनगुनासाहरु प्रशस्तै छन्। तपाईले सोधेजस्तै मलाई पनि चाङका चाङ गनासाहरु आएका छन्।
प्रजिअको काम जनताको जीउधनको सुरक्षा गर्नुका साथसाथै शान्ति सुव्यवस्था कायम गर्नुका साथसाथै विकास निर्माणका कामहरुका समन्वय, सहकार्य र सहयोग गर्ने कुराहरु पनि पर्छ। त्यसैले मेरो सहकार्य, समन्वय र सहयोग रहन्छ। कामहरु कहाँनेर अड्केको छ, कहाँनेर गर्नुपर्ने थियो, के गर्नुपर्ने, कहिले गर्नुपर्ने, कति गर्नुपर्ने, कसले गर्नुपर्ने थियो र किन भएन भन्ने कुराहरु जिल्ला समन्वय समिति प्रमुख र स्थानीय तहसँग कुरा गरेको छु। म आएपछि ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिका गएर अध्यक्ष, वडाध्यक्षसँग छलफल गरेको छु। लथालिङ अवस्थाको कहाँ गर्नुपर्ने, कसले गर्नुपर्ने, कहिले गर्नुपर्ने, कति गर्नुपर्ने र किन भएन भन्ने कुराको खोजीमा छु। यो निरन्तर छ। सुधार गर्दै जान्छौ।
हेर्नुहोस भिडियो अन्तर्वार्ता
https://www.facebook.com/samayojankhabar/videos/825840438980801
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology