समायोजन खबर खोटाङ, खोटाङ जिल्ला अस्पतालको समस्याका बारेमा हामीले आजको अंकमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति पूवअध्यक्ष बबि चाम्लिङलाई सात प्रश्न गरेका छौ । चाम्लिङसँग गरिएको कुराकानी सञ्चार गृहसँग सुरक्षित रहेको छ।
तपाईको कार्यकालमा अस्पताल कस्तो थियो ?
मेरो कार्यकालमा धेरै राम्रो थियो त भन्दिन तर, पनि ठिकैठिकै थियो भन्ने लाग्छ। यति गुनासो चाँहि आएको थिएन। मेरो पालामा पनि जनशक्ती पर्याप्त त थिएन । खोटाङकै ईतिहासमा नौ/नौ जना डाक्टर थियो। जुन अहिले पनि छैन, म आउनुभन्दा अघि पनि थिएन।
सेवा प्रवाह चाँहि कस्तो थियो ?
सेवा प्रवाहको हकमा जनशक्ति राम्रै थियो। हाम्रो पालामा उपचारमा चाहिने उपकरणहरु उपलब्ध गरायौं। रगत पातलो बनाउने औषधी सेवन गरिरहेका विरामीहरुको रगत पातलो भए/नभएको परिक्षण गर्ने पिटिआईएनआर एनालाईजर मेशिन,अत्याधुनिक एक्सरे मेशिन, थाईराईडको उपचारसहित सातवटा मेशिन जोडेका थियौ। मेशिन सञ्चालन गर्ने प्राविधिकहरु र डाक्टरहरु उपलब्ध गराईएको थियो। त्यतिबेला निक्कै कोशिष गरेर सेवा दिईएको थियो।
अहिले चाँहि सेवा प्रवाह कस्तो देख्नुहुन्छ ?
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षबाट हटेको करीव डेढ वर्ष हुन लाग्यो। तर, दिक्तेलमै बस्ने, हिडिरहने र बुझिरहने भएकाले गर्दा पछिल्लो समयमा चाँहि अस्पतालको सेवा अल्लि जुन पहिलाजस्तो नभएको हो कि भन्ने देखिन्छ।
किन देखिन्छ भन्दा म प्राविधिक त हैन । तर, पनि त्यहाँ कार्यालय प्रमुखसहितको जनशक्तिको अभाव महशुष गरेको छु। र, तपाईहरुले लेखेको समाचारहरुमा मेरो धारणा पनि राखेको छु। विशेषगरी कार्यालय प्रमुखसहित जनशक्तिको अभाव हुन सक्छ। त्यसलाई परिपूर्ति गर्नुपर्छ भन्ने प्रतिक्रिया राखेको छु। अहिले पनि कार्यालय प्रमुखसहित जनशक्तिको अभाव नै देख्छु।
कतिपय जनशक्तिहरु चाँहि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग समन्वय गरी नपुग जनशक्ति चाँहि नगरपालिकाको कर्मचारी पनि राखेका थियौ। पछिल्लो समयमा नगरपालिकाको कर्मचारीहरु काज फिर्ता गरेर नगरको स्वास्थ्य चौकीहरुमै फकाईएको भन्नेसम्म सुनेको छु। त्यसले र कार्यालय प्रमुखसहितको जनशक्ति चाँहि कमी हो भन्ने लागेको छ अहिलेको शन्दर्भमा।
तपाईको कार्यकालमा अहिले जस्तै धेरै विरामी रिफर हुन्थ्यो कि हुदैन थियो ?
विरामी रिफर त हुन्थ्यो नै, नहुने कुरा हैन तर, तुलनात्मक रुपमा अहिले अलिक बढी हो कि भन्ने लाग्छ। किनभने, त्यतिबेला प्रायःसबै किसिमका डाक्टरहरु हुन्थ्यो। त्यसले गर्दा यहि पनि कतिपय उपचार हुने गर्दथ्यो। तर, तुलनात्मक रुपमा पहिला भन्दा अहिले अलिक बढी विरामी रिफर भएको हो कि भन्ने मलाई महशुष हुन्छ।
अस्पताललाई आलोचनारहित र सेवाग्राहीलाई व्यवस्थित सेवा दिन के गर्नुपर्ला ?
सबैभन्दा मुख्य प्रश्न यो हो भन्ने मलाई लाग्छ। सबभन्दा पहिला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले दुई तीनवटा कुराहरु गर्नुपर्छ। एउटा भनेको अस्पताललाई व्यवस्थित हिसाबले अगाडी लान व्यवस्थापन समितिले दशैवटा स्थानीय तहसँग समन्वय गर्नुपर्छ।
जिल्लाको सिडिओ, डिएसपी, राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवाहरु लगायत सबैसँग पहिलो कुरा समन्वय गर्नुपर्छ,अस्पताल वरीपरीका जनतालाई सशक्त बनाउनुपर्छ,अस्पताल आसपासका टोल सुधार संस्थालाई अस्पताल मेरो हो है भन्ने भावना जगाउन प्रत्येक टोल सुधार समिति अध्यक्षलाई बैठकमा अनिवार्य बोलाउने, अस्पताल वरपरका अगुवालाई बोलाउने गर्नुपर्छ त्यसो गरेपछि अस्पताल हाम्रो हो, हामी सबैको हो,तर सबभन्दा बढी तपाईको हो। किनभन्दा अस्पतालका गेट वरीपरीका सबैले थाहा पाउनुपर्छ भन्ने भावना जगाउनुपर्छ।
सबैसबैलाई अस्पताल मेरो, अस्पताल भनेको हाम्रो हो भन्ने भावना जगाउनुपर्छ अनि मात्रै अस्पतालको विकास हुन्छ। अस्पतालका प्राविधिक कर्मचारीसँग छलफल गरेर काम कसरी गर्ने, कस्तो गर्ने भनेर उहाँहरुबाट पनि सल्लाह, सहयोग, अनुगमन, समन्वय गर्नुपर्छ।
र, मेरो पालामा सबै बैठकमा कर्मचारी, कार्यालय सहयागीलाई राख्थे। ३ बजेपछि बैठक बस्थ्यौ। व्यवस्थापनको बैठकमा सहयोगीदेखि लिएर डाक्टरहरुको पनि धारणा लिने गरेका थियौ। त्यपपछि निर्णय गरेर कार्यान्वयनमा लैजान्थ्यौ। ग्रासरुट हुँदै मन्त्रालय, मन्त्रीसम्म पुग्नुपर्छ त्यसरी चाँहि समाधान हुन्छ जस्तो लाग्छ। मेरो पालामा पनि समस्या भए होला। तर,कमजोरी भन्दा पनि राम्रो काम बढी भयो कि मेरो कार्यकालमा भन्ने लागेको छ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा अनावश्यक राजनीतिक खिचातानी हुन्छ कि के हो ?
पहिलो कुरा विकास निर्माणदेखि अस्पतालसम्म राजनीति हुनुहुदैन। मेरो पालामा मेरो मान्छे भन्ने कोही पनि भएन सबै साझा मान्छे थिए। मेरो मान्छे एक जनाले पनि त्यहाँ जागिर खाएन,कर्मचारीमा भर्ना गरिन। मेरो मान्छे पनि थियो नि त भाई, भतिजो, कार्यकर्ता त थिए मसँग जागिर खुवाउन। चाहादा एक दुईजना मान्छे लगाउन सकिन्थ्यो। तर, मैले जहिले पनि त्यहाँ कर्मचारी नियुक्ती गर्दा लिखित, मौखिक र व्यवहारिक शिक्षा लिएर भर्ना गर्थे। तपाईले पूराना मान्छेलाई सोध्दा पनि हुन्छ।
अनि, जुन हिसाबले कर्मचारीहरुले सेवा दिनुपर्ने हो। त्यो सेवा नदिएको खण्डमा तत्काल नदिएको भनेर गुनासो आउने बितिक्कै कर्मचारीलाई सोधिहाल्ने, के भयो? तपाईलाई केही समस्या भएर हो कि भनेर राम्रो तवरमा सोधेपछि कर्मचारीले सबै भनिहाल्थ्यो। केही भए आगामी दिनमा करेक्सन हुनेगर्दथ्यो।
कोही अध्यक्ष वा सदस्य कसैले पनि अस्पतालमा म यहाँको अध्यक्ष, सदस्य हुँ के गर्ने होला, कसो गर्ने होला भनेर सम्झिनु हुदैन। अहिले त्यहाँ राजनीतिक खिचातानी त भयो भएन, म भन्न सक्दिन। तर, यसो हेर्दाखरी र अनुमान गर्दाखेरी सिङगो अस्पताल टिममा समन्वयकारी भूमिका अभाव छ कि भन्ने मलाई लागेको छ। त्यो चाँहि महशुष गर्छु। जति हुनुपर्ने थियो त्यति चाँहि कम हो कि भन्ने लागेको छ।
अस्पताल सुधार्न सुझाव केके दिनुहुन्छ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले सबैसँग समन्वय गर्नुपर्छ, ताकि त्यहाँको कर्मचारीहरु,वरीपरीका टोल विकास समितिसँग,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग र बाँकी सबैसँग समन्वय गरेर समस्याको समाधान गरिनुपर्छ।
यदि समन्वय गरेर अघि बढ्ने स्थिति रहेन भने चाँहि के हुन्छ भन्दा अस्पताल जे सुकै होस, यस्तै हो भन्ने बुझाई भएमा राम्रो हुदैन। त्यसैले गर्दा व्यवस्थापन समितिले समन्वयकारी भूमिका निर्वाह गरेर जानुपर्छ। अस्पताललाई फेरी फर्काउन सकिन्छ।
अर्को समस्या चाँहि भवनहरु नहुनु,नयाँ ५० शैयाको भवन बन्दै गर्नाले र कार्यस्थलको अभावले अलिअलि समस्या भएको हुनुपर्छ। तर, पनि भवन चाँहि दु्रत गतिमा राम्रै बनिरहेको छ। भवन चाँडै बनेकाले समस्या धेरै रहदैन होला तर, अस्पताल मेरो हो भन्ने भावना चाँहि समितिले सबैमा जगाउन सक्नुपर्छ। अनि मात्रै सेवा प्रवाह पाउनुपर्ने कुरामा संम्भवान छ।
यो पनि,अस्पतालको समस्याबारे मानव अधिकार आयोगद्धारा प्रदेश स्वास्थ्य मन्त्रालयमा पत्रचार
सम्बन्धित समाचार,अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिमा को–को,कुन पार्टीको?
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology